+
+

जहाँ महिलालाई आफ्नो नामले होइन माइती गाउँको नामले बोलाइन्छ

रासस रासस
२०७८ फागुन १३ गते १६:२७
प्रतीकात्मक तस्वीर

१३ फागुन, मलङ्गवा । सर्लाहीको मलङ्गवा नगरपालिका-१० की सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उनलाई सुस्मिता नामले नै बोलाउने गर्थे । विवाह गरेर ससुराली अर्थात् श्रीमानको घर गएपछि सबैले उनलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालियो ।

सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन । जब उनको नामको साट्टा ‘मलङ्गवावाली’ भन्न थालिएपछि आफूलाई अनौठो लागेको उनी बताउँछिन् । ‘सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गर्थे । शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा आफ्नो नाममा सुस्मिता नै लेखिएको छ,’ उनले भनिन्, ‘विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ ।’

मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मलादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ । तर अहिलेसम्म उनको वास्तविक नामबाट कसैले चिन्दैन । ‘बरहथवावाली’को नामबाट नै उनलाई सबैले चिन्ने गरेका छन् । ‘निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन,’ उनले भनिन्, ‘बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिनिने गरिन्छ ।’ उनले वर्षौंदेखि सबैले बरहथवावाली भनेर बोलाउँदा आफ्नो नाम बिर्सेजस्तो लाग्ने गरेको उनले बताइन् । सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ उनको नाम निर्मालादेवी गुप्ता लेखिन्छ । अन्यथा यहाँको समाजले दिएको उनको नाम ‘बरहथवावाली’ नै हो ।

‘श्रीमानले समेत बरहथवावाली भनेर नै बोलाउने गर्नुहुन्छ,’ निर्मला भन्छिन्, ‘विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँबाट हुने गर्छ । अहिलेसम्म मेरो श्रीमानले पनि मलाई नाम लिएर बोलाएको छैन ।’

सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन् । मधेशी समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै उनको माइतीको गाउँठाउँको नाम हो । फलस्वरुप घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन । विवाहित महिलालाई समाज र परिवारले उनीहरुको वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन यहाँ पुरानै हो । त्यसैले मधेशमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान् र छोराको नामले बोलाउने गरिएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महराले बताइन् ।

उनले आफूलाई पनि कार्यालयको काम विशेषले बाहिरका व्यक्तिले मात्रै वास्तविक नामले चिन्ने बताइन् । तर आफ्नै ससुराली घरको व्यक्ति र समाजले भने ‘सीतापुरवाली’ भनेर नै चिन्ने र बोलाउने उनी बताउँछिन् । ‘आफूले दुःखकष्ट र मेहनत गरेर घर बनायौं तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमानको नामले चिनिन्छ,’ उनी भन्छिन्, ‘समाजले महिलाको नामलाई मान्यता दिएको छैन ।’ बाहिर कामको आधारमा नाम आफ्नो नाम भएपनि महिला भएकै कारण घरमा भने पहिचान नपाएको उनको भनाइ छ । आफ्नो छोराले विवाह गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उनले बताइन् ।

नाम र थरबिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्कीले बताइन् । ‘महिलाको पहिचानमै यहाँ विभेद भएको छ । आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरुले व्यक्त गर्न सकिरहेका छैनन्, उनले भनिन्, ‘पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन् ।’ पितृसत्तात्मक सोचका कारण यहाँका महिलाको नाम मात्र नभएर थर पनि फेरिने गरेको अधिकारकर्मी कार्कीले बताइन् ।

विवाह अगाडि यहाँको महिलाका नाम अगाडि कुमारी जोडिन्छ भने विवाहपछि देवी जोडिन्छ भने श्रीमानको थरसँगै जोडिने गरेको छ । यो सबै महिला हिंसा र विभेदकै स्वरुप रहेको उनी बताउँछिन् । महिलालाई आमाको गर्भमा भएदेखि नै यहाँ विभेद गरिँदै आएको र गर्भमा छोरी छ भने कतिपयले भ्रुण हत्या नै गर्ने देखिएको उनले बताइन् । यस्तै गर्भमा छोरा छ भने आमालाई पोषिलो खाना खुवाउने र छोरी भएको थाहा पाएपछि त्यही बेलादेखि विभेद सुरु हुने गरेको छ ।

विवाह गरेर ससुराली गएपछि सबैले आफूलाई ‘गङ्गापुरवाली’ भनेर बोलाउन थालेको तर आफू राजनीतिमा लागेपछि आमाबुबाले राखेको नामले नै बाहिरका व्यक्तिले बोलाउने गरेको लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ लक्ष्मीसिंह दनुवारले बताइन् । अहिले पनि आफ्नो ससुरालीमा सबैले ‘गङ्गापुरवाली’ भनेर नै बोलाउने गरेको उनले बताइन् । समाजमा महिलालाई वास्तविक नामले बोलाउँदा पहिचान र आत्मसम्मान बढेको महसुस हुने गरेको उनको अनुभव छ ।

मुलुकी देवानी संहिता–२०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ । कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । त्यस्तै विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्छिन् भनी साह्रै राम्रो व्यवस्था बनाइएको छ । सेवानिवृत्त शिक्षक रजनीकान्त झाले परम्परागत रुपमा नै विवाहित महिलालाई उनको माइती गाउँको नामले बोलाउने गरेको बताउँदै त्यसले महिलालाई विभेद वा अपमानित गरेको भनाइ गलत भएको बताइन् ।

‘विदेशमा पनि मिस्टर, मिसेज र थर जोडेर बोलाउने गरिएको उदाहरण छ,’ उनले भनिन्, ‘समयसँगै सामाजिक चेतनामा आएको परिवर्तनले विवाहित महिलाको अवस्था धेरै फेरिएको छ । तर पनि पुरुष आधिपत्यबाट अझै महिला स्वतन्त्र छन् भन्न सकिंदैन । जतासुकैबाट अङ्कुश लगाइएको मात्र होइन, विवाहपछि समेत महिलाको नाम परिवर्तन वा लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौं महिलालाई अस्तित्वविहीन बनाइन्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?