+
+

बेतबाँसका सामग्रीले बदलियो जीवनशैली

रासस रासस
२०७८ फागुन १९ गते १४:३६
फाइल तस्वीर

१९ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् । सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन् ।

सीप सिकेपछि उनले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरुकहाँ हात थाप्नुपरेको छैन । बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टेबुल, कुर्सी, सोफा, र्‍याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन् ।

तालिममा सिकेको सीपलाई निर्खादै जाँदा उनी बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीका रुपमा परिचित भएका छन् । मासिक रुपमा ठगुन्नाले ३० हजारदेखि ७० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छन् ।

 ‘मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छौं, उनी भन्छिन्, ‘महिनामा ५० देखि १०० सम्म सामग्री निर्माण गर्दै आएका छौं । लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ ।’

 विगतका वर्षमा कमाउनकै लागि भारतीय क्षेत्रमा जाने गरेको उल्लेख गर्दै उनले सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेपछि भारत जाने दिनको अन्त्य भएको बताए । कच्ची घरमा बस्दै आएका उनले बेतबाँसकै सामग्री निर्माण गरी कमाएर आएको रकमबाट गाँउमै पक्की घर ठड्याएका छन् । छोरालाई उच्च शिक्षा ग्रहणका लागि काठमाडौं पठाएका छन् । घरको खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर आएको आम्दानीले धानिंदै आएको उनले जानकारी दिए ।

‘बेतबाँसका सामग्री बनाउनका लागि सीप सिकेपछि व्यवसायलाई अगाडि बढाउनका लागि पैसा थिएन,’ उनले भनिन्, ‘उपभोक्ता समूहबाट ५० हजार रुपैयाँ रकम छ प्रतिशत ब्याज तिर्ने गरी कर्जाका रुपमा लिएँ ।’ कर्जा लिएको रकमबाट कैलालीका सामुदायिक वनबाट बेत र स्थानीय क्षेत्रबाट बाँस खरिद गरी काम गर्न थालें । त्यसबाट आम्दानी बढ्दै गयो । ब्याजसहित कर्जाको रकम पूरै चुक्ता गरें ।’ वडा कार्यालयले कामको मूल्याङ्कन गरी एक लाख रुपैयाँ अनुदान रकम दिएपछि कार्य गर्न सहज भएको उनको भनाइ छ ।

‘वडाको एक लाख अनुदानसँगै समूहबाट दुई लाख कर्जा लिएर ठगुन्ना बेतबाँस हस्तकला उद्योग दर्ता गरी कार्य अगाडि बढाएको छु,’ उनले भने, ‘विगतमा थोरै पुँजीमा थोरै काम हुन्थ्यो । अब बजारमा मागअनुसारका बेतबाँसका सामग्री बनाएर बेच्ने योजना छ ।’

अनुदानमा पाएको रकम र समूहबाट लिएको कर्जाको रकम बेतबाँस खरिद गर्ने कार्यसँगै किला, पेन्ट खरिदमा खर्च हुँदै आएको उनले बताए । बेतबाँसबाट बनेका सामग्री ४०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । खर्च कटाएर एक सामग्रीबाट १०० देखि ३०० सम्म नाफा हुने गरेको छ ।

हातैले बुनेका बेतबाँसका सामग्री स्थानीय बजारसँगै हाल डडेल्धुरा, बैतडी र बझाङसम्म पुर्‍याएर बिक्री गरिंदै आएको छ । उद्योगलाई कमाइ गर्ने साधन मात्रै नबनाएर बेतबाँसको तालिम केन्द्रका रुपमा विकास गर्ने ठगुन्नाको योजना छ । थोरै दिनको तालिम लिएर ठगुन्नाले गतिलो काम गरेर देखाएकाले वडाबाट अनुदान रकम प्रदान गरी प्रोत्साहित गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए ।

‘स्वरोजगार भएर अरुका लागि प्रेरणाका स्रोत बनेका ठगुन्नालाई आर्थिक सहयोग गरेका छौं,  उनले भने, ‘सीप भएर पनि लगानी गर्ने रकम नपाएर बसेका युवालाई सहयोग निरन्तर रुपमा उपलब्ध गराउँछौं ।’ ठगुन्नासँग वडाका आधा दर्जन बढी युवालाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गरिएको उनको भनाइ छ ।

 ‘उद्यम गर्नेले मुग्लान पस्नु पर्दैन,’ अध्यक्ष सिंहले भने, ‘गाउँमै उद्यम गरेर ठगुन्ना जस्तै स्वरोजगार बन्न सकिन्छ । परिवारसँगै बसेर गतिलो आम्दानी गरी सहज जीवनयापन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?