+
+

मतपत्र र मतपेटिकासहितको विद्युतीय मेसिन प्रयोग गर्न विज्ञको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १९:४७

६ फागुन, काठमाडौं । विशेषज्ञ सहितको टोलीले आगामी निर्वाचनमा मतपत्र र मतपेटिकासमेत जोडिएको विद्युतीय मतदान यन्त्र प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । निर्वाचन आयोगले गठन गरेको ८ सदस्यीय टोलीले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिन्हसमेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको हो ।

अध्ययन समितिले भोटर भेरिफायल पेपर अडिट ट्रायल(भीभीपीएटी)सहितको विद्युतीय मतदान यन्त्र प्रयोगमा जोड दिएको हो । अध्ययन समितिको प्रतिवेदन अनुसार, यसो गर्दा मतदाताले मतदान गरेपछि त्यसको अभिलेख डिजिटल रुपमा त रहन्छ नै । साथसाथै मेसिनमा रहेको प्रिन्टरले सानो कागजमा मतदान गरेको उम्मेदवारको निर्वाचन चिन्ह प्रिन्ट गरेर बन्द मतपेटिकामा खसाल्छ । चलखेल नहोस भनेर मतपेटिका र मेसिन दुवै सिलबन्दी गरेर राखिएको हुन्छ ।

भीभीपीएटी सहितको विद्युतीय मतदान यन्त्रको प्रयोगले मतदाताका साथै निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरू समेत सुनिश्चित हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । मतदाताले मतदान गरेपछि उसले देख्ने गरी कागजमा त्यही दलको चिन्ह प्रिन्ट हुन्छ र मतपेटिकामा सुरक्षित रहन्छ । प्रतिवेदनमा भनिएको छ, ‘मतगणनाका क्रममा मेसिनले गणना गरेको मतपरिणाम उपर कुनै पक्षलाई चित्त नबुझेमा भीभीपीएटीले प्रिन्ट गरेको कागजी मतपत्रहरूलाई गणना गरी मेसिनको विश्वसनियता सुनिश्चित गर्न सकिन्छ ।’

अध्ययन टोलीले विद्युतीय मतदान यन्त्रको प्रयोगबाट भएको निर्वाचनमा धाँधली वा चलखेलको प्रश्न उठेमा भीभीपीएटी प्रविधियुक्त मेसिनको मतपेटिकामा सुरक्षित रहेको दलको निर्वाचन चिन्हअंकित मत गन्न सकिने औँल्याएको छ । विवाद अदालतसम्म पुगेमा समेत यसैगरी मत गन्न सकिने प्रतिवेदनमा उल्लेख छ । भारतमा अहिले यही प्रविधिको उपकरण प्रयोग भइरहेको छ ।

भीभीपीएटी प्रविधि जोडिएको विद्युतीय मतदान यन्त्रमा तापको प्रयोगबाट निर्वाचन चिन्ह प्रिन्ट हुने गरी व्यवस्था गर्न खोजिएको राम-लक्ष्मण समूहका लक्ष्मण रिमालले बताए । उनका अनुसार, त्यसरी प्रिन्ट भएको निर्वाचन चिन्ह सहितको कागज कम्तीमा पनि दुई महिना सुरक्षित रहन्छ । नमुनाको रुपमा विभिन्न प्रकारका उपकरण तयार गरेका उनीहरूले निर्वाचन आयोगले माग गरेपछि मात्रै त्यसको स्पेसिफिकेसन अनुसार मेसिन उत्पादन गर्ने तयारी गरेको छ ।

राम-लक्ष्मण समूहले तयार पारेको विद्युतीय मतदान यन्त्रलाई सरकारले प्रमाणिकरण गरिदिए यसपटकको निर्वाचनमा नमुनाको रुपमा केही ठाँउमा प्रयोग गर्ने निर्वाचन आयोगको तयारी छ । तर, आफूहरूसँग त्यसको विशेषज्ञता नभएको भन्दै गुणस्तर तथा नापतौल विभागले प्रमाणीकरण गर्न असमर्थता जनाएको छ । निर्वाचन आयोगले सम्भव भएसम्म मझौला खालको कुन स्थानीय तहमा नमुनाको रुपमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?