+
+

के गर्दैछन् स्ट्याण्डअप कमेडियन ?

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ फागुन १० गते १७:२५

१० फागुन, काठमाडौं । ‘भरतमणिजी, के छ हालचाल ? कस्तो हुँदैछ स्ट्याण्डअप कमेडी ? अनलाइनखबरको यो प्रश्नमा भरतमणिले जवाफ फर्काए, ‘सबै अस्तव्यस्त छ । बेरोजगार कमेडियन भन्नुपर्‍यो ।’

भरतमणि पौडेल अर्थात् ‘कमेडी च्याम्पियन २’का विजेता । उपाधि जितेपछि उनको केही समय हाईहाई नै भयो । तर जब कमेडी च्याम्पियन २ सकियो, भरतमणिको पनि चर्चा सेलाउन थाल्यो । अब के गर्ने कसो गर्ने, उनलाई मेसो छैन ।

भरतमणिजस्तै नयाँ पुराना स्ट्याण्डअप कमेडियनहरु यतिबेला प्रायः फुर्सदमा देखिन्छन् । उनीहरुलाई फुर्सदिलो बनाउने एउटा कारण कोरोना महामारी पनि हो ।

भरतमणि भन्छन्, ‘मुख्यतः कोरोनाले नै डुबायो । देश-विदेशमा थुप्रै कार्यक्रम आयोजना हुने तयारीमा थियो । तर कोरोनाका कारण सबै अस्तव्यस्त बनेको छ ।’ कोभिड नभएको भए कमेडी च्याम्पियनको टिमले विश्व भ्रमण पनि गराउने योजना बनेपनि त्यो पूरा हुन नसकेको भरतले बताए । केही समयअघि दुबई पुगेर आउनुबाहेक नेपालमा उनले चारवटा मात्र स्टेज कार्यक्रम गरेका छन् ।

अहिले अवस्था केही नराम्रोजस्तो देखिएपनि स्ट्याण्डअप कमेडीको भविष्य भने राम्रो रहेको भरतमणि बताउँछन् । उनी अगाडि भन्छन्, ‘टिमवर्क महत्वपूर्ण रहेछ । तर टिम मिलाउन नै गाह्रो हुने रहेछ । किनकि, सबैको सोच एउटै नहुने भएकाले पनि समस्या भयो । एक्लै अगाडि बढ्न भने गाह्रो छ ।’

भरतमणिका अनुसार दर्शकमाझ हराएको छैन भनेर देखाउनका लागि पनि कि त टीभीमा कार्यक्रम ल्याउनुपर्ने अवस्था छ, कि त युट्युबमा स्ट्याण्डअप कमेडी गर्नुपर्ने हुन्छ । तर एक्लै कहिलेसम्म गरिराखेका कुराहरु गर्ने भन्ने प्रश्न दिमागमा उठ्ने उनी बताउँछन् ।

भरतमणिकै जस्तै धारणा अर्का स्ट्याण्डअप कमेडियन सुमन कोइरालाको पनि छ । सुमन भन्छन्, ‘एउटा स्टेज कार्यक्रममा आउनु मात्र पनि ठूलो कुरा होइन । तर अब त आयोजकको जिम्मेवारी पनि हामी आफैंले नै गर्नुपर्ने अवस्था छ । कि त स्टेज कार्यक्रममा मात्र ध्यान दिनुपर्‍यो, होइन भने टेलिभिजन कार्यक्रम गर्नका लागि त व्यवस्थापक र कमेडियनसँगै आयो भने मात्र राम्रो हुने रहेछ ।’

सुमनले पनि टिम बनाएर अगाडि बढ्न सहज हुने बताए । उनी भन्छन्, ‘स्ट्याण्डअप कमेडी गर्नका लागि त एक्लै गरे पनि भयो । तर टेलिभिजनमा एक्लैले शो चलाउँछु भनेर सम्भव पनि छैन । किनकि, टीभीमा सम्झौता गर्दा नै तीन महिना, ६ वा एक वर्षको सम्झौतामा गर्नुपर्छ । एक्लैले निरन्तर यसरी कार्यक्रम चलाउन सकिंदैन पनि । यसैले टिम नै बनाएर अगाडि बढ्नुपर्छ कि भन्ने मलाई लागेको छ ।

