१० फागुन, काठमाडौं । विनोद राई काठमाडौंको चाबहिलमा बस्छन् । दुई महिना अघिदेखि राइडसेयरिङ प्लेटफर्म पठाओ मार्फत राइडरको काम थालेका उनलाई अहिले आफू किन यो पेशामा जोडिए छु भन्ने लाग्न थालेको छ ।
मंगलबार यात्रु कुर्दै गरेको बेला बबरमहलको सडक छेउमा भेटिएका उनले इन्धनको मूल्य वृद्धिका कारण कामबाट कुनै नाफा नभएको बताए । ‘पठाओमा जोडिएर काम थालेदेखि नै निरन्तर बढेको पेट्रोलको मूल्यका कारण कुनै बचत छैन, महिनाको दुई पटकसम्म मूल्य बढाउँछ,’ राईले सरकारसँग प्रश्न गरे, ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण भान्सा नै महँगो भएको छ । जनताको टाउकोमा टेकेर सत्तामा पुगेकाले नै जनतालाई डाम्ने काम गर्न मिल्छ ?’
बढेको इन्धनको मूल्यअनुसार आफूहरुले कम्पनीबाट केही नपाउने भन्दै राईले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आफू जस्ता व्यक्ति ठूलो आर्थिक समस्यामा फस्दै जाने बताए ।
बिजुली बजारमा भेटिएका ओखलढुंगा लिखुका खिलबहादुर कालीकोटे खड्का धादिङमा एउटा कम्पनीमा नोकरी गर्छन् । कम्पनीकै कामले काठमाडौं आएका उनी आफ्नो नोकरीको तलबले अबको मूल्य वृद्धि धान्न नसक्ने अवस्था आएको बताउँछन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सार्वजनिक सवारी साधनदेखि खाद्यान्नसमेत महँगो भएको भन्दै उनले सर्वसाधरणको भान्सामै असर परेको बताए । जनताको ढाड सेकिने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ, यसले हामीलाई सकस भएको छ’ खड्काले भने । कोरोना महामारीका कारण सबै क्षेत्र थिलोथिलो भएको अवस्थामा जनतामाथि पटक–पटक मूल्य वृद्धिको भारी थोपर्ने काम उपयुक्त नभएको भन्दै उनले मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरे ।
बबरमहलबाट थापाथली जाने सडक छेउमा दुई वर्षदेखि किराना पसल चलाइरहेका टंकबहादुर थिङ इन्धनको मूल्यमा भएको वृद्धिका कारण सबै प्रकारका खाद्यान्नको मूल्य बढेको बताउँछन् । मूल्य बढेको बढ्यै गर्दा साना व्यवसाय गर्न पनि नसक्ने अवस्था आएको उनले बताए ।
जनताका लागि यत्ति धेरै मूल्य बढाइँदा पनि आयाल निगम नाफामा नरहेको भन्दै उनले आश्चार्य व्यक्त गरे । जनताको चुल्हो बल्न नसक्ने गरी भएको मूल्य वृद्धिप्रति सरकार हेरेर बस्न नहुने उनले बताए ।
काभ्रेका बिष्णुबहादुर लामा १७ वर्षदेखि ट्याक्सी चलाएर परिवार धान्दै पाल्दै आएका छन् । पट्रोलको मूल्य इतिहासकै महँगो भएका कारण मिटरमा यात्रु बोक्न छोडेको लामा बताउँछन् । प्रतिलिटर ६७ रुपैयाँमा पेट्रोल पाइँदा तय गरिएको ट्याक्सीको भाडा अहिले पेट्रोलको मूल्य दोब्बर हुँदा पनि नबढेको उनी गुनासो गर्छन् ।
‘मिटरमा ट्याक्सी चलाउँदा तेल किन्नै पैसा पुग्दैन साहुलाई के दिने, आफूले के खाने ? परीवार कसरी पाल्ने ?’ लामा आक्रोशित हुँदै भन्छन्, ‘मिटरमा ज्यान गए हिंड्दिन बरु नचिनेको यात्रु नै बोक्दिन ।’
सानो पेशा गरेर जीवन चलाउने आफू जस्तालाई उल्टै ट्राफिकले सिभिलमा जाँचेर दोहोरो जरिवान गर्ने गरेको छ । महँगीले थिचिएका हामीलाई ट्राफिकले उल्टै ‘हाउ मच’ (ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले प्रयोग गर्ने कोड भाषा) मा पार्ने उनको गुनासो छ । ट्याक्सी चलाएर ज्यान पाल्ने नागरिकको पीडा नबुझ्ने हो भने सरकारविरुद्ध ट्याक्सी चालकहरु प्रतिरोध गर्न बाध्य हुने उनको भनाइ छ ।
कानुन व्यवसायी रामहरी नेपाल पेट्रोलियम पदार्थमा भएको मूल्यका कारण नागरिकको मौलिक अधिकार हनन् भएको बताउँछन् । अत्यावश्यक वस्तुको मूल्यमा राज्यले लिएको नीतिका कारण उपभोक्ता ठूलो मारमा परेको भन्दै उनी यसले सरकारविरुद्ध ठूलो प्रतिरोध हुनसक्ने चेतावनी दिन्छन् ।
‘अति भइसक्यो, इन्धनको मूल्यले जनता बेस्सरी पिल्सिएका छन्, राज्य सञ्चालन गर्ने नाममा जनताको ढाडमा टेक्ने छुट शासकलाई छैन, यसको प्रतिरोध हुने अवस्था आउन सक्छ’ अधिवक्ता नेपालले भने ।
रेष्टेुेरेन्ट व्यवसायी कृष्णबहादुर खत्री पेट्रोलियमको मूल्य वृद्धिका कारण आफ्नो खाजा पसलको सबै वस्तुको मूल्य बढेको बताउँछन् । पछिल्लो ६ महिनामा आफूले भोगेको मूल्य वृद्धि अनुसार खाजाको मूल्य बढाउन नसकेको भन्दै उनले यस्तै अवस्था रहे व्यवसाय नै छोड्नु पर्ने अवस्था रहेको गुनासो गर्छन् ।
‘इन्धनको मूल्य वृद्धिका कारण बढेको ढुवानी खर्च लगायतको लागतअनुसार मूल्य पनि बढाउन सकिएन, अब व्यवसाय गर्न पनि कठिन हुने अवस्था आयो,’ खत्रीले भने, ‘सरकारले तत्काल मूल्य घटाउनु पर्छ ।’

उपभोक्ता संरक्षण विभाग नजिक भेटिएका उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिनाले इन्धनको मूल्य तत्काल घटाउन सरकारसँग माग गरे । मूल्य बढेर जनताको ढाड सेकिएको बेला निगमले जनशक्ति घटाएर पनि मूल्य बटाउनु पर्ने उनको भनाइ छ ।
इन्धनसहित बहुआयमका क्षेत्रमा लगानी गरेर निगमले उपभोक्तालाई सहुलियत दिनु पर्नेमा प्रशासनिक काममा मात्रै उनीहरु अल्झिंदाको परिमाण समग्र मुलुकले भोगेको उनको आरोप छ । कर घटाएर मूल्य बटाउन, निगमको प्रशासनिक खर्च कम गर्न र बिजुलीयुक्त वैकल्पिक ऊर्जा विकासमा काम गर्न उनले सरकारको ध्यानकार्षण गराए । निगमको अनानवश्यक खर्च घटाएर तत्काल मूल्यमा राहत दिनुपर्छ, बिजुली प्रयोग गर्ने सबै पूर्वाधार तत्काल ल्याउनु पर्छ’ तिमिल्सनाले भने ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4