+
+
Shares

झलनाथको ३६ बुँदे असन्तुष्टि : प्रचण्ड-माधवबाट पार्टी चल्दैन (पूर्णपाठ)

उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १६:४१

२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् ।

संयोजक दाहालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खनालले पठाएको पत्रका वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् ।

खनालका अनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएका छन्। उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेज भएको टिप्पणी गरेका छन् ।

उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाएका छन् ।

खनालले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । ‘तपाईं आफैंमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ,’ भन्दै उनले दाहाललाई प्रत्यक्ष प्रश्न गरेका छन् ।

यही कारणले पार्टी निर्माणभन्दा विघटनतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै खनालले प्रचण्ड र माधव नेपाललाई नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन् । उनले संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्ने वातावरण बनाउन सुझाव दिएका छन् ।

खनालले पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।

दाहाल स्वयंले यस्तो प्रस्ताव अघि सारेमा त्यो कम्युनिष्ट आन्दोलनका लागि ठूलो योगदान हुने र नेतृत्व हस्तान्तरणको सकारात्मक उदाहरण स्थापित हुने उनको भनाइ छ ।

‘उचित समयमा उचित निर्णय गर्न सके पार्टी र क्रान्तिलाई नयाँ मोड दिन सकिन्छ,’ भन्दै खनालले नेतृत्व परिवर्तनले पार्टीमा नयाँ रक्तसञ्चार, उत्साह र पुनर्गठनको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?