+
+

रुसी ह्याकरको हमलापछि ‘एनोनिमस’को सर्भर डाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १५:०१

१९ फागुन, काठमाडौं । रुसी ह्याकरको साइबर हमलापछि स्वतन्त्र ह्याकरहरूको समूह ‘एनोनिमस’को सर्भर डाउन भएको छ ।

रुसका ह्याकरले एनोनिमसको सर्भर डाउन गरेको मेट्रो डटकमले जनाएको हो । भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि एनोनिमसले त्यहाँका सरकारी वेभसाइट र सेवाहरूलाई निशाना बनाउँदै आएको छ ।

तर, रुसका ह्याकरले जवाफस्वरुप एनोनिमसको सर्भर डाउन गरेको दाबी गरेका छन् । ‘किलनेट’ नामक रुसी ह्याकरको समूहले एनोनिमसको स्वामित्वमा रहेका वेभसाइट अवरुद्ध पार्न सफल भएको दाबी गरेको हो ।

किलनेटलेले एनोनिमसको वेभसाइट डाउन गरेको दाबी गर्दै ट्विटरमा एक भिडियो समेत राखेको छ । उक्त भिडियोको पृष्ठ भागमा रुसी झण्डा देख्न सकिन्छ भने अनुहार नदेखिने गरी हुडले टाउको छोपेका एक व्यक्तिले रुसी भाषामा सम्बोधन गरेका छन् ।

‘रुसी र हाम्रा मैत्रीपूर्ण मानिसलाई नमस्ते ! यतिबेला रुसी बैंक, मिडिया सर्भरसहित कैयौं क्षेत्रमा ह्याकिङ भएको भन्ने गतल सूचनाले इन्टरनेट भरिएको छ’, एनोनिमसलाई किलनेटको सन्देशमा भनिएको छ, ‘तर यसले कुनै पनि मानिससामू खतरा सिर्जना गरेको छैन । यो शब्दले भरिएको बमबाहेक केही होइन । इन्टरनेटमा आउने गलत सूचनाप्रति ध्यान नदिनुहोला । आफ्नो मुलुकबारे कुनै शंका नराख्नु होला ।‘

त्यस्तै, किलनेटको भिडियोमा ‘यो द्वन्द्व चाँडै नै अन्त्य हुनेछ र हामीले शान्ति पाउने छौं’ समेत भनिएको छ ।
एनोनिमसले केही दिनअघि रुसका सरकारी र मिडियाका वेभसाइट बन्द गरिदिएको दाबी गरेको थियो । गत बिहीबार एनोनिमसको नाममा रहेको ट्विटर अकाउन्टमा ‘रुसी सरकारविरुद्ध औपचारिक रुपमै युद्ध सुरु गरेको’ उल्लेख थियो ।
त्यसदिन रुस सरकार, क्रेमलिन, रक्षा मन्त्रालय र रसिया टुडेका वेभसाइट प्रभावित भएका थिए । साइबर हमलापछि दिनभर केही वेबसाइट सुस्त बनेको र केही पूरै बन्द भएका थिए ।

‘हरामी पुटिन… हामी युक्रेनका जनताको पक्षमा छौं… हाम्रो संख्या ठूलो छ’, एनोनिमससँग सम्बन्धित एक अकाउन्टमा भनिएको थियो, ‘पुटिनको सत्तामा ज्यान गुमाएका मानिसलाई कहिल्यै भुल्ने छैनौं । हाम्रो हमलापछि पुटिनको अपराधी सत्तालाई पहिलाकै अवस्थामा फर्किन निकै कठिन हुने छ ।’

‘एनोनिमस’ कुनै केन्द्रीय पदसोपान वा नेतृत्व नभएको एउटा विकेन्द्रिकृत समूह हो । उक्त समूहले यसअघि अमेरिकी सरकार, सीआईए, इस्लामिक स्टेटलगायत वेबसाइटमाथि साइबर हमला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?