+
+

विदेशमा ‘चलचित्र दूत’ नियुक्त गर्ने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १२:२८
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय । फाइल तस्वीर

१७ फागुन, काठमाडौं । सरकारले नेपाली चलचित्रका ठूला विदेशी बजारमा ‘चलचित्र दूत’ नियुक्त गर्ने तयारी थालेको छ । चलचित्र विकास बोर्डको प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैतानिक दूत नियुक्तिको तयारी अघि बढाएको हो ।

मन्त्रालयले बोर्डको उक्त प्रस्ताव स्वीकृत गर्दै फाइल परराष्ट्र मन्त्रालयमा पठाएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले युरोप, मध्यपूर्व, अमेरिकासहित पूर्वी एसियाली मुलुकमा ‘चलचित्र दूत’ नियुक्तिको पहल सुरु भएको बताए ।

ती मुलुकमा रहेका चलचित्रप्रति योगदान पुर्‍याउन सक्ने गैरआवासीय नेपाली र अन्य योग्य व्यक्तिलाई दूतमा नियुक्त गर्न प्रस्ताव गरिएको छ । ‘सञ्चार मन्त्रालयले फाइल स्वीकृत गरी परराष्ट्रमा पठाएको छ । यसबारे पहल अघि बढेको छ,’ अध्यक्ष दाहालले अनलाइनखबरलाई भने ।

मध्यपूर्वका कतार, कुवेत, यूएईसहित युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, हङकङ नेपाली फिल्मका ठूला बजार हुन् । ‘अन्तर्राष्ट्रिय बजारको खोजी र प्रवर्द्धन मुख्य उद्देश्य हो,’ अध्यक्ष दाहाल भन्छन्, ‘यसले सम्बन्धित मुलुकको सरकार र नेपालबीच चलचित्र सेतुको पनि काम गर्नेछ ।’

सबै नियोगहरुमा नियुक्त नगरी फिल्म बजारको आवश्यकताको आधारमा दूत नियुक्त गर्ने तयारी छ । अवैतनिक दूतहरुले कानुनी मान्यता पाउने भएपनि सेवा सुविधा चाहिं पाउने छैनन् । बजार प्रवर्द्धनबाहेक फिल्म फेस्टिभल आयोजना र सांस्कृतिक आदानप्रदानमा समेत लाभ हुने आशा सरकारले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?