१४ फागुन, काठमाडौं । च्याम्पियन मच्छिन्द्र क्लबका खेलाडी सुनील बल शहीद स्मारक ए डिभिजन लिग २०७८ को सर्वोत्कृष्ट खेलाडी घोषित भए । पहिलो पटक नेपालको शीर्ष डिभिजनको लिग जितेका सुनीलले सर्वोत्कृष्ट खेलाडीको अवार्डसँगै ३ लाख रुपैयाँ पुरस्कार पनि पाए ।
च्याम्पियन मच्छिन्द्रले लिगको उपाधि रक्षा गर्नका लागि यस सिजन क्लबमा केही खेलाडीहरु भित्र्याएको थियो । फरवार्ड एडेलाजा सोमिडे र दीपक राई मनाङ मर्स्याङ्दी नै फर्किएपछि मच्छिन्द्रले राष्ट्रिय टिमका दुई युवा खेलाडी सुनील बल र मनिष डाँगीलाई अनुबन्ध गरेको थियो । यस्तै गत सिजन अन्तिम खेल खेलेका विमल घर्ती मगरलाई पनि मछिन्द्रले टिममै राख्यो ।
डिफेन्स तुलनात्मक रुपमा राम्रो रहेको मछिन्द्रले अट्याकिङ पोजिसनमै खेलाडी अनुबन्धमा जोड दिएको थियो । त्यसमा मच्छिन्द्र पनि भयो । लगातार दोस्रो पटक च्याम्पियन गर्ने क्रममा मच्छिन्द्रले यस सिजन दुई खेल बाँकी छँदै उपाधि रक्षा गर्यो ।
यसका नायकमध्ये एक हुन् सुनील बल । त्यसैले त उनी लिगकै सर्वोत्कृष्ट खेलाडी बने । ‘व्यक्तिगत प्रदर्शन भन्दा पनि म टिमवर्कमा विश्वास गर्छु । यो पनि इन्डिभिजुअल भन्दा टिमवर्कले गर्दा सम्भव भएको हो । समग्रमा लिग राम्रो भयो, मेरो यो पहिलो लिग उपाधि हो र खुशी छु’ सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाएपछि सुनीलले भने ।
उनी लिगको सुरुवातदेखि नै मच्छिन्द्रमा आफ्नो प्रभाव छाड्न सफल भए । १३ मध्ये ११ खेल खेलेका सुनीलले ६ गोल गरे । तीन खेलमा उनकै निर्णायक गोलमा मच्छिन्द्रले जित हात पारेको थियो । सुनीलले ७ खेलमा पूरा समय मैदानमा बिताएका थिए ।
यस वर्षको लिगमा एनआरटी विरुद्ध २-१ को जित हात पार्दै लिग सुरु गरेको मच्छिन्द्रका लागि दुबै गोल सुनीलले गरेका थिए । त्यसपछि मच्छिन्द्रले अन्तिम खेलमा एपीएफविरुद्ध मात्र एक गोल खायो ।
मैदानमा अग्रपंक्तिमा जुनसुकै पोजिसनमा खेल्न सक्ने सुनील यस पटक प्रभावशाली ठहरिए । प्रशिक्षक प्रवेश कटुवालले पनि सुनील बललाई अनुबन्ध गर्ने निर्णय सही सावित भएको बताए । ‘सुनीलको क्रस, फ्रिकिकहरु राम्रो छ । हामीले पहिला पनि हेरेका थियौँ । उनलाई ल्याउने क्लबको निर्णय अहिले सही भएको छ । उनले जुनसुकै पोजिसनमा पनि खेल्न सक्षम छन्’ प्रवेशले भने ।
सुनीलले चौथो खेलमा हिमालयन शेर्पा विरुद्ध पनि एक गोल गरे । त्यसपछिका दुई खेलमा भने सुनील निर्णायक नै बने । छैटौं चरणमा मनाङ मर्स्याङ्दीविरुद्ध महत्वपूर्ण खेलमा अन्तिम सयमा सुनीलले फ्रिकिकबाट गोल गर्दै मच्छिन्द्रलाई १-० को जित दिलाए । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा पाएको फ्रिककमा सुनीलले उत्कृष्ट गोल गरेका थिए ।
सुनीलले सातौं खेलमा पुलिसविरुद्ध १-० को जितमा निर्णायक गोल गरेका थिए । यस्तै उनले दशौँ चरणको खेलमा आफ्नै पूर्व क्लब च्यासल युथ क्लबविरुद्ध एक गोल गरेका थिए । चोटका कारण सुनीलले थ्रीस्टार र एपीएफविरुद्धको खेल भने खेलेनन् ।
सुनीलले यसअघि थ्रीस्टार र च्यासल युथबाट खेलिसकेका थिए । तर यस पटक मच्छिन्द्रबाट खेल्दा उनलाई सहज अनुभव भयो ।
लिगअघि मच्छिन्द्रले स्टार खेलाडीहरु भित्र्याउँदा सुनीलले नियमित खेल्न पाउने कि नपाउने टुङ्गो थिएन । तर सुनील सुरुवातदेखि नै पहिलो रोजाइमा खेले । चोटका कारण अन्तिम दुई खेल गुमाएका सुनीलले एक खेल बेन्चबाट सुरुवात गरेका थिए । अन्य खेलमा भने पहिलो रोजाईँमै खेले ।
‘मछिन्द्रबाट खेल्दा कन्फरटेबल लाग्यो । टिममा दाइहरु र भाइहरुसंग घुलमिल हुन समय लागेन । सहज भयो’ सुनिलले भने, ‘सबैको विश्वास छ । टिमप्रतिको विश्वास थियो ।’
सुनीलले मच्छिन्द्रबाट खेल्दा दबाब नभएको र सबैले मिलेर खेल्दा लिग च्याम्पियन बनेको बताए । ‘टिममा च्यालेन्ज भएपनि प्रेसर लिएर खेलिन । आफूले गोल गर्न नसके बेटर खेलाडीलाई पास दिने सोच थियो । त्यही अनुसार रिजल्ट आयो । बेस्ट अफ दि बेस्ट भएर नै लिग विजेता बन्यो’ उनले भने ।
यस्तै सुनीलले मनाङ मर्स्याङ्दीविरुद्ध गरेको गोल उत्कृष्ट भएको बताए । ‘मनाङविरुद्ध अन्तिम समयमा फ्रिकिकबाट गरेको गोल बेस्ट गोल हो ।’
प्रतिक्रिया 4