+
+

आफैंले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १०:५०

२० फागुन, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।

सरकारले बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ । सरकारले बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५-५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको हो ।

पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ ।

२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाए यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर २५ रुपैयाँले बढिसकेको छ । २७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२५ र डिजल १०८ रुपैयाँ प्रतिलिटर थियो । लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गरेका हुन् ।

सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पेट्रोलियमको मूल्य समायोजनको समयको तुलनामा प्रतिलिटर २५ रुपैयाँ महँगिएकाले गाडी चलाउँदाको लागत उठ्न छाडिसकेको दावी गर्छन् ।

‘भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुन्छ, त्यही चिज २५ रुपैयाँ महंगो हुँदा उही दरमा भाडा राखिरहँदा गाडी कसरी चल्न सक्छ ?’ उनले भने,’५ रुपैयाँ घटबढ हुँदा नै भाडा समायोजन गर्ने सरकारी व्यवस्था छ, तुरुन्तै भाडा समायोजन वा मूल्यवृद्धि फिर्ता नभए हामी आफैं बढाउँछौं ।’

सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाको दावी छ । उनका अनुसार सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिन्छ ।

‘निगमले अझै महिनामा ५ अर्ब घाटा देखाइरहेको छ, यसले मूल्य अझै बढ्ने देखिन्छ,’ सिटौला भन्छन्,’मूल्य घटाउन नसक्ने भए सरकारले भाडा समायोजन नै गनुपर्छ ।’

महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक-पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा थप बिगार्ने गरी मूल्य बढाइरहेको गरिरहेको सिटौलाको आरोप छ ।

‘सरकारले कर घटाउने हो भने र सार्वजनिक सवारीलाई ख्याल गरेर नीति बनाउने हो भने मूल्यवृद्धिको असर उपभोक्ता र व्यवसायीलाई पर्दैनथियो,’ सिटौलाले भने,’वैज्ञानिक तवरमा भाडा समायोजन नभए हामी व्यवसायबाट पलायन हुने अवस्था आउँछ ।’

कोरोना कहरको चपेटामा परेका आम यातायात व्यवसायीहरुले बैंक व्याज किस्ता बुझाउन नसकेको अवस्थामा पेट्रोलियम पदार्थ पटक-पटक मूल्यवृद्धिले ठूलो समस्या परेको महासंघले जनाएको छ ।

मूल्यवृद्धि फिर्ताका लागि महासंघले पटक पटक ध्यानाकर्षण गराएपनि उपभोक्ता वर्गलाई पर्ने असरलाई समेत वेवास्ता गरी सोही क्रम जारी राख्दा समस्या भएको महासंघको निष्कर्ष छ ।

महासंघले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै फागुन २५ गतेभित्र मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो । सरकारबाट बढेको मूल्य फिर्ता नलिए र भाडा समायोजन नगरे बढेको मूल्यमा आधारमा महासंघले नै बाध्य भएर भाडा समायोजन गर्ने महासचिव सिटौलाले चेतावनी दिए ।

११ फागुनमा व्यवसायीले निकालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?