+
+
अन्तर्वार्ता :

‘ओखलमा टाउको हालेकै हो, जुनसुकै जोखिम स्वीकार्य छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते २०:४५

२६ फागुन, काठमाडौं । व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनसँगै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको बहस सुरु भएको छ । केन्द्रमै भागवण्डा मिलाउने वा तल्लो कमिटीहरुलाई सहमति गर्न दिने विकल्पहरुमा छलफल भइरहेको नेताहरु बताउँछन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पनि गठबन्धनमा आवद्ध दलहरुले स्थानीय निर्वाचन गठबन्धनका साथ जाँदैछौं भन्ने सन्देश दिइसकेको बताउँछिन् । उनी भन्छिन्, कांग्रेससहित गठबन्धन एकदम राम्रो । नभए वाम शक्तिहरुबीच गठबन्धन गर्न प्रयत्न गर्छौं । त्यो पनि भएन भने एक्लै चुनाव लड्न तयार छौं ।’

प्रस्तुत छ, एकीकृत समाजवादीका सचिव एवं शहरी विकासमन्त्री झाँक्रीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण गठबन्धन टुट्ने र पार्टी नै खारेज हुने अवस्था आएको थियो । पार्टी जोगिँदा ठूलो राहत मिलेको होला, होइन ?

एमसीसीका कारण दुर्घटना हुन्छ कि भन्नेमा चिन्तित थिइनँ । किनभने म एजेण्डामा धेरै राम्रोसँग प्रष्ट थिएँ । पार्टी अध्यक्ष र अरु नेताहरु पनि प्रष्ट हुनुहुन्थ्यो ।

एमसीसीमा जति विषयहरु उठेका छन्, ती विषयहरु फगत उठाउनका लागि उठाइएका हुन् । त्यहाँ केही भाष्यगत त्रुटीहरू, दोहोरो अर्थ लाग्ने अवस्था थियो । तर अर्थ मन्त्रालयले सोधेका ११/१२ वटा प्रश्नको स्पष्टीकरणमा क्लियर भयो । एक हिसाबले सबैलाई बुझ्ने अवसर बनेको थियो ।

तर सुरुदेखि जसले सही ढंगले बुझे, तिनीहरू आवश्यकता अनुसार आफ्नो प्ल्याटफर्ममा भनौंला भनेर बोलेनन् । जसले एमसीसीबारे कुरै बुझेनन्, तिनले नेगेटिभ कुराको ग्राउण्ड बनाए । उल्टो हावा चलिरहेको बेलामा किन बोल्ने भनेर सबै मान्छे छाला जोगाउनतिर लागेपछि पार्टीभित्र पनि विस्तारै एमसीसीविरोधी जनमत बन्ने स्थिति बन्यो, साथीहरूले मोर्चामार्फत विरोध प्रदर्शन गर्ने काम गर्नुभयो । त्यहाँसम्म जान हुने थिएन र त्यो गर्न हुने थिएन ।

तर हाम्रै पार्टीका साथीहरु सडकमा गएपछि धेरै मानिसलाई शंका लाग्ने अवस्था भयो । लामो समयदेखि काम गरिरहेका कारण पार्टीले एक ठाउँमा पुगेर निर्णय गर्छ भन्नेमा म चाहिँ आश्वस्तै थिएँ ।

पार्टी अध्यक्षसहित संसदीय दलमा रहेकाहरु साथीहरु आश्वस्तै थियौं । तर तल्लो पंक्तिलाई चाहिँ हामी विरोध गरिरहेका छौं । अब गठबन्धन धरापमा पर्छ कि भन्ने त्रास थियो ।

तर तपाईंहरुले साथ नदिएको भए एमसीसी पास गर्न कांग्रेसले एमालेसँग सहकार्य गर्नुपर्थ्यो। त्यसका लागि एमालेको शर्त तपाईंहरुको दलको १४ सांसदलाई कारबाही गर्नुपर्ने थियो । अर्थात कांग्रेस र एमाले मिल्दा तपाईंहरुको दल त संकटमा पर्थ्यो, होइन र ?

दोहोरो भूमिका निर्वाह गरेको भए हाम्रो पार्टी खारेज हुने कुरा त अनिवार्य जस्तै हुन्थ्यो ।

अब आउने चुनावमा पनि त तपाईंहरुको दलको अस्तित्व के होला भन्ने प्रश्न त छ नि ?

