+
+

राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’, कृषिकर्ममा सफलता पाएको युवाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १९:०३

२७ फागुन, काठमाडौं । अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा हमालको अभिनय समेत रहेको गीत सार्वजनिक गरिएको हो ।

गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा हमाल ग्रामीण भेषभूषामा देखिएका छन् ।

रोजगारीका लागि विदेशिएको युवकले गाउँमा फर्किएर कृषिकर्मबाट हासिल गरेको सफलतालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा हमालसहित उत्तम केसी, गोविन्द भट्ट र एसके दाहालको अभिनय छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । विद्यालय जीवन सम्झँदै हमालले भने, ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योञ्जन हुनुहुन्थ्यो । ६ कक्षा पढ्ने बेलासम्म उहाँले अगाडि बोलाएर गाउन लगाउनुहुन्थ्यो । १० कक्षा पुग्ने बेलासम्ममा चाहिं खै के भयो स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिश नै गरेको थिइनँ । अहिले आएर गीत गाउने प्रयास गरेको हुँ ।’

हमालले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियो जस्तो यो गीत नभएको भन्दै तीन महिनाको मेहनतपछि गीत तयार भएको बताए । ‘गीत रचना हुनुअघिदेखि नै छलफल गरेर यो गीत तयार भएको हो । सम्पूर्ण नेपाल र नेपालीको कथा झल्किने गीतको चाहनामा पहिले देखि नै थिएँ,’ हमालले भने ।

हमालले अगाडि भने, ‘मेरो जीवनमा हलो जोतेको अनुभव नै त छैन । तर मैले जति पनि चलचित्रमा अभिनय गरेको छु ती सबैमा म कलाकार बनेर आम नेपालीले अपनाउने जीवनशैलीलाई नै अभिनयको औजार बनाएको छु ।’

काठमाडौंको मेयर बन्न इच्छा लागेको प्रसंगमा हमालले आफूले व्यंग्यात्मक रुपमा उक्त कुरा भनेको बताए । ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन । यसतर्फ कसैको ध्यानसमेत गएको छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ,’ हमालले प्रष्ट्याए ।

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिथि थियो । मधुले हमालको गायन क्षमता राम्रो रहेको भनेर आफूलाई पहिले थाहा नभएको बताइन् । साथै गीत गाउन आफूले हमालाई प्रेरित गरेको पनि उनले बताइन् ।

यसअघि हमालकै स्वरमा ‘मन बुढो भएन’ बोलको गीत सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?