१६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आगामी महिना युएईमा हुने त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टिमले तयारी सुरु गरेको छ । नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला मार्च १५ देखि २२ सम्म हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) आइतबार त्यसको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ । नेपाली टोलीले आइतबार र सोमबार इन्डोर हलमा अभ्यास गर्नुका साथै फिटनेसमा काम गरेको थियो ।
लिग टू अन्तर्गत नेपालले तेस्रो श्रृङ्खला खेल्न लागेको हो । जहाँ नेपालले युएई र पीएनजसीसंग २-२ खेल खेल्नेछ । नेपालले पहिलो खेल पीएनजीसंग मार्च १६ मा खेल्नेछ । यस्तै दोस्रो खेल युएईसँग मार्च १८ मा खेल्नेछ । नेपालले मार्च २१ मा युएईसँग र पीएनजीसँग मार्च २२ मा खेल्नेछ ।
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप लिग-टू मा नेपालले पछिल्लो पटक गत सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक श्रृङ्खला खेलेको थियो ।
ओमान र अमेरिकासहितको उक्त सिरिजमा नेपालले दुई खेल जित्दा दुई खेल हारेको थियो । नेपालले दुई वर्षअघि घरेलु मैदानमै ओमान र अमेरिका नै सम्मिलित पहिलो लिग-टू सिरिज खेलेको थियो ।
विश्वकप लिग-टू मा अहिले सात देशले प्रतिस्पर्धा गरिरहेका छन् । जहाँ हरेक देशले कूल नौ सिरिज खेल्नेछ भने त्यसमा ३६ खेल हुनेछ । नेपालले अहिलेसम्म खेलेका दुई सिरिजका आठ खेलबाट आठ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ ।
सर्वाधिक २३ खेल खेलेको ओमान १४ जितसहित ३० अंक जोडेर शीर्षस्थानमा छ । स्कटल्यान्ड १६ अंकसहित दोस्रो, अमेरिका १४ अंकसहित तेस्रो, यूएई १२ अंकसहित चौथो र नामिबिया १० अंकसहित पाँचौं स्थानमा छन् । अहिलेसम्म खेलेका १२ वटै खेलमा पराजित पीएनजी अंकविहीन हुँदै पुछारमा छ ।
टिममा फेरबदल
लिग टू श्रृङ्खलाका लागि ओमानमा टी-२० विश्वकप छनोट खेलेर आएको टिममा फेरबदल समेत गरिएको छ । ओमान टुर गएको टिमका सात खेलाडी बन्द प्रशिक्षणमै पर्न असफल भएका छन् ।
जसमा अनुभवी खेलाडी शरद भेषावकर, जितेन्द्र मुखिया, प्रदिप ऐरी, कुशल मल्ल, लोकेश बम, अविनाश बोहरा र शाहब आलम छन् ।

ओमानमा टुरमा गएका कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक कुमार यादव, सागर ढकाल, गुलशन झाले एकदिवसीय टिममा पनि निरन्तरता पाएका छन् । जसमध्ये विवेक, सागर र गुलशनले ओमानमा टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए ।
यस्तै चोटका कारण विश्वकप छनोट गुमाएका सोमपाल कामी र करण केसी पनि प्रशिक्षणमा समावेश छन् । यसबाहेक विनोद भण्डारी, रोहितकुमार पौडेल, सुशन भारी, विक्रम सोब, भीम शार्की, पवन सर्राफ, राजु रिजाल, अनिलकुमार शाह पनि प्रशिक्षणका लागि बोलाइएका छन् ।
हेर्नुस् तस्वीरहरु :
 
  
  
  
  
  
  
  
 
 
                    










 २०७८ फागुन  १६ गते १९:३८
                        २०७८ फागुन  १६ गते १९:३८                     
                         
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4