+
+

लिग २ त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १४:०५

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी मार्चमा नेपालेयुएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

नेपाल, आयोजक यूएई र पीएनजी सम्मिलिति त्रिकोणात्मक एकदिवसीय सिरिज मार्च १५ देखि २२ सम्म युएईमा हुने भएको हो । जसमा नेपालले पहिलो खेल पीएनजीसँग मार्च १६ मा खेल्ने तालिका छ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मार्चमा सिरिज खेल्ने पक्का भएको बताए ।

यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट आधिकारिक घोषणा नभए पनि आईसीसीले सिरिज खेल्ने टिमसँग भने सिरिजको विषयमा जानकारी गराइसकेको छ ।

आईसीसीले आफ्नो वेवसाइटमा पनि यस सिरिजको खेलतालिका भने अपडेट गराइसकेको छ ।

जस अनुसार नेपालले दोस्रो खेल युएईसँग मार्च १८ मा खेल्नेछ । यस्तै, नेपालले मार्च २१ मा युएईसँग र पीएनजीसँग मार्च २२ मा खेल्नेछ ।

नेपाल र पीएनजीअघि युएईले मार्चमै ओमान र नामिबियासँग पनि लिग २ को सिरिज खेल्ने तालिका छ ।

नेपालले भने मार्च अन्तिममा कीर्तिपुरस्थित टीयू मैदानमा मलेसिया र पीएनजी सम्मिलित टी-२० त्रिकोणात्मक सिरिज आयोजना गर्ने तयारी गरेको छ ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोड म्यापको रुपमा रहेको विश्वकप लिग-२ मा नेपालले पछिल्लो पटक गत सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक सिरिज खेलेको थियो ।

ओमान र अमेरिकासहितको उक्त सिरिजमा नेपालले २ खेल जित्दा २ खेल हारेको थियो । नेपालले दुई वर्षअघि घरेलु मैदानमै ओमान र अमेरिका नै सम्मिलित पहिलो लिग-२ सिरिज खेलेको थियो ।

विश्वकप लिग-२ मा अहिले ७ देशले प्रतिस्पर्धा गरिरहेको छ । जहाँ हरेक देशले कूल ९ सिरिज खेल्नेछ भने त्यसमा ३६ खेल हुनेछ । नेपालले अहिलेसम्म जम्मा २ वटा सिरिज खेलेको छ र ८ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ ।

सर्वाधिक २३ खेल खेलेको ओमान १४ जितसहित ३० अंक जोडेर शीर्षस्थानमा छ ।

स्कटल्यान्ड (१६ अंक) दोस्रो, अमेरिका (१४ अंक) तेस्रो, यूएई (१२ अंक) चौथो तथा नामिबिया (१० अंक) पाँचौ स्थानमा छन् । अहिलेसम्म खेलेका १२ वटै खेलमा पराजित पीएनजी अंकविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?