हाम्रो पार्टी चौथो ठूलो दल हो । केन्द्रसंगै ६ वटा प्रदेश सरकारमा आफ्नो प्रतिनिधित्व छ । थुप्रै गाउँपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्यहरुले सनाखत गरेर हाम्रो पार्टीमा आउनुभएको छ । निर्वाचन घोषणा भएपछि त्यो पार्टीले कारबाही गर्दैन भनेर अरु साथीहरु पनि हाम्रो पार्टीमा आइरहनुभएको छ । यसका बाबजुद ६ महिनाअघि मात्र पार्टी ब्रेक गरेर आएका हौं, जोखिम त रहन्छ ।

बहुदलीय प्रणालीमा जे अभ्यास गरेका छौं, यसमा पहिलो र दोस्रो ठूलो पार्टी भन्नेको अलि बढ्ता अस्तित्व हुने भएकाले तेस्रो, चौथो दलहरुलाई जहिल्यै सहज अवस्थाका लागि निरन्तर संघर्ष गर्नुपर्छ ।

त्यसमाथि निर्वाचनमा ठूलो पार्टी हुँ भन्नेहरुका लागि पनि जोखिम छ । नेपालमा हरेक निर्वाचन पटक रोटेपिङ जस्तो छ । एउटा पटक एउटा पार्टी ठूलो र अर्को पटक अर्कै पार्टी ठूलो हुने टेन्डेन्सी छ । त्यसैले कोही पनि चुनौतीरहित छैनौं ।

हिजो पार्टीे विभाजन गर्दा एमालेमा भएका नेता कार्यकर्ताबाट अपेक्षा गरिएअनुसार साथ पाउनुभएन । आएकाहरु पनि चुनावको मुखमा फर्किन थाले भन्छन् नि ? 

एमाले हाम्रो मदर पार्टी भयो । त्यो पार्टीको विचार, सिद्धान्त, संगठनात्मक संरचना, आन्दोलनको कल्चरमा हुर्किएकाले कयौं टेन्डेन्सीहरु उस्तै लिएर आएका छौं । भर्टिकल्ली एमालेभन्दा फरक हो भनेर बताउन सकिन्न र बताउने विषय पनि होइन । यसैले हाम्रो मतदाता र कार्यकर्तामा आउजाउ भइरहन्छ ।

तर एमाले पार्टी महाधिवेशनबाट जसरी आयो, त्यहाँभित्र अहिले जुन कल्चर छ । त्यसले एमाले निरन्तर भत्किँदो छ । सजिलै आउनेहरु एकीकृत समाजवादीमै आइरहनुभएको छ । समाजवादी पार्टी साना हुन्छ कि भन्ने शंका गर्नेहरु नेपाली कांग्रेस र माओवादी केन्द्रतिर जानुभएकाले एमालेको क्षयीकरण भएको छ ।

एमाले सानो हुनु भनेको तपाईंहरु बलियो हुनु होइन । त्यसैले गठबन्धनको बैशाखी खोजेको हो ?

एउटा एजेण्डामा गठबन्धन बनेको छ र यो गठबन्धन निर्वाचनसम्म जान्छ । गठबन्धनमा आवद्ध दलहरुले स्थानीय तहको निर्वाचन गठबन्धनका साथ जाँदैछौं भन्ने म्यासेज दिनुभएकै छ । यसो भन्दै गर्दा हामीले अडेस लाग्ने भनेको होइन ।

किनकी गठबन्धनमा रहँदा पनि चुनौतीरहित हुदैनौं । चुनौती छ भनेर रुवाबासी पनि गरेका छैनौं । कांग्रेससहित गठबन्धन हुँदा धेरै राम्रो । कांग्रेस भएन भने अरु वाम दलहरुसँग गठबन्धन गर्छौं । त्यो पनि भएन भने एक्लै सामना गर्छौं । हामीले ओखलमा टाउको हालेकै हो । बनिबनाउ, दुई तिहाई बहुमत भएको पार्टी भत्काएर आएकाले त्यो जोखिम सामना गर्न सक्छौं भन्ने आत्मविश्वास छ ।

निर्वाचनमा एक भोटले मात्र होइन, बराबरी हुँदा पनि (गोला प्रथाबाट) जीत–हार हुन्छ । त्यसैले सचेतकतापूवर्क कदम चाल्छौं, एजेण्डा मिल्नेलाई गोलबद्ध गर्दै जान्छौं । कसैले कमजोर भएर त्यसो गर्‍यो भन्ने सोच्छ भने त्यसलाई पनि स्वीकार गर्नुपर्‍यो ।

तर पार्टी विभाजन गर्ने बेला तत्कालीन एमालेमा तपाईंहरुको साथमा रहेका थुप्रै नेताहरु आउनुभएन । आएकाहरुमा पनि गठबन्धन नहुने हो भने त चुनाव जितिन्न कि भन्ने पर्न थालेको त देखिन्छ त ?

२ असोजमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियौं । ९ गते सनाखत भयो । त्यसयता हाम्रो पार्टीमा आएका कोही पनि फर्किएका छैनन् ।

तपाईंले भनेको जस्तै एमालेमा रहँदा साथमा रहेकाहरु छुटे । एमालेको नवौं महाधिवेशमा हाम्रो शक्ति ५० प्रतिशत हाराहारी थियो । नयाँ पार्टी बनाउँदा ती सबै आउनुभएन भन्ने सत्य हो । उहाँहरु किन आउनुभएन ? एमालेमै के गरिरहनुभएको छ ? त्यो अलग कुरा हो । फेरि हामीले उहाँहरुको भरमा पार्टी बनाउने होइन ।

हामी एउटा एजेण्डाका लागि लाग्यौं, एउटा मूल्यका लागि लाग्यौं । त्यसैले को आयो वा आएन भन्नेले हाम्रो यात्राको निर्धारण गर्दैन । त्यस्तै गठबन्धनमा हुने वा नहुने भन्नले हामी निर्वाचन होमिने वा नहोमिने भन्ने कुराको निर्धारण गर्दैन । यो सामना गर्न तयार भएर आएका हौं, जुनसुकै जोखिम स्वीकार्य छ ।

म दम्भ गर्दिन कि पुरै ठीकठाक छ, चुट्कीका भरमा सारा जित्छौं । तर हाम्रा लागि पनि पोलिटिकल स्पेस छ । हामी केही मूल्य, मान्यताका लागि लडेका थियौं, त्यसलाई एकहदसम्म स्थापित पनि गरेका छौं ।

अहिले आएर हाम्रो पोजिसन के हुन्छ भन्ने पूर्व अनुमानका आधारमा बाटो (चुनावमा जाने वा नजाने) तय गर्‍यौं भने हाम्रो यात्रा पनि स्वार्थ र कपटपूर्ण थियो भन्ने कुरा हुन्छ नि !

उसो भए गठबन्धन भए राम्रो, नभए एक्लै लड्न पनि तयार हो ?

कांग्रेससहित गठबन्धन एकदम राम्रो, सुविधाजनक पनि । कांग्रेससहित भएन भने माओवादी केन्द्र र जनता समाजवादी पार्टी र हाम्रो गठबन्धन पनि राम्रै हुन्छ ।

त्यो पनि भएन भने वाम तथा प्रगतिशील शक्तिहरुबीच गठबन्धन गर्न प्रयत्न गर्छौं । त्यो पनि भएन भने एक्लै चुनाव लड्न तयार ।

एक्लै लड्दा त २०५४ सालमा एमालेबाट फुटेर बनेको माले जस्तो होला नि ?

२०५४ सालमा तामझामका साथ पार्टी फुटायौं । तर ०५६ सालको चुनावमा जिरो सिट भयो । त्यसपछि हामीले त्यो पार्टी सर्भाइभ गर्न सकेनौं । तर अहिले हामी चुनावमा हारिएला भनेर अर्को कहाँ शरण खोज्ने होला भन्ने ठाउँमा छैनौं ।

त्यसको आधार के हो ?

संगठन नै आधार हो । हामीले देशभर संगठन गरेका छौं । निर्वाचन प्रणाली पनि पहिलेको भन्दा फरक छ । हामी सरकारमा पनि छौं । अलिअलि मान्छे यसरी पनि टिक्नेवाला छन् । बुझिहालिएको छ नि, राज्यसत्ताले मान्छेलाई कसरी टिकाउँछ भनेर ।

तर कांग्रेस र एमाले स्थापित पार्टी हुन् । माओवादी केन्द्र पनि त्यसका लागि सघर्षरत छ । तर तपाईंहरुको त पार्टी बनेकै ६ महिना मात्र भएको छ । यो बेलामा जित्ने सम्भावना नभई अरु पार्टीबाट उम्मेदवार ल्याउन पनि गाह्रो होला नि ?

स्थानीय चुनावमा पार्टी मात्र होइन, व्यक्ति (उम्मेदवार) पनि महत्वपूर्ण हुन्छ । लामो समयदेखि निष्टापूर्वक वाम आन्दोलनमा लागेका मान्छेहरु, जो विविध कारणले नवौं महाधिवेशनपछि एमालेको किनारामा परेका थिए, उनीहरु हाम्रो पार्टीमा छन् ।

स्थानीय तह र वडाहरुको हार जित डबल डिजिटको अन्तरमा हुने भएकाले पनि हामीलाई अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?