+
+

ट्रान्सजेन्डर मोडल अञ्जली लामा न्युयोर्क फेसन विकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १३:१३

६ फागुन, काठमाडौं । ट्रान्सजेन्डर मोडल अञ्जली लामा पहिलोपटक न्युयोर्क फेसन विकमा सहभागी भएकी छन् । बुधबार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा नेपालकी पहिलो ट्रान्सजेन्डर मोडलको रूपमा उनले क्याटवाक गरेको विश्व चर्चित फेसन म्यागाजिन भोगले जनाएको छ ।

जुन ७ देखि ९ दिनसम्म चल्ने यो एक अर्धवार्षिक फेसन शो हो । न्युयोर्क फेसन विकले ‘ग्ल्यामर वर्ल्ड’को ध्यान खिच्ने गर्छ । यो विश्वको चार प्रमुख फेसन विकमध्ये एक हो । जसलाई ‘बिग फोर’को रुपमा पनि चिनिन्छ । जसमा विश्वचर्चित फेसन डिजानरले आफ्ना डिजाइनलाई मोडलमार्फत् प्रस्तुत गर्छन् ।

यस वर्ष अञ्जलीले नेपाली मूलका विश्वप्रसिद्ध फेसन डिजाइनर प्रवल गुरुङको डिजाइनमा र्‍याम्पमा उत्रिएकी हुन् । मिसेल ओबामा, ओप्रा विन्फ्रे र साराह जेसिका पार्करजस्ता विश्वचर्चित सेलिब्रेटीहरूको फेसन डिजाइन गरिसकेका गुरुङले यस वर्षको शोको क्याटवाकका लागि अञ्जलीलाई छनोट गरेका थिए । यसअघि गुरुङले सन् २०११ मा नेपाली मोडल वर्षा थापालाई सोही फेसन विकको र्‍याम्पमा हिंडाएका थिए ।

फेसन डिजाइनर प्रवल गुरुङका साथमा मोडल अञ्जली लामा

नुवाकोटको विपन्न परिवारमा जन्मिएकी अञ्जली लामाको अन्तर्राष्ट्रिय फेसन प्लेटफर्ममा पहिलो सहभागिता भने होइन । सन् २०१७ मा उनी ल्याक्मी फेसन विकको रनवेमा सहभागी भइसकेकी छन् । तर न्युयोर्क फेसन विकमा भने उनले नेपालबाट पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा सहभागी हुने मौका पाइन् ।

विश्व चर्चित फेसन म्यागाजिन भोगले न्युयोर्क फेसन विकमा उनको सहभागिताको बारेमा चर्चा गर्दै शोमा सहभागी हुने प्रथम ट्रान्सजेण्डर मोडल रहेको दाबी गरेको छ ।

न्युयोर्क फेसन विक वर्षमा दुई पटक सञ्चालन हुन्छ । यो फेब्रुअरीको एक साता र सेप्टेम्बरमा एक हप्ता गरी दुई सिजनमा चल्ने फेसन विक हो । पहिलो न्युयोर्क फेसन विक सन् १९४३ मा अमेरिकी फेसन उद्योगको पहिलो प्रवर्द्धन संस्था न्यूयोर्क ड्रेस इन्स्टिच्युटका प्रेस निर्देशक एलेनोर ल्याम्बर्टद्वारा सिर्जना गरिएको थियो ।

विश्वको पहिलो संगठित फेसन सप्ताहलाई पहिले ‘प्रेस सप्ताह’ भनेर चिनिन्थ्यो । दोस्रो विश्वयुद्धको समयमा फ्रान्सेली फेसनबाट ध्यान खिच्नका लागि यसको सिर्जना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?