+
+

याक एण्ड यतीको संकट : पाँचतारे ताजविहीन सुनसान लालदरबार

नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ फागुन ६ गते २१:२०

६ फागुन, काठमाडौं । होटल याक एण्ड यती आलभोलि सुनसान छ । फाट्टफुट्ट पाहुना र कर्मचारी देखिन्छन्, टम्म भरिने लबीमा मान्छे कमै हुन्छन् ।

कोरोना महामारी सुरु भएपछि व्यापार नभएर समस्या भोगिरहेको होटलमाथि अहिले अर्को बज्रपात परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचतारा खोस्ने मात्र नभई होटल नै बन्द गर्ने, अचल सम्पत्ति र बैंक खाताहरू रोक्का राख्ने निर्णय गरेको छ ।

याक एण्ड यतीको सुनसान लबीसहितको भवन

क्यासिनो चलाएबापतको करिब ४२ करोड बक्यौता भुक्तानी नगरेसम्मका लागि भन्दै पर्यटनमन्त्री प्रेम आलेले यस्तो निर्णय गरेपछि नेपालको एउटा प्रमुख लक्जरी होटल याक एण्ड यतीले ‘कर नतिर्ने होटल’को रूपमा बद्नामी व्यहोर्नुपरेको छ ।

श्री ३ वीरशमशेरले नेओ-क्लासिकल वास्तुशैलीमा सन् १८८६ मा निर्माण गरेको लालदरबारमा चलिरहेको यो होटलको अरूको भन्दा बेगल प्रतिष्ठा थियो । रातो संगमर्मर प्रयोग गरिएको यो दरबारको अधिकांश निर्माण सामग्री इटालीसहितका युरोपेली मुलुकबाट ल्याइएको थियो । उसबेला लगाइएका ऐना र झुमरहरू यो होटलमा अझै सजिएका छन् ।

‘याक एण्ड यती’को जन्म भने लालदरबारमा नभई चारबुर्जे दरबार (अहिले निर्वाचन आयोग रहेको भवन)मा भएको थियो । चारबुर्जे दरबार पनि वीरशमशेरले नै बनाएका थिए, जसलाई पछि जुद्धशमशेरले वीरको सन्तानबाट खोसेर आफ्ना छोरा बहादुरशमशेरलाई दिएका थिए । बहादुरशमशेरको भोगचलनमा आएपछि चारबुर्जे दरबारलाई ‘बहादुर भवन’ भन्न थालियो ।

लालदरबारको पुरानो तस्वीर

यही बहादुर भवनमा पछि रूसी नागरिक बोरिस लेसानेभिचले ‘रोयल होटल’ खोलेका थिए । रोयल होटलभित्रको बारको नाम थियो- याक एण्ड यती । बोरिसले सन् १९६९ मा रोयल होटल बन्द गरेर नयाँ साझेदारसँग मिलेर अन्तर्राष्ट्रिय मेनुसहित ‘याक एण्ड यती रेस्टुरेन्ट’ खोले । १९७७ सेप्टेम्बरमा आएर त्यही रेस्टुरेन्ट १२० कोठा भएको लक्जरी होटलमा बदलियो ।

त्यसरी नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ । पर्यटन मन्त्रालयले होटल बन्द गराउने आफ्नो निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई र गृहले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र काटेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल भन्छन्, ‘हामीले नै होटल बन्द गराउने भन्ने हैन, पर्यटन विभागले सहयोग माग्यो हामी सहयोग गर्छौं ।’

नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ

उता होटलका कर्मचारीहरू होटल खुला रहे पनि बन्द भए जस्तै अवस्था रहेको बताउँछन् । उनीहरूका अनुसार, महामारीपछि स्वदेशी पाहुनाको आगमन शून्य बराबर छ । अहिले केही विदेशी पाहुना भए पनि व्यापार ठप्प जस्तै छ ।

‘सरकारको पछिल्लो निर्णयपछि ग्राहकहरूले होटल बन्द छ कि भनेर सोधपुछ गर्ने क्रम बढेको छ’ एक कर्मचारी भन्छन्, ‘क्यासिनो बन्द भएको हो, होटलबारे कुनै निर्णय नभएको जानकारी दिने गरिएको छ ।’

पर्यटन मन्त्रालयका अधिकारीहरू भने होटल बन्द गर्ने निर्णय भए पनि गृह प्रशासन होटलप्रति उदार भएको बताउँछन् । ‘पर्यटन विभागले होटल बन्द गराउन भनिरहेको छ, तर गृह प्रशासनले विभागलाई सहयोग गरेको छैन’ नाम उल्लेख नगर्ने शर्तमा पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘होटल बन्द गराउन हामीसँग प्रहरी बल त छैन ।’

क्यासिनो विवादमा बदनाम

रोयल होटलबाट जन्मिएको याक एण्ड यती अहिले ‘रोयल क्यासिनो’ का कारण बद्नाम हुन पुगेको छ ।

