+
+

युक्रेनबाट नेपाली विद्यार्थीको आग्रह – मर्ने बाँच्ने टुंगो भएन, उद्धार गरिदिनुस्

गौरव पोखरेल गौरव पोखरेल
२०७८ फागुन १३ गते २२:२८

१३ फागुन, काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसले सैन्य कारबाही सुरु गरेको छ । शुक्रबार बिहान त्यहाँ गोलाबारी पनि भएको छ र अहिले मानिसहरुले राजधानी छाड्ने क्रम चलिरहेको छ ।

कतिपय नजिकैको मुलुकतर्फ प्रवेश गर्न खोजिरहेका छन् भने त्यहाँ रहेका विदेशी नागरिकलाई विभिन्न मुलुकले सुरक्षित स्थानतर्फ लैजान पहल गरिरहेका छन् । राजधानी किएभमा केही नेपाली नागरिक पनि छन्, उनीहरुले उद्धारका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।

किएभमा अध्ययनका लागि पुगेकी नेपाली विद्यार्थी निशा क्षेत्रीले शुक्रबार साँझ अनलाइनखबरसँग कुरा गर्दै ‘आफूहरुको मर्ने बाँच्ने टुंगो नभएको’ बताएकी छन् । र, उद्धार गर्नका लागि पहल लिन नेपाल सरकारसँग आग्रह गरेकी छन् ।

‘छिनछिनमा यहाँ विस्फाेट भइरहेको छ, बच्नलाई हामी मेट्रो चढेर विभिन्न ठाउँको यात्रा गरिरहेका छौं’ उनले भनिन्, ‘यहाँबाट कहाँसम्म जाने हो, टुंगो छैन ।’ केही दिनलाई खानका लागि पहिल्यै तयार गरेर राखेको भए पनि परिस्थिति बिग्रिंदै जाँदा खानकै लागि पनि समस्या हुने उनले बताइन् । रुसले सैन्य कारबाही सुरु गरेको पहिलो दिन चाहिं उनले होस्टल नजिकै रहेको अस्पतालको भुइँतलामा बसेर बिताइन् ।

प्रस्तुत छ, उनै क्षेत्रीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः–

म अध्ययनको सिलसिलामा युक्रेनको राजधानी किएभमा आएको पाँच/छ महिना भयो । यहाँको पोडिलिस्की होस्टलमा मसहित १६ जना बसिरहेका थियौं । हामीमध्ये कोही युक्रेनियन त कोही रसियन भाषा पढिरहेका थियौं । म स्टुडेन्ट भिसामा आएको थिएँ, युरोपियन युनिभर्सिटीको विद्यार्थी हुँ ।

अहिले राजधानी किएभमा जतिसुकै वेला विष्फोट भइराख्छ । पछिल्लो एक महिनापछि राजधानी शान्त थिएन । हिजोबाट होस्टल नजिकै रहेको एउटा अस्पतालको ‘अन्डरग्राउण्ड’मा बसेर रात वितायौं । बिहानबाट दिउँसोसम्ममा राजधानीमा तीन/चार पटक ठूल्ठूलो आवाजसहित विष्फोटन भयो । त्यसपछि होस्टलमा बस्न सकिँदैन भन्ने लाग्यो । बाहिर निस्किएर हिँड्ने सहज छैन । मानिसहरुको भिड छ, शहर छाड्नेको ताँती छ । हिँड्नलाई टिकट पाइँदैन ।

बल्लतल्ल मसहित साथीहरु राजधानीबाट मेट्रो रेलमा ५४ मिनेटको यात्रा गरेर भोगजल्म भन्ने ठाउँमा आइपुगेका छौं । अहिले तपाईंसँग कुराराख्दा पनि पृष्ठभूमिमा आवाज आइरहेको छ, यो विष्फोटनको हो । यहाँ पनि ग्यासहरु हानिरहेका छन्, बाहिर यहाँका सेना जतिसुकैवेला जे पनि हुनसक्छ भनेर स्ट्याण्ड बाई पोजिसनमा छन् ।

यहाँबाट हामी लबिक भन्ने ठाउँमा जान खोज्दैछौं । अहिले म रेल स्टेसनबाटै बोलिरहेको छु, यहाँबाट मैले जता हेर्‍यो, त्यतै मान्छेको लस्कर मात्रै देख्छु । मेट्रोमा पनि खुट्टा टेक्ने ठाउँ पाउन गाह्रो छ । आफूलाई उच्च जोखिममा राखेर मानिसहरु अहिले अर्को मुलुकतिर पनि गइरहेका छन् । हामीले पनि नेपाल सरकारलाई गुहारिरहेका छौं ।

