+
+
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष :

के हामी महिलाप्रतिको पूर्वाग्रह त्यागिरहेका छौं ?

समाजमा व्याप्त पूर्वाग्रहलाई नतोडिकन समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण हुन सक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ। यसका लागि हामी पूर्वाग्रह, रुढीवाद र भेदभावबाट मुक्त संसारको परिकल्पना गर्न चाहन्छौं, जहाँ समानताले एक जीवन–मूल्यको रूपमा समाजलाई निर्देशित गरोस्।

प्रो. नीलिमा गुप्ता प्रो. नीलिमा गुप्ता
२०७८ फागुन २४ गते १०:०४

विश्वमा महिलाको संघर्ष, मानवीय मूल्य र आदर्शप्रतिको समर्पणलाई विश्वस्तरमा अनुकरणीय बनाउन हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

वास्तवमा यो महिलाको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक उपलब्धिको उपज हो। महिला दिवसलाई ऐतिहासिक सन्दर्भमा मनाउने सुरुवात औद्योगिक क्रान्तिसँग जोडिएको छ, जहाँ विश्वभरका उद्योगहरूको विकासले महिलाहरूलाई आत्मनिर्भर र स्वतन्त्र बनाउनुको सट्टा नयाँ आर्थिक संरचनामा जकड्न थाल्यो। सन् १९११ मा पहिलो पटक अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा १९ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो।

रूसले सन् १९३० देखि १९४० को बीचमा २३ फेब्रुअरीमा यो दिवस मनाएको थियो। संयुक्त राष्ट्रसंघले आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा मनायो, जुन विश्वव्यापी रूपमा स्वीकार गरिएको थियो। अन्तर्राष्ट्रिय महिला दिवस केही देशमा सार्वजनिक बिदा दिएर मनाइन्छ।

महिला दिवस र समाज
महिला दिवस आफ्नो विकासक्रममा एकातिर समाजमा विद्यमान विषम, हिंस्रक र अलोकतान्त्रिक संरचनाको प्रतिरोधको वैचारिक प्रतिबद्धता हो भने अर्कोतर्फ महिलाले गरेका संघर्ष, उनीहरूका उपलब्धि र संसारलाई उत्तम बनाउनका लागि गरिएको योगदानको स्मरण गर्ने दिन पनि हो।

आज विश्वका प्रायः सबै देशमा लैङ्गिक समानताको कुरा गरिन्छ तर राष्ट्रहरूले ठूलै प्रगति गरे पनि यो विचार सपना नै बनेको छ। विश्वव्यापी आर्थिक सुधारका बावजुद करिब ६० प्रतिशत महिला आर्थिक रूपमा कमजोर छन् र आगामी दिनमा यो अवस्था अझ भयावह बन्न सक्छ।

तथ्याङ्कले महिला र पुरुषको आम्दानीमा ठूलो असमानता रहेको देखाएको छ। महिलाले पुरुषको तुलनामा २३ प्रतिशत कम कमाउँछन्। जनसंख्याको हिसाबले हेर्ने हो भने विश्वको जनसंख्याको आधा हिस्सा महिला छन् भने महिलाको राजनीतिक सहभागिता २४ प्रतिशत मात्रै छ।

यो पनि चाखलाग्दो छ कि उत्तरकोरियामा महिला साक्षरता दर शतप्रतिशत छ (यद्यपि त्यहाँको बन्द राजनीतिक प्रणालीका कारण यो तथ्यांकको स्वतन्त्र पुष्टि हुनसकेको छैन)। पोल्याण्ड, रुस र युक्रेनमा ९९.७ प्रतिशत, इटालीमा ९९, सर्बियामा ९७.५, चीनमा ९५.२ र श्रीलंकामा पनि ९१.० प्रतिशत छ भने भारतमा ६५.८ प्रतिशत छ। केही छिमेकी देशहरूमा महिला साक्षरता दर अझ कम छ। जस्तो कि पाकिस्तानमा ४६.५, अफगानिस्तानमा २९.८, चाडमा १४ र नाइजरमा ११ प्रतिशत छ।

त्यसैगरी नेपालमा महिला श्रमशक्ति सहभागिता दर ८१.४, भियतनाममा ७२.७३, सिंगापुरमा ६१.९७, बेलायतमा ५८.०९, अमेरिकामा ५६.७६, सर्बियामा ४७.९२ प्रतिशत छ भने गाउँमा आधारित देश भएर भारतमा यो दर केवल २०.७ प्रतिशत मात्रै छ। त्यसैले अन्तर्राष्ट्रिय महिला दिवस, भारतमा महिलाहरूको स्थिति माथि उठाउनका लागि जागरूकता, प्रयास र श्रम प्रेरणाको आह्वान गर्दछ।