प्रविधिले समस्या

‘कमेडी च्याम्पियन २’मा प्रस्तुति दिने क्रममा भरतमणि पौडेल

स्ट्याण्डअप कमेडी गर्ने कलाकारका लागि सबैभन्दा ठूलो समस्या प्रविधिले पनि निम्त्याएको छ । २० मिनेट लामो प्रस्तुतिका लागि करिब १५ दिन लगाएर स्तरीय विषय बनाउन सकिन्छ । तर एउटा स्टेजमा प्रस्तुति दिएपछि अर्को स्टेजमा पनि सोही प्रस्तुति दिन सक्ने अवस्था अहिले छैन ।

सुमनले भने, ‘स्टेजमा गएर एउटा प्रस्तुति दियो । अर्को दिन सोही प्रस्तुति अर्को स्टेजमा दिन सक्ने अवस्था नै रहेन । किनकि, अहिले त खिचेर युट्युब र टिकटकमा हालिदिने प्रचलन बढेको छ । यसैले अर्को ठाउँमा प्रस्तुति दिने समयमा उक्त विषय पुरानो भइसक्छ । अब हामीले हरेक कार्यक्रमका लागि नयाँ नयाँ विषय बनाउन सक्ने सम्भावना पनि हुँदैन ।’

भरतमणिको भनाइ पनि सुमनको जस्तै छ । उनी भन्छन्, ‘हामीलाई कुनै पनि विषय लेख्नका लागि समय र मिहिनेत लाग्छ । तर यो कुरालाई नबुझेर युट्युब, फेसबुक, टिकटकमा पूरै भिडियो हालिदिने प्रचलन बढेको छ । यसले कमेडियनहरुलाई निक्कै ठूलो समस्या पारेको छ ।’

भविष्यको परीक्षणमा हिमेश

पहिलो ‘कमेडी च्याम्पियन’को विजेता बनेपछि कमेडियन हिमेश पन्तलाई करिअरमा फलिफाप नै होला भन्ने लागेको थियो । तर सोचेजस्तो केही पनि भएन । हिमेश च्याम्पियन बनेसँगै कोरोना महामारीका कारण देशव्यापी रुपमा लकडाउन भयो । कोरोनाका कारण विश्व भ्रमण कार्यक्रम पनि आयोजना हुन सकेन ।

हिमेश भन्छन्, ‘अहिले त प्लेटफर्म नै छैन । अर्को कुरा भनेको स्ट्याण्डअप एक लेभलमा चलेको थियो । तर अहिले त यसको मार्केट पनि छ कि छैन भन्ने थाहा छैन ।’

हिमेशले ‘कमेडी सिटी’ कार्यक्रम युट्युबबाट ल्याउन लागेको बताए । ‘स्ट्याण्डअपको क्रेज छ कि छैन भनेर मलाई चेक गर्नुछ । नयाँ आउने प्रतिभाहरुलाई पनि यो कुराको जानकारी दिनुछ,’ उनी भन्छन् ।

हिमेशले स्टेज कार्यक्रमको क्रेज भने नमरेको बताए । ‘महोत्सव हुने हो भने स्ट्याण्डअप कमेडी मर्दैन । मैले पनि महिनामा ४-५ वटा स्टेज कार्यक्रम गरिरहेको छु,’ उनी आशावादी हुँदै भन्छन् ।

स्ट्याण्डअप कमेडीको क्रेज केही घटेपनि नयाँ कमेडियनहरु आएर राम्रो गरेको खण्डमा यसको बजार फर्किने विश्वासमा हिमेश छन् ।

नेपालमा कमेडी रियालिटी शोहरुको लोकप्रियता बढ्दो छ । जसका कारण बजारमा नयाँ नयाँ कार्यक्रम आउने क्रम जारी छ । यसले स्ट्याण्डअप कमेडी गर्ने नयाँ प्रतिभाहरुलाई जन्माएको छ । तर टिमको अभाव र व्यवस्थापन सही ढंगले नहुँदा उनीहरु अलमलमा भने छन् ।

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?