
२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ भन्ने टुंगो पनि छैन, आफ्नै शक्तिमा चुनाव लड्ने गरी तयारी थाल्नुस्’ कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले भने ।
एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको प्रचण्डको दाबी छ । एमसीसीका कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता र व्यवस्थापिकामाथि हमला गरिदै थियो । तर, हामीले गर्दा त्यसो हुन पाएन,’ उनले भने ।
एमसीसीका कारण चर्चामा आएको गठबन्धन निर्वाचनसम्म रहने या नरहने अझै टुंगो नभए पनि निर्वाचनसम्म लैजाने प्रयास भने रहने अध्यक्ष प्रचण्डले बताए ।
प्रचण्डले भने, ‘केही मतभेदहरू भए पनि एउटै फोरमबाट निष्कर्षमा पुग्ने गरी अगाडि बढेका छौं ।’
प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाविरुद्ध माओवादी लडेर सफल भएको बताए ।
प्रतिक्रिया 4