+
+

ललितपुर मेयर्स कप महिला टी-२० : एपीएफ अपराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । एपीएफले आइतबार समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १५:५४

१५ फागुन, काठमाडौं। विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप टी-२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । एपीएफले आइतबार समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो ।

एपीएफ र सुदूरपश्चिम प्रदेश यसअघि नै फाइनलमा पुगिसकेका छन् । यी टोलीबीच सोमबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

त्रिवि मैदानमा लुम्बिनीलाई ४४ रनमा रोक्दै एपीएफले १० विकेटले खेल जितेको हो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४४ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका लक्ष्मी चौधरी (११) र नेरी थापा (१५)ले मात्र दोहोरो अंकको रन छुन सके । बलिङमा एपीएफकी रेखा रावलले ३ विकेट लिइन् । उनले ४ ओभरमा ६ रन खर्चिइन् ।

जवाफमा एपीएफले ६.४ ओभरमा विना क्षती लक्ष्य पूरा गरेको हो । ओपनरहरु ज्योती पाण्डेले २२ र कप्तान सीता रानामगरले १७ रनको अविजित पारी खेले ।

आइतबारको दोस्रो खेलमा प्रदेश–१ ले ललितपुर मेयर–११ लाई २२ रनले पराजित गरी सान्त्वना जित हासिल गरेको छ । कप्तान रुविना क्षेत्रीसहित राष्ट्रिय टोलीका ५ खेलाडी सम्मिलित प्रदेश–१ ले यो प्रतियोगितामा आशातीत प्रदर्शन गर्न सकेन । समूहका चारमध्ये दुई खेल हारेपछि फाइनलमा पुग्न असफल भएको हो ।

प्रदेश १ ले दिएको १२० रनको लक्ष्य पछ्याएको मेयर–११ इनिङको १ बल बाँकी छँदै ९७ रनमा अलआउट भयो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी सुमन खतिवडाले ४४ रनको पारी खेले पनि टिमको हार टार्न सकिनन् ।

उनले ३९ बलमा ४ चौका प्रहार गरेकी थिइन् । ओपनर अञ्जली विश्वकर्माले २१ र अस्मिना कर्माचार्यले १४ रन बनाइन् । मेयर–११ का मध्य र पुछारक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ प्रदेश-१ की एलिया खडियाले ३ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चिइन् । सवनम राईले २ र ज्योती परियार तथा संगीता राईले पनि १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको प्रदेश-१ ले ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । प्रदेश–१ का ओपनरद्वय काजल श्रेष्ठ, कप्तान रुविना क्षेत्रीले राम्रो सुरुवात दिँदै ९७ रनको साझेदारी गरेका थिए ।

काजलले ४३ बलमा ७ चौकासहित ४४ तथा रुविनाले ४५ बलमा ५ चौकासहित ३९ रनको योगदान गरे । तेस्रो नम्बरमा आएकी अप्सरी बेगमले पनि १५ रन जोडिन् । बलिङतर्फ मेयर–११ की खुसी डंगोलले २ तथा अनुराधा चौधरीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?