+
+

नेपाल-भारत ऊर्जा बैठक आजबाट सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते ९:४४

११ फागुन, काठमाडौं । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक दिउँसो तीन बजे ह्यात होटलमा बस्ने छ ।

सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।

सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताएका छन् ।

ऊर्जा मन्त्रालयका सचिव कार्कीका अनुसार दुई देशबीचको ऊर्जा बैठकमा नेपाल-भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुने छ । नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई उठाउने तयारी गरेको छ ।

नेपालले विद्युत् निर्यातको विषयलाई पनि प्राथमिकतामा राखेको छ । ‘वर्षायाममा बिजुली धेरै उत्पादन भएर खेर जाने अवस्था आउन सक्ने भएकाले त्यसअघि नै खुला बजारमा पहुँच स्थापित गर्ने प्रयास रहन्छ,’ बैठकमा सहभागी हुने ऊर्जा मन्त्रालयका एकजना अधिकारीले भने ।

सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक प्रत्येक ६-६ महिनामा बस्ने प्रावधान छ । त्यसअघि २०७६ सालमा भारतको बैंगलोरमा बैठक बसेको थियो । गत वर्ष भने कोरोना महामारीका कारण यो बैठक भर्चुअल रूपमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?