+
+

एसियन कप क्वालिफायर : नेपाल कठिन समूहमा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन १२ गते १५:१४

१२ फागुन, काठमाडौं । अर्को वर्ष चीनमा आयोजना हुने एएफसी एसियन कपको लागि तेस्रो तथा अन्तिम चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको भर्चुअल्ली ड्र अनुसार नेपाल समूह ए मा समावेश छ । यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

जोर्डन र कुवेतसँग नेपालले दोस्रो चरणको छनोटको समूह चरणमा समेत प्रतिस्पर्धा गरेको थियो । नेपालका लागि यी दुवै टिम नौलो प्रतिद्वन्द्वी होइनन्, तर नेपालले यी टिमलाई अहिलेसम्म हराउन सकेको छैन ।

इन्डोनेसियासँग भने नेपालले यसअघि एकपटक मात्र सिनियर स्तरमा खेलेको छ ।

एएफसीले तेस्रो चरणमा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । जसमध्ये समूह ए को सबै खेल कुवेतमा आयोजना हुनेछ । खेल जुन महिनामा हुनेछ ।

तेस्रो चरणको छनोटबाट उत्कृष्ट ११ टोली मात्र चीनमा २०२३ जुन १६ देखि जुलाई १६ सम्म हुने एसियन कपमा छनोट हुनेछ । पिफा विश्वकप र एसियनकपको दोस्रो चरणमा गरेको प्रदर्शनका आधारमा आयोजक चीनसहित एसियाका शीर्ष १३ टोली सिधै एसियन कपका लागि छनोट भइसकेका छन् ।

कोभिड-१९ को प्रभावले गर्दा यस पटक समूह चरणको खेलहरू होम एण्ड अवे मा नहुने र सिंगल म्याच मात्र हुनेछ । जसको अर्थ नेपालले समूहमा हरेक विपक्षीसँग एक-एक खेल मात्र खेल्नेछ ।

नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ (जेठ २६ गते) मा खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जुन ११ (जेठ २८ गते) मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ (जेठ २४ गते) मा खेल्नेछ ।

समूह ए मा रहेको विपक्षीसँग नेपालको अहिलेसम्मको प्रदर्शन

नेपालले समूह ए मा रहेको तीनवटै टिमसँग यसअघि नै खेलिसकेको छ । तर, कुनै पनि टोलीलाई हराउन सकेको छैन ।

जोर्डन, कुवेत र इन्डोनेसियासँग नेपालले यसअघि खेलिसके पनि नतिजाका हिसावले भने नेपालको राम्रो हुन सकेको छैन ।

एसियन कप छनोटकै दोस्रो चरणमा नेपालले जोर्डन र कुवेतसँग दुई/दुई म्याच खेलेको थियो । चारै खेलमा नेपाल पराजित भयो ।

यस समूहको सबैभन्दा बलियो टिम जोर्डनसँग नेपालले अहिलेसम्म कूल ४ खेल खेलेको छ । जसमा नेपाल तीन खेलमा पराजित हुँदा एक खेल मात्र बराबरी गरेको छ ।

नेपालले सन् २०१४ को फिफा विश्वकपको छनोट चरणमा जोर्डनसँग २०११ मा दुई खेल खेलेको थियो। जोर्डनमै भएको अवे खेलमा नेपाल ९-० ले पराजित हुँदा घरेलु मैदानमा भने नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोकेको थियो।

यस्तै, यसअघि दोस्रो चरणको छनोटको दुवै खेलमा नेपाल जोर्डनसँग समान ३-० ले पराजित भएको थियो ।

यस्तै कुवेतसँग पनि नेपालको नतिजा राम्रो छैन । नेपालले अहिलेसम्म कुवेतसँग कूल ८ खेल खेल्दा ७ खेलमा पराजित भएको छ भने जम्मा १ खेल बराबरी गरेको छ ।

यसअघि दोस्रो चरणको छनोटमा नेपाल कुवेतसँग अवे मैदानमा भएको खेलमा ७-० ले पराजित भएको थियो । यस्तै भुटान गएर खेलिएको होम म्याचमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो ।

त्यसअघि नेपालले सन् २०१९ मा कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्दा एकटामा बराबरी गरेको थियो भने अर्कोमा पराजित भएको थियो ।

यसैगरी नेपालले इन्डनेसियासँग सन् २०१४ मा मैत्रीपूर्ण खेल खेलेको थियो । मालाङ्गमा भएको उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो । प्रतियोगितात्मक खेलमा नेपालले नेपालले इन्डोनेसियासँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालको लागि कठिन समूह

यस पटक होम एण्ड अवेलाई हटाएर सेन्ट्रल भेन्युमा सबै खेल हुनेछ । त्यसमा पनि जम्मा ३ खेल हुनेछ । नेपालले यसअघि खेलिसकेका विपक्षी भए पनि नेपालको लागि यो समूह कठिन भएको फुटबल जानकारहरूको भनाइ छ ।

वरीयतामा नेपाल नेपालभन्दा अन्य तीन टिम माथि छन् । पछिल्लो फिफा वरीयतामा नेपाल १६७औं स्थानमा छ । यस समूहमा रहेका मध्ये जोर्डन सबैभन्दा माथि ९० औं स्थानमा छ । यस्तै कुवेत १४३औं र इन्डोनेसिया १६०औं स्थानमा छ ।

जोर्डन र कुवेत नेपालको लागि परिचित नै टिम हो । तैपनि यी दुई टिम भएको समूहबाट माथि जान नेपालका लागि चुनौती छ ।

नेपालले एसियन कपमा छनोट हुन कम्तीमा पनि दोस्रो हुनुपर्छ । ६ समूहका विजेताबाहेक दोस्रो हुनेमध्ये ५ टिम पनि एसियन कपमा पुग्नेछ ।

त्यसैले पनि नेपालको कठिन हुन सक्छ । इन्डोनेसिया नेपालको लागि केही नौलो टिम हुनेछ । वरीयतामा नेपालभन्दा ७ स्थान मात्र माथि भए पनि इन्डोनेसियाको घरेलु फुटबलमा अहिले धेरै लगानी छ ।

नेपाली टिमका रोहित चन्द अहिले इन्डोनेसियामै पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनी भने त्यहाँको फुटबलबारे जानकार छन् ।

यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीका लागि पनि यो छनोट चरण ‘होम कमिङ’ हुनेछ । हुनत उनकै प्रशिक्षणमा नेपालले दोस्रो चरणको अन्तिम तीन खेल गत वर्ष कुवेतमै खेलेको थियो । तर, कुवेतसँग भने खेलेका छैनन् ।

नेपालका लागि विपक्षी कठिन भए पनि प्रशिक्षकले कुवेतलगायत त्यो क्षत्रको फुटबलबारे जानकार राखेकोले पनि यो विषय भने नेपालको लागि सकरात्मक पाटो बन्न सक्छ । प्रशिक्षकका लागि रणनीतिक हिसावले पनि यो सहज बन्न सक्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?