+
+

भन्सारसम्बन्धी समस्या समाधान गर्न व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १७:११

१७ फागुन, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले भन्सारसँग सम्बन्धित समस्या समाधान गरिदिन भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग आग्रह गरेका छन् । मंगलबार वीरगञ्ज आइपुगेका भट्टराईलाई वीरगञ्जका उद्योगी व्यवसायीले भन्सारमा देखिएका विभिन्न समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संघका अध्यक्ष सुवोध गुप्ताले मेसिनका पार्टसहरु मगाउँदा १ प्रतिशत मात्रै भन्सार शुल्क लिन आग्रह गरे । ‘भारत तथा तेस्रो मुलुकबाट आयात हुने कतिपय सामानमा तयारी सामान र कच्चा पदार्थको भन्सार दर समान छ,’ उनले भने, ‘कम्तिमा १ तह फरक हुनुपर्छ ।’

एकिकृत सुरक्षा जाँच चौकी (आईसीपी) बाट ४ पाङ्ग्रे सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई पनि आवतजावतका लागि अनुमति दिनुपर्ने माग संघले राखेको छ । हाल आईसीपीबाट मालबाहक सवारी साधनको मात्रै आवागमन भइरहेको छ । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष समेत रहेका गुप्ताले विगतमा दाल निर्यातमा सरकारले दिंदै आएको ४ प्रतिशत अनुदान पुनः लागू गर्न माग गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका उपाध्यक्ष माधव राजपालले ४७ वटा संकेत नम्बरमा आउने मध्ये अधिकांश मालवस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधान, भन्सार मूल्यांकनमा देखिएको जटिलता, आईसीपी र ड्राइपोर्टको सौन्दर्यकरण, व्यवस्थापन सहितका व्यावहारिक एवं नीतिगत कठिनाइका बारेमा ध्यानाकर्षण गराए ।

भन्सार प्रशासन, भीसीटीएस, मूल्यांकनमा देखिएको समस्या समाधान गर्न, भन्सार प्रयोगशालालाई अत्याधुनिक उपकरणले सुसजित बनाउन, भन्सारमा रहेको धरौटी रकम समयमै फिर्ता हुने वातावरण निर्माण गर्न र विद्युतीय भुक्तानीमा देखिएको प्राविधिक समस्या समाधान गर्न व्यवसायीहरुले माग गरे ।

महानिर्देशक भट्टराईले उद्योगी व्यवसायीले राखेका उचित माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । व्यावहारिक समस्यालाई तत्काल सम्बोधन गर्ने र नीतिगत समस्याहरु समाधानका लागि आवश्यक गृहकार्य गरेर सहज वातावरणको निर्माण गर्ने महानिर्देशक भट्टराईको आश्वासन छ । आधा हिस्सा राजस्व दिने क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधानमा आफू गम्भीर भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?