५ भदौ २०३३ मा उद्योगको रूपमा दर्ता भएको याक एण्ड यतीलाई तत्कालीन श्री ५ को सरकारले २२ पुस २०४८ मा क्यासिनो सञ्चालन अनुमति दिएको थियो ।

याक एण्ड यतीको होटलमा चलेको ‘रोयल क्यासिनो’ (फाइल तस्वीर)

याक एण्ड यती होटल लिमिटेड र गिल्ट इन्भेष्टमेन्ट प्रालिबीच २३ माघ २०६६ मा क्यासिनो सञ्चालनबारे सम्झौता भयो । त्यसअनुसार, गिल्टले होटल परिसरमा ‘रोयल क्यासिनो’ नाममा जुवाघर चलायो ।

क्यासिनो सञ्चालनलाई व्यवस्थित गर्न भन्दै २०७० सालमा क्यासिनो नियमावली जारी भयो । नियमावलीको नियम ३७ अनुसार क्यासिनो सञ्चालन गर्न पुराना इजाजतपत्र पाएको कम्पनीले नियमावली प्रारम्भ भएको मितिले नौ महिनाभित्र तोकिएका मापदण्ड पूरा गरेर निवेदन दिनुपर्ने थियो ।

तर, ‘रोयल क्यासिनो’ले निवेदन दिएन । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले याक एण्ड यती होटल लिमिटेडको नाममा जारी भएको क्यासिनो इजाजतपत्र ५ वैशाख २०७१ मा खारेज गरिदियो ।

क्यासिनो सञ्चालक सो निर्णय विरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत गए । २ असोज २०७१ मा सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ‘रिटको टुङ्गो नलागेसम्म सो निर्णय कार्यान्वयन नगर्नू, नगराउनू र क्यासिनोलाई यथावत् पेशा, रोजगारी र व्यवसाय सञ्चालन गर्न दिनू’ भन्ने अन्तरिम आदेश दियो ।

६ माघ २०७१ मा सर्वोच्चका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सरकारको यस्तो निर्णयबाट क्यासिनोलाई अपूरणीय क्षति हुनसक्ने र सुविधा सन्तुलनको आधारमा सञ्चालन गरी आएको रोयल क्यासिनो बन्द नगर्नू/नगराउनू भन्दै अन्तरिम आदेश जारी गर्‍यो ।

त्यतिबेलासम्म रोयल क्यासिनोले प्रचलित ऐन, कानूनले तोके बमोजिमको सरकारलाई बुझाउनुपर्ने रोयल्टी र त्यसमा लाग्ने शुल्क तथा थप शुल्क बापतको रकम तिरेको थिएन ।

पर्यटन विभागले १७ फागुन २०७२ मा सार्वजनिक सूचना निकालेर ३० दिनभित्र क्यासिनोको रोयल्टी बुझाउन याक एण्ड यतीलाई सूचित गर्‍यो । रोयल्टी नतिरेपछि विभागले याक एण्ड यती होटलको नाममा रहेको घरजग्गा रोक्का राखिदिन २५ जेठ २०७३ मा भूमिसुधार तथा व्यवस्थापन विभाग (जग्गा प्रशासन शाखा) लाई पत्र पठायो ।

श्री ३ वीरशमशेरले नेओ-क्लासिकल वास्तुशैलीमा सन् १८८६ मा निर्माण गरेको लालदरबारमा चलिरहेको यो होटलको अरूको भन्दा बेगल प्रतिष्ठा थियो

विभागका अनुसार, ३१ असार २०७३ सम्म रोयल क्यासिनोको नाममा ११ करोड ७ लाख ५० हजार रोयल्टी बेरुजु भइसकेको थियो ।

सर्वोच्चको आदेशका कारण अन्योल भएपछि पर्यटन विभागले ६ असोज २०७४ मा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेर रोयल्टीसहितको बक्यौता उठाउनेबारे कानुनी राय माग्यो । महान्यायाधिवक्ता कार्यालयले क्यासिनो कम्पनीहरूले नेपाल सरकारलाई प्रचलित कानुन बमोजिम तिर्नुपर्ने रोयल्टी नबुझाए कारबाही गर्न अदालतको आदेशले बाधा नपर्ने राय लेखेर पठायो ।

रोयल्टी बापतको ठूलो रकम तिर्न बाँकी भएपछि होटल सञ्चालक राधेश्याम सर्राफ र क्यासिनो सञ्चालकहरूबीच विवाद भयो । कसले रोयल्टी तिर्ने भन्ने विषयको मुद्दा सर्वोच्च अदालतसम्म पुगिसकेको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले १२ असार २०७८ मा क्यासिनोको तिर्नुपर्ने रोयल्टी तथा शुल्क बुझाउने दायित्व होटलकै हुने फैसला गर्‍यो ।

