+
+

विदेशबाट उच्चस्तरीय भ्रमण हुँदैछ : परराष्ट्रमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १५:२५

२३ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका हुन् ।

तर भ्रमण कसको हुने भन्ने कुरा चाहिं समय आएपछि मात्रै जानकारी गराउने उनको भनाइ छ । ‘उच्चस्तरीय भ्रमण राष्ट्रप्रमुख र प्रधानमन्त्रीकै हुन्छ । त्यो चाहिं समय आएपछि यहाँहरुलाई जानकारी हुन्छ नै । अहिले नै भन्दा पनि त्यसलाई खास समयमा हामीहरुले यहाँहरुलाई जानकारी गराउनेनै छौं’ मन्त्री खड्काले भने ।

उनले चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र छिट्टै खुल्ने विश्वास रहेको समेत बताए । चीनका विदेशमन्त्री वाडसँग सो नाका खुलाउनका लागि आफूले करिव १ घण्टा टेलिफोन संवाद गरेको उल्लेख गर्दै उनले नाका खुल्नु दुवै देशको हितमा हुने बताए ।

मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने धारणा राखे । उनले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दावी गरे ।

‘एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि जुनखालको हमला भयो । यसले विश्व शान्ति खल्बलियो । संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम हामी एउटा सदस्य राष्ट्र हौं । र, यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै, हामीहरुले वक्तव्य पनि जारी गर्‍यौं । र, त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो’ उनले भने, ‘सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसाबले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो ।’

मन्त्री खड्काले अहिलेको सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि दावी गरे । आफ्नो साढे पाँच महिनाको कार्यअवधिको समीक्षा गर्दै नले भने ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लिडर समिटमा प्रधानमन्त्रीलाई स्थान दिनुभएको थियो । त्यो समिटले नेपालको भूमिका पहिचान गराउने कार्य भएको छ ।’

संयुक्त राष्ट्रसंघमा नेपालको उपस्थिति बलियो हुँदै गएको पनि मन्त्री खड्काको दाबी छ । त्यस्तै ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको खड्काले जानकारी गराए ।

अफगानिस्तानको मानवीय संकटमा सहयोग पुर्‍याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको मन्त्री खड्काले दाबी गरे ।

बेलायतमा भूपू गोर्खाको मुद्धा उठान भएको, हराएका पूरातात्विक सामग्री फिर्ता ल्याइएको र ईपासपोर्ट वितरण आफ्नो कार्यकालको सफल काम भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?