बन्द हुनुअघि दुई/तीन दिनलाई पुग्ने सामान ल्याएर राखेका थियौं, त्यही बोकेर हिंडिरहेका छौं, कहाँ बस्ने के गर्ने टुंगो छैन । अहिले आराम गर्न पनि खुला आकाशमुनि बसिरहेका छौं, साँझ बास बस्न कहाँ पुगिने हो थाहा छैन ।

तर, सकरात्मक जवाफ आएको छैन । सँगैमा भारत सरकारले दूतावासमार्फत सहयोग गरिरहेको छ, उनीहरुले समस्या देखिने वित्तिकै सचेत गराएर यहाँका भारतीय नागरिकलाई पोल्याण्डतर्फ लगिसके । हाम्रो सरकारले केही गरेको छैन, अहिले मैले के गर्ने के नगर्ने केही सोच्न सकिरहेको छैन, कतिवेला के हुने हो भन्ने पनि थाहा छैन । अझै केही दाइदिदीहरु त राजधानीको होस्टलमै हुनुहुन्छ, थप नेपालीहरु पनि राजधानीमा छन् ।

आफैं पोल्याण्ड जानलाई पहिलो कुरा टिकट छैन । अर्को कुरा मानिसहरु धेरै छन् । पहिले ५ सयमा पाइने टिकट अहिले १५ सय/दुई हजार परिरहेको छ । त्यो पनि पाउन मुस्किल छ । काम बन्द भएको धेरै दिन भइसक्यो । बचेको पैसाले कहिलेसम्म खाने के गर्ने टुंगो छैन ।

हिजैदेखि राजधानीको बजारदेखि हरेक कुरा बन्द छ । बन्द हुनुअघि दुई/तीन दिनलाई पुग्ने सामान ल्याएर राखेका थियौं, त्यही बोकेर हिँडिरहेका छौं, कहाँ बस्ने के गर्ने टुंगो छैन । अहिले आराम गर्न पनि खुला आकाशमुनि बसिरहेका छौं, साँझ बास बस्न कहाँ पुगिने हो थाहा छैन ।

हामी अहिले लबिप भन्ने ठाउँमा जाने भनेर सोचिरहेका छौं, तर त्यहाँ जान पनि समस्या भइरहेको छ । हामीलाई आफैं छिमेकी मुलुक जान पनि गाह्रो छ । यत्तिकै यहाँका नागरिकले पनि जान सकिरहेका छैनन्, झन् विदेशी नागरिकलाई त्यसरी जान कति समस्या होला ? यहाँ बस्न सक्ने स्थिति पनि छैन । ज्यानै जोखिममा छ । अवैधरुपमा हिँडेर जाँदा पनि जोखिम छ, यहीँ बस्न पनि जोखिम छ । त्यसैले अहिले आफ्नो देशको सरकारलाई गुहारिरहेका छौं ।

हामीलाई उद्दार गरिदिनुपर्‍यो । कि पोल्याण्ड पुर्‍याइदिएर त्यहीँ राख्ने व्यवस्था गरिदिनु पर्‍यो । नभए, पोल्याण्डसम्म सुरक्षित पुर्‍याएर नेपाल फर्किने व्यवस्था गरिदिनु पर्‍यो ।

हुन त हामी नेपालबाट आउँदा पनि ठगिएका थियौं । यहाँ खासै राम्रो काम पनि पाइँदैन । अधिकांशले यहाँ काम पनि पाउनु भएको छैन । आर्थिकरुपमा पनि समस्यामा हुनु भएको धेरै दाइदिदीहरु हुनुहुन्छ । टाठोबाठोले काम नगरेका होइनन् । तर, जे सोचेर पैसा तिरेर आएका थियौं, त्यति भइरहेको थिएन । होस्टलको एक वर्षको पैसा तिरेर आएका थियौं, त्यो पनि डामाडोल भयो ।

दुई महिनादेखि अफ्ठ्यारो परिस्थितिको मात्रै सामाना गरिरहनु परेको छ । जतिवेलै साइरन मात्र सुनिराख्दा मानसिकरुपमा पनि टर्चर भइरहेको छ । सरकारलाई हामी सबैको तर्फबाट विनम्र आग्रह छ कि कृपया हामीलाई उद्दार गरिदिनुस् । आफ्नो नागरिकको ज्यान जोगाइदिनुस् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?