२० फागुन, काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला ‘गियर चेन्ज’ गर्ने प्रक्रियामा छ । टी–२० विश्वकप छनोट हुन असफल भएर स्वदेश फर्किएलगत्तै टिम सन् २०२३ मा भारतमा हुने एकदिवशीय विश्वकप छनोटको प्रारम्भिक प्रक्रिया मानिने लिग टूको तयारीमा जुट्नु परेको छ ।
चैत १ देखि ८ गतेसम्म युएईमा लिग टू अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक श्रृंखला हुँदैछ । त्यसअघि नेपाल टिमले एक साता श्रीलंकामा अन्तिम तयारी गर्नेछ । नेपाल टिम त्यतैबाट युएई जानेछ ।
नेपालले श्रीलंकामा प्रथम श्रेणीको टिमसँग चारवटा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा हुने तयारीले युएईमा हुने लिग टूको म्याचका लागि फाइदा पुग्ने विश्वास कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् ।
‘तयारी र प्रतियोगिता गरी लामो समय २० ओभरको क्रिकेट खेलेपछि हामी ५० ओभरको क्रिकेटमा फर्कनु आवश्यक छ । श्रीलंकली स्तरको क्रिकेट खेल्नु हाम्रो मुख्य प्राथमिकता हो । लिग टू सिरिज लामो साइकलको रुपमा छ,’ शुक्रबार बिदाई कार्यक्रममा प्रशिक्षक पुबुदु दासानायकेले सञ्चारकर्मीसँग भने ।
ओमानमा विश्वकप छनोटमा नेपाली टिमको बलिङ सल्लाहकार प्रशिक्षकका रुपमा रहेका धम्मिका प्रसादले यो खेलका लागि समन्वय गरेको बताउँदै पुबुदुले त्यहाँ स्तरीय क्रिकेट खेल्न पाउने विश्वास व्यक्त गरे । उनले श्रीलंकाको फस्ट क्लास क्रिकेटको सिजन सुरु भएकोले नेपालले खेल्ने टिममा कस्ता खेलाडी हुन्छन् अहिले नै थाहा नहुने बताए ।
सन् २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा छनोट गराएका प्रशिक्षक पुबुदु दोस्रो कार्यकालका लागि नेपाल आउँदा सुरुमै नेपाललाई फेरि टी–२० विश्वकपमा छनोट गराउने लक्ष्य राखेका थिए । तर, ओमानमा भएको ग्लोबल क्वालिफायर ए को सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको सपना यसपल्टका लागि अधुरै रह्यो ।
विश्वकप छनोटको लक्ष्यमा असफल हुँदाको असरबाट नेपाली खेलाडी अझै उत्रिन सकेका छैनन् । तर, अब त्यसलाई बिर्सेर नेपाली टोली नयाँ प्रतियोगिताको लागि तयार हुनुपर्ने बेला आएको छ ।
नेपालको अबको ध्यान युएईमा अर्को महिना हुने लिग–२ शृंखलामा छ । नेपालले युएई र पीएनजीसँग २–२ खेल खेल्नेछ । एकदिवसीय विश्वकप छनोटको लागि आधार रहेको लिग–टू मा नेपालल यसअघि जम्मा दुई वटा मात्र त्रिकोणात्मक सिरिज खेलेको छ । त्यसैले पनि नेपालका लागि टी–२० बाट सीधै एकदिवसीय फर्म्याटमा खेल्न चुनौती देखिएको छ ।
‘हामी टी–२० खेलेर आयौं । अब नयाँ फर्म्याटमा सिफ्ट हुनुपर्नेछ । तर, टी–२० नखेलेका खेलाडीहरूले पनि नेपालमा तयारी गरिरहनुभएको छ,’ नेपाली कप्तान सन्दीप लामिछानेले भने, ‘ओमानमा एउटा खराब दिन भयो । अहिले समग्रमा टिम राम्रो लयमा छ । लिग टू को तयारीमा लागि श्रीलंकामा गएर चार म्याच खेल्नेछौं । मेरो विचारमा मुख्य प्रतियोगिता खेल्नुअघि यसले हामीलाई राम्रो एक्स्पोजर दिनेछ ।’
लिग २ का लागि सन्दीपकै कप्तानीमा १६ सदस्यीय टोली घोषणा भइसकेको छ । नयाँ अनुहार नभए पनि एकदिवसीयमा डेब्यु गर्न बाँकी तीन खेलाडी छन् । ओमान भ्रमणबाट टी–२० आईमा डेब्यू गरेका विवेक यादव र सागर ढकालसँगै नेपालको लागि डेब्यु गर्न बाँकी भीम सार्की यसपल्ट अन्तर्राष्ट्रिय क्रिकेटका लागि सबैभन्दा कम अनुभवी खेलाडी हुन् ।
ओमान टुरबाट टी–२० को कप्तानी गरेका सन्दीप एकदिवसीयमा पनि सोही जिम्मेवारी पाएका छन् । सन्दीपले टी–२० बाट एकदिवसीयमा आउँदा केही फरक हुने भए पनि खेलाडी त्यसका लागि तयार हुनुपर्ने बताए ।
‘अलि–अलि चुनौती त भइहाल्छ । तर व्यावसायिक खेलाडी भइसकेपछि हरेक कुराका लागि तपाईं तयार हुनुपर्छ । भोलि टेष्ट क्रिकेट खेल्नु छ भने चुनौतीका लागि तयार हुनैपर्छ,’ कप्तान सन्दीपले भने, ‘फर्म्याट फरक भए पनि टिम सन्तुलित छ । करण र सोमपाल टिममा फर्किनुभएको छ । ५० ओभरको लागि हाम्रो ब्याटिङको मध्यक्रम पनि राम्रो छ ।’
ओमानमा टी–२० विश्वकप छनोट खेलेको टिममा यस पटक धेरै परिवर्तन छ । चोटका कारण विश्वकप छनोट गुमाएका सोमपाल र करण एकदिवसीय टिममा फर्केका छन् । यस्तै गत सेप्टेम्बरमा ओमानमै भएको लिग टू सिरिजबाट एकदिवसीय खेलमा डेब्यु गरेका विक्रम सोब पनि टिममा पर्किएका छन् ।
विश्वकप छनोटको टिममा नरहेका विनोद भण्डारी, रोहितकुमार पौडेल, पवन सर्राफ पनि यसपल्ट टिममा छन् । विश्वकप छनोट खेलेका कप्तान सन्दीपसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, कमलसिंह ऐरी, विवेक यादव र सागर ढकालले टिममा निरन्तरता पाएका छन् ।
करण, सोमपाल, रोहित, विनोद र भीम आएपछि नेपालका लागि मध्यमक्रमको ब्याटिङमा सन्दीपले भनेजस्तै विकल्प हुन सक्छ । प्रशिक्षक पुबुदुले टी–२० र एकदिवसीय फर्म्याटका लागि केही खेलाडीहरू फरक हुने बताए । ‘६० प्रतिशत खेलाडीले दुवै फर्म्याट खेल्नेछन् । तपाईंले ३०/४० प्रतिशत खेलाडी परक पाउनुहुनेछ,’ उनले थपे ।
एकदिवसीय फर्म्याटमा अभ्यस्त हुन श्रीलंका जाने नेपाल नेपाली टिमलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विदाई गरे । मन्त्री गहतराजले टी–२० विश्वकपमा छनोट हुन नसके पनि एउटा सिकाइ मिलेको भन्दै आगामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्न मनोबल उच्च बनाउनुपर्ने बताए ।
प्रतिक्रिया 4