त्यसपछि सरकारले पटक-पटक सार्वजनिक रूपमा सूचना प्रकाशित गरेर बाँकी बक्यौता दाखिला गर्न भनिरहृयो, होटल र क्यासिनो संचालकहरूले अटेर गरिरहे । पर्यटन विभागले १० पटकभन्दा बढी होटल व्यवस्थापनसँग अनौपचारिक छलफल पनि गर्‍यो । तर, होटलले रोयल्टी तिरेेन, बक्यौता बढ्दै गयो ।

१ माघ २०७६ मा गणेशसिंह बोहरा, हीराकुमार खड्का समेतका कर्मचारीले होटल याक एण्ड यतीले रोयल क्यासिनोलाई गिल्ट इन्भेष्टमेन्ट प्रालिको सट्टा अर्कै कम्पनीलाई सञ्चालन गर्न दिने सम्भावना रहेको भन्दै विभागमा उजुरी दर्ता गरे । उनीहरूले अरू कम्पनीका नाममा नयाँ क्यासिनो सञ्चालनको इजाजत दिए ५०० भन्दा बढी कर्मचारीको भविष्य अन्योलमा पर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

२० माघ २०७६ मा याक एण्ड यतीले होटल परिसरभित्र अवैध रूपमा क्यासिनो सञ्चालन भइरहेकोले बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा निवेदन दर्ता गरेको थियो । ‘बक्यौता तिर्न बोलाउँदा क्यासिनो चलेको छैन भन्ने होटलले क्यासिनो बन्द गर्न भन्दै निवेदन दिनुले झुट बोलेको पुष्टि भयो’, विभागका एक अधिकारी भन्छन् ।

यसबीच ११ माघ २०७६ मा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयबाट पर्यटन विभागमा याक एण्ड यती होटलको बेरुजु रकम दाखिला गर्न, नगरे कारोबार तथा सम्पत्ति रोक्का राखेर आर्थिक कार्यविधि नियमावलीअनुसार कारबाही अगाडि बढाइने भन्दै पत्र आइसकेको थियो । फेरि सो कार्यालयले १५ साउन २०७८ मा याक एण्ड यती होटलको बक्यौता १८ करोड १२ लाख १५ हजार पुगेको भन्दै अर्को पत्र लेख्यो ।

लालदबारमा रहेको हल

विभागका अनुसार २०७७ सालमा महामारीका कारण कर तिर्न सरकारबाट घोषणा भएको थप समयसीमालाई समेत विचार गरेर होटललाई कर तिर्न आग्रह भइरहेको थियो । त्यस्तो समयसीमा पनि नाघेपछि गत २७ पुसमा १५ दिने र १९ माघमा ७ दिने समयसीमा राखेर याक एण्ड यतीसहितका अन्य क्यासिनोका नाममा सार्वजनिक सूचना जारी भएको थियो ।

समस्याको भुमरी लालदरबार

विभागले होटललाई दिनुपर्ने सिफारिसहरू दिन छाडेको छ । अन्य सरकारी निकायलाई पनि त्यस्ता सुविधा नदिन भन्दै पत्राचार गरेको छ ।

‘महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्षको लेखा परीक्षण हुँदा पनि रोयल्टी शीर्षकमा ठूलो रकम बेरुजु बक्यौता कायम भइरहेकाले हामीले उठाउनका लागि जोड दिएका हौं’ विभागका अधिकारी भन्छन्, ‘पटक-पटक आग्रह र छलफल गर्दा नभएपछि कानुनअनुसार अघि बढ्न बाध्य भएका हौं ।’

होटलको अटेरीपनका कारण अन्तिम विकल्पको रूपमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ९०, क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने मन्त्रीस्तरीय निर्णय २६ माघ २०७८ मा भएको ती अधिकारीले बताए ।

त्यसअनुसार बैंकहरूलाई राष्ट्र बैंकले खाता रोक्काका लागि परिपत्र गरिरहेको छ । मालपोत विभागले पनि होटलका नाममा रहेका भवन तथा जग्गा रोक्का राख्ने प्रक्रिया अघि बढाएको छ ।

होटलले भने सरकारले २०७१ सालमै क्यासिनोको इजाजत रद्द गर्ने निर्णय गरेकाले त्यसपछिको बक्यौता आफ्नो दायित्वभित्र नपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । उसले महामारीका बीचमा भएको निर्णयले पर्यटन क्षेत्रलाई हानि गरेको भन्दै सरकारको निर्णयको आलोचना गरेको छ ।

अब मन्त्रालयको निर्णय हुबहु कार्यान्वयन भए केही दिनभित्र होटलमा ताल्चा लाग्नेछ । यसबाट ७८ वर्ष लगाएर याक एण्ड यतीले कमाएको प्रतिष्ठा अझ धुमिल हुुनेछ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर/ याक एण्ड यती

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?