
२० फागुन, काठमाडौं । सरकारी छात्रवृत्तिमा पोखराको मणिपाल मेडिकल कलेजबाट २०६६ सालमा एमबीबीएस पूरा गरेपछि विष्णुरथ गिरी दुई वर्षे अनिवार्य सेवाको लागि ताप्लेजुङ जिल्ला अस्पताल पुगे । युनाइटेड स्टेट्स मेडिकल लाइसेन्स एक्जामिनेसन (युएसएमएलई) दिने सोचमा रहेका उनी त्यसका लागि चाहिने पुस्तकहरू पनि लिएरै ताप्लेजुङ उक्लिएका थिए ।
ताप्लेजुङमा काम गर्दा देशको स्वास्थ्य सेवाको अवस्थाबारे बुझ्ने अवसर पाए । जिल्लाभरका एकमात्र एमबीबीएस डाक्टर उनले निमुखा वर्गको पीडा देखे । तर, सर्जरी गर्नुपर्ने बिरामीलाई धरान रेफर गर्नुका कुनै विकल्प पनि थिएन ।
काम गर्दागर्दै लोकसेवा आयोगमा नाम निस्कियो । स्थायी भएपछि डा. गिरी अमेरिका जाने विचार त्यागेर बिरामीको सेवामा केन्द्रित भए । सुविधायुक्त अस्पताल जान नसक्ने कैयौं बिरामी बचाए । विकल्पविहीन बिरामीलाई निको पार्दा उनीहरूमा देखिने खुसीले उनलाई सेवामा प्रेरित गरिरह्यो ।
सरकारी सेवामा रमाइरहेका डाक्टर
दुई वर्षका लागि गएका डा. गिरी तीन वर्ष ताप्लेजुङ बसे । २०६९ सालमा काठमाडौं फर्किएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट पेडियाट्रिक मेडिसिनमा एमडी गरेका उनले कान्ति बाल अस्पतालमा काम गर्ने अवसर पाए ।
कान्तिमा काम गर्दागर्दै बालबालिकामा हुने क्यान्सर रोगबारे एक वर्षे अध्ययनको फेलोसिप पाएर भारत गए । भारतको भेलोरबाट फर्केपछि सरकारी अस्पताल कान्तिमै निरन्तर कृयाशील छन्, डा. गिरी ।
स्रोतसाधनको अभावबीच कान्तिमा अहोरात्र खटिएका उनी निजी अस्पताल वा क्लिनिक धाउँदैनन् । अस्पतालबाट बचेको समयमा उनी विश्व स्वास्थ्य संगठनको सहयोगमा नर्सलाई तालिम दिने, उपत्यका बाहिरका सहरहरूमा बाल क्यान्सर उपचारको लागि स्टालाइट केन्द्रको स्थापना गर्नेजस्ता काममा जुट्छन् ।
डा. भगवान कोइरालालाई रोलमोडल मान्ने बाल क्यान्सर रोग विशेषज्ञ गिरी भन्छन्, ‘उहाँले सरकारी सेवामा रहँदा निजीमा प्राक्टिक्स गर्नुभएन । त्यसले मलाई पनि सरकारी सेवामा रमाउन हौसला मिल्यो ।’ भेलोरको सिस्टमबाट पनि आफू निकै प्रभावित भएको उनी बताउँछन् । उनका अनुसार, भेलोरका सरकारी डाक्टरहरू निजी प्राक्टिसको साटो अनुसन्धान गर्छन् ।
उनका अनुसार निजी अस्पतालहरूले बाल स्वास्थ्य सेवाको ठूलो भार घटाएको छ । ‘पैसा खचिर्न सक्ने वर्गलाई निजीले सेवा दिएर स्वास्थ्य सेवाको भार घटाएका छन्,’ उनी भन्छन्, ‘हाम्रो राज्य कमजोर हुँदा गरिबले सन्तोषजनक स्वास्थ सेवा पाएका छैनन् ।’ त्यस्तै, सरकारले घर धानिने गरी सेवासुविधा नदिएकै कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ संस्था धाउने गरेका उनी बताउँछन् । ‘सरकारी सेवामा रहेका अहिलेको पुस्ता बाहिर काम गर्न चाहँदैनन्’, उनी भन्छन्, ‘तर, आम्दानीका लागि निजी अस्पतालमा काम गर्नुपर्ने पारिवारिक आवश्यकता र बाध्यता छ ।’
बाल क्यान्सर निदान रोज्नुको कारण
बालबालिकालाई लाग्ने क्यान्सरको निदान सेवा नेपालमा डा. कैलाश शाह र डा. प्रकाशनिधि तिवारीले सुरू गरेका थिए । उनीहरू सरकारी सेवाबाट विदा हुँदै गर्दा डा. गिरी र डा. सुधीर सापकोटा न्याम्समा एमडी गरिरहेका थिए । दुवैले बाल क्यान्सर रोग फेलोसिप पाए र डा. गिरी अहिले कान्तिमा बाल क्यान्सर रोग विशेषज्ञ छन् ।
त्यसबेला नेपालमा अस्पताल आएका क्यान्सर पीडित बालबालिकामध्ये ४० प्रतिशत निको हुने गरेका थिए । दुई वर्ष अगाडिको कान्तिको तथ्याङ्क हेर्दा ६८ प्रतिशत निको भएको देखिन्छ । हरेक वर्षको नतिजा सुधारोम्मुख रहेको डा. गिरी बताउँछन् । उनका अनुसार, विकसित देशहरूमा बालबालिका क्यान्सरमुक्त हुनेदर ९० प्रतिशत पुगिसकेको छ ।
‘स्वास्थ सेवाको गुणस्तर उपकरण, जनशक्ति, स्वास्थ्य बीमाजस्ता कुरामा निर्भर हुन्छ,’ डा. गिरी भन्छन्, ‘यसको लागि नेपाल सरकारले स्वास्थ्यमा लगानी निकै बढाउनुपर्छ । बिरामीले उपचारमा घर-जग्गा नै बेच्नपर्ने बाध्यता पनि हटाउनुपर्छ ।’
डा. गिरी अस्पतालमा रोग पत्ता लगाएर मात्र डाक्टरको कर्तव्य पूरा नहुने मान्छन् ।
विकल्पविहीन बिरामी मात्र सरकारी अस्पताल आउँछन् भन्ने मनमा राखेका उनी भन्छन्, रोग पत्ता लगाएपछि उपचार खर्च नथेग्ने बिरामीको आर्थिक अवस्था बुझ्दा निकै पीडा हुन्छ ।’
सरकारले क्यान्सर रोग उपचारका लागि एक लाख रुपैयाँ दिने गरेको छ । तर, क्यान्सर उपचार महँगो हुने भएकाले त्यसले धान्दैन । ‘५ वर्षको बालबालिकाको क्यान्सर निको पार्दा ७० वर्ष नयाँजीवन थपिन्छ । यसमा सरकारको ध्यान जाओस्’, डा. गिरी भन्छन्, ‘स्वास्थ्य उपचार नपाएर नागरिकको मृत्यु हुन्छ भने सरकार भएको कुनै औचित्य रहँदैन ।’
हाल वार्षिक एक हजार ५०० क्यान्सरका नयाँ बिरामी थपिने अनुमान छ । तर, उपचारका लागि अस्पताल पुग्नेको संख्या ५०० पनि पुग्दैन । अरूलाई पनि उपचारको दायरामा ल्याउने हो भने धेरैलाई बचाउन सकिन्छ भन्ने डा. गिरीलाई लाग्छ ।
प्रतिक्रिया 4