अन्तर्राष्ट्रिय महिला दिवस-२०२२ र लक्ष्य
अन्तर्राष्ट्रिय महिला दिवस-२०२२ को नारा ‘ब्रेक द बायस’ अर्थात् पूर्वाग्रह तोड्ने हो। समाजमा व्याप्त पूर्वाग्रहलाई नतोडिकन समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण हुनसक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ। यसका लागि हामी पूर्वाग्रह, रुढीवाद र भेदभावबाट मुक्त संसारको परिकल्पना गर्न चाहन्छौं, जहाँ समानताले एक जीवन–मूल्यको रूपमा समाजलाई निर्देशित गरोस्।

यस्तो संसार लैङ्गिक समानताको संसार हुनेछ। हामी सँगै मिलेर महिला समानता विद्यमान समाज निर्माण गर्न र सामूहिक रूपमा भेदभावलाई निर्मूल गर्न सक्छौं। आजको परिदृश्यले देखाउँछ कि हामी सबै हाम्रो विचार र कामको लागि जिम्मेवार छौं।

हामीले हाम्रो समुदाय, कार्यस्थल, हाम्रा विश्वविद्यालय, कलेज र विद्यालयहरूमा रहेका पूर्वाग्रहहरू तोड्नुपर्छ। यस अन्तर्राष्ट्रिय महिला दिवस र त्यसपछिका दिनमा यो पूर्वाग्रह तोड्ने संकल्प गरौं। पूर्वाग्रह चाहे अचेतन होस् वा जानाजानी, यसले महिलाहरूलाई अगाडि बढ्न गाह्रो बनाउँछ।

पूर्वाग्रहको उपस्थिति महसुस गरेर मात्र पुग्दैन। प्रत्येक अवसरमा हामीले लैङ्गिक पूर्वाग्रह, भेदभाव र रुढिवादिता तोड्नका लागि कदम चाल्नुपर्छ।

यो वर्ष ‘ब्रेक द बायस’ पूर्वाग्रह उन्मूलन, रुढीवाद तोड्ने, असमानता र भेदभाव अन्त्य गर्ने प्रतिबद्धता देखाउने प्रतीकात्मक ‘रूपक’ हो। समाजमा परिवर्तन ल्याउनका लागि हामीले चुनौतीलाई स्वीकार गर्नुपर्छ र महिलाका उपलब्धिलाई महत्व दिनका लागि पहलकदमी लिनुपर्छ। लैंगिक समानताको चेतना अभिवृद्धि गर्नका लागि महिलाकेन्द्रित विकासका लागि पनि आवश्यक पहलकदमी लिनुपर्छ।

उल्लेखनीय कुरा के छ भने कोभिड–१९ को समयमा विश्वभरका स्वास्थ्यकर्मीको करिब ७० प्रतिशत महिलाहरू थिए। आज महिलाले सबै चुनौती, जिम्मेवारी आदिलाई पूर्ण समझदारीका साथ सामना गरिरहेका छन्। आजको आवश्यकता के छ भने महिलाहरू प्रतिभाशाली छन्, उनीहरू उपलब्धि हासिल गर्न र जीवनका सबै क्षेत्रमा सफल हुनसक्छन् भन्ने कुरालाई हामीले स्वीकार गर्ने हो।

वास्तवमा, यो तब मात्र सम्भव हुनेछ जब महिलाले आफूलाई पुरुषभन्दा कम आँक्दैनन्। आफूहरू पुरुषभन्दा कुनै पनि हिसाबले कम छैनौं, आफू आफ्नो अधिकार र समानता, निष्पक्षताको सन्तुलनका लागि काम गर्न सक्छौं भन्ने बुझ्नुपर्छ। अगाडि बढ्नका लागि दृढ संकल्पित महिलाभन्दा शक्तिशाली कोही पनि छैन।

इतिहास, समय र महिला

इतिहासलाई हेर्ने हो भने विभिन्न क्षेत्रमा धेरै महिलाले सम्मान पाएका छन्। मेरी क्युरीलाई सन् १९०३ मा भौतिकशास्त्रको नोबेल पुरस्कार र सन् १९११ मा रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनकी छोरी आइरेन क्युरीलाई पनि सन् १९३५ मा रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

नि:सन्देह इतिहासमा धेरै महिलाले पूर्वाग्रह तोडेर सफलताको चुचुरोमा पुगेका छन् तर धेरैभन्दा धेरै महिलाले यस्तो यात्रा तय गर्नुपर्नेछ।

वास्तवमा, अन्तर्राष्ट्रिय महिला दिवस चेतना र जागरुकतासँग जोडिएको, प्रतिबद्धताको, भेदभावलाई अस्वीकार गर्ने र असमानता हटाउन महिलालाई समान क्षेत्रमा ल्याउने दिन हो, जहाँ हरेक महिला सम्मानित, आत्मविश्वासी र आत्मनिर्भर बनून्।

यस अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीको मर्यादा कायम राख्ने वाचा गरौं। उनीहरू हाम्रो देशको शक्ति हुन् र देशको अर्थतन्त्रलाई उकास्न उत्तिकै सक्षम छन्। मातृशक्तिको सशक्तीकरणले मात्र राष्ट्रको आत्मनिर्भरताको मार्गप्रशस्त हुनेछ।

(अमरउजालाबाट भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?