+
+

एसियाली खेलकुदमा १४ खेल समावेश गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १७:४७

२० फागुन, काठमाडौं । चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालबाट १४ खेलको सहभागिता उचित हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित हाइ पर्फर्मेस कमिटीले सुझाव दिएको छ ।

राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनापछि शुक्रबार निमित्त सदस्यसचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

१९औं एसियाली खेलकुद आगामी सेप्टेम्बरमा चीनको ह्वाङझोउमा हुँदैछ । कमिटीको प्रतिवेदनमा तीन चरणको तयारी गरी १४ खेलका खेलाडीलाई चीन पठाउँदा उचित हुने उल्लेख छ । संयोजक विकका अनुसार १३ औं दक्षिण एसियाली खेलकुद र केहि खेलको पछिल्लो समयको प्रदर्शनका आधारमा खेल संख्या सिफारिस गरिएको जानकारी दिए ।

‘१३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका खेलहरु र पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका महिला भलिबल, ब्याडमिन्टनलगायतका खेलसमेत समेटेर १४ खेलको सहभागिता उचित हुने भनेका हौं,’ विकले अनलाइनखबरसँग भने, ‘त्यसबाहेक १३औं सागमा रजत र कांस्य जितेका खेलहरु प्राथमिकतामा पर्नेछन् । ती खेलहरु समावेश गर्दा तयारी र सहभागिताको खर्चसमेत मूल्यांकन गरिएका छौं ।’

१३औं दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलबाट ५१ स्वर्ण जितेको थियो । त्यसबाहेक यही वर्ष नेपालको महिला भलिबल टोलीले सेन्ट्रल जोन भलिबलको उपाधि जितेर फर्किँदा विमानस्थलमा स्वागत गरी खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टिमलाई एसियाली खेलकुदमा सहभागी गराइने घोषणा गरेका थिए । त्यसबाहेक ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका प्रिन्स दाहालको सहभागिता पनि आवश्यक हुन सक्छ ।

हाइ पर्फर्मेस कमिटीले राष्ट्रिय टोलीको प्रशिक्षणमा तीन चरण उपाय अपनाएर एसियाली खेलकुदको तयारी गर्नुपर्ने सुझावसमेत दिएको छ । एसियाली खेलकुदमा समावेश इभेन्टका लागि राखेपबाटै खर्च उपलब्ध गराउने गरी राष्ट्रिय छनोट आयोजना गर्ने र छानिएर आएकाहरुलाई तीन चरणमा बन्द प्रशिक्षणमा राख्नुपर्ने सुझाव प्रतिवेदनमा छ । नवौं राष्ट्रिय खेलकुद समयमा नहुने भएपछि यो विकल्प पेश गरिएको हो ।

‘छनोटमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पहिलो चरणमा समावेश गरिने । दोस्रो चरणमा एकजनालाई निकालेर तयारी गरिने । त्यहाँबाट एकजना उत्कृष्ट छानेर बैदेशिक प्रशिक्षण, अभ्यासमा सहभागी गराएर सेप्टेम्बरमा एसियाली खेलकुद आयोजना गर्ने गरी सुझावसहितको प्रतिवेदन बुझाएका हौं,’ विकले भने ।

टंकलाल घिसिङले राखेप सदस्यसचिवको नियुक्ति लिएलगत्तै मंसिर २४ मा विकको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन भएको थियो । कमिटीले प्रतिवेदन तयार गरे पनि एक साता नवित्दै सर्वोच्च अदालतको आदेशबाट राखेप कार्यकारी नेतृत्वविहीन भएपछि समितिले प्रतिवेदन बुझाउन सकेको थिएन ।

युवा तथा खेलकुद मन्त्रालयले फागुन ४ गते राखेप कर्मचारी कुलबहादुर थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएपछि प्रतिवेदन बुझाइएको हो ।

समितिका संयोजक विकले एसियाली खेलकुदको समय नजिकिँदा राष्ट्रिय टिम तयारी ढिला भइसकेको बताए । ‘हामीले जिम्मेबारी पाएलगत्तै काम सम्पन्न गरेका थियौं । त्यतिबेलैदेखि कार्यान्वयन हुन पाएको भए अहिलेसम्म राष्ट्रिय टिम तयार गरी प्रशिक्षण सुरु भइसकेको हुन्थ्यो । अब त ढिला भइसकेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?