+
+

‘कोमल हुन्छ बन्दुक बोक्ने हृदय पनि …!’

कवि अमृत क्षेत्रीको ‘एकान्त भिड’ लोकार्पण

विकास रोकामगर विकास रोकामगर
२०७८ फागुन २८ गते २०:०३

२८ फागुन, पोखरा । पोखरा तालतलैया, हरियाली वा उज्याला हिमश्रृङ्खला देखिने सहरमात्रै होइन । यो लाहुरेको सहर पनि हो । सहरको बीच भागमा उभिएर पत्थर फ्याँक्यो भने कुनै न कुनै लाहुरेको घरमा ठोक्किन्छ । तर, त्यो पत्थर अमृत क्षेत्रीको ढोकामा पुग्छ । पत्थर पग्लिँदै सोध्नेछ, के छ हालखबर ? सञ्चै ?

किनकी त्यो पत्थर एउटा ‘लाहुरे’को घरमा मात्रै ठोक्किन पुगेको हुँदैन । त्यो ठोक्किएको हुनेछ, एउटा कविसँग । कवि अमृत अर्थात् शालीनता र नरमपनाले भरिएको कवि ।

****

शनिबार साहित्यकार दीपक समीपले कवि अमृत क्षेत्रीका लागि यी शब्द खर्चिए । उनले चिनेजस्तै कवि अमृत क्षेत्रीको पहिलो परिचय नै शालीनता हो । कम बोल्छन्, नरम बोल्छन् । आफू बाँचिरहेको जीवन शैलीझैं शान्त र शालीन छन्, उनका कविताहरु पनि ।

लामो समय भारतीय सैनिक सेवा गरेपछि जागिरे जीवन टुंग्याउँदै स्वदेश फर्किएका छन् । यही फुर्सदको मौकामा नियालिरहेका छन्, कवि अमृत आफूलाई । पटक पटक आइरहने बन्दुक र कलमबीचको ‘सम्बन्ध’बारे प्रश्नको उत्तर खोजिरहेका छन् ।

तर, कवि अमृतलाई लाग्छ, ‘बन्दुक एक सत्ता हो भने कविता स्थायी प्रतिपक्ष । तर, दुवै आआफ्नै नियममा हिँडिरहेका छन् । अर्थात्, आआफ्नै अस्तित्वको खोजीमा छन् ।’

****

अमृतले १६ वर्ष एक महिना ६ दिन भारतीय सैनिक सेवामा बिताए । ‘चेन अफ कमान्ड’मा हिँड्नु पर्ने सैनिक जीवनमा अध्ययन र साहित्य सिर्जनाका लागि समय नमिल्नुपर्ने हो । तर, त्यसमा पनि उनी आफूलाई भाग्यमानी ठान्छन् ।

अरु लाहुरेजस्तो पल्टनमा उनले सलामी ठोक्दै बन्दुक बोकेर हिँड्नु परेन, बरु अध्ययनका लागि प्रशस्त समय पाए । ‘भारतीय सेनाको आईटी सेक्टरमा परें । त्यहाँ अरुले जस्तो बन्दुकबोक्नु परेन । कम्प्युटर अघि बस्नुपथ्र्यो,’ अमृत भन्छन्, ‘त्यो फुर्सदको समय अध्ययन र सिर्जनाका लागि राम्रो अवसर बन्यो ।’

भारतीय सेनको सूचना प्रविधि क्षेत्रबाहेक अन्य क्षेत्रमा परेको भए यतिबेला आफू कवि हुन्थे वा हुँदैन थिए, उत्तर उनीसँग छैन । त्यसैले पनि सैन्य पेशालाई बाहिरबाट हेरिएजस्तो ‘क्रुर पेशा’ देख्दैनन् । ‘सैन्य पेशालाई बाहिरबाट क्रुर देखिन्छ भन्छन् । तर, त्यति हुँदैन । त्यो कोमल पनि हुन्छ,’ भन्छन्, ‘कोमल हुन्छ बन्दुक बोक्नेको हृदय पनि ।’

सैन्य पेशामा भए पनि आफूभित्र कोमल हृदय भएकै कारण काव्यिक मोहमा डुबेको कवि अमृत सुनाउँछन् । ‘सायद आफूभित्रको कोमल हृदयलाई महसुस नगर्दो हुँ त यहाँसम्म आइपुग्ने थिइनँ । त्यसैले मेरा कविताहरु पनि छोटा हुन्छन्, कोमल प्रकृतिका हुन्छन्,’ उनी भन्छन्, ‘विद्रोह गर्न चर्को नारा लगाउनुपर्छ भन्ने हुँदैन ।’

आफूले सिर्जना गरेका धेरै कविताहरु कवि अमृतले आईटी सर्भर रुममै फुराए । कति यादमा छन्, कति कापीका पानामा छन्, कति सामाजिक सञ्जालको भित्तामा । आफ्ना सिर्जना प्रायः सामाजिक सञ्जालमा राख्थे उनी ।

त्यहीबेला अर्का एकजना सर्जकले सामाजिक सञ्जालमा नराख्न र कृतिकै रुप दिन सुझाए । ‘त्यतिबेला पो म झसंग भएँ । अहो ! मेरो पनि किताब ? भन्ने भयो,’ अमृत भन्छन्, ‘कवितामा म समाज लेख्न मन पराउँछु । आफूले भोगेका अनुभव, चित्त नबुझेको कुरा उतार्न मन पराउँछु । तर, कृतिकै रुपमा अघि लैजानेबारे सोचेको पनि थिइनँ ।’

आफ्ना सिर्जनालाई कृतिकै रुपमा लैजाने नै सोचिसकेपछि त्यसमा सहयोग गरे, कवि चन्द्रवीर तुम्बापो, कृष्ण बोहरा यात्रीलगायतले । त्यसपछि जन्मियो, एकान्त भिड ।

शनिबार पोखरामा कवि अमृतका यही कविता संग्रह विमोचन भएको छ । साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती श्रेष्ठ ‘सरु’, दीपक समीप, सञ्जीव पौडेल लगायतले कवि अमृत क्षेत्रीको नवीनतम् कविता संग्रह विमोचन गरे ।

कृति विमोचनपछि साहित्यकार सरुभक्तले नेपाली साहित्यमा एक शालीन कविको सशक्त कविता पदार्पण भएको सुनाए । ‘कवितालाई सीमामा बाँध्ने हुँदैन । यो स्वतन्त्र हुने भएकाले पनि कवि शाश्वत र सर्वभौम छ,’ उनले भने, ‘कविका कविता नयाँ जीवनजस्तै विरोधाभास दर्शनको खोजमा छ ।’

साहित्यकार तीर्थ श्रेष्ठले कवि अमृतको कवितामा कुनै छलछाम र अहम् नभएको सुनाए । ‘कविता हल्लाखल्ला गरेर पनि लेख्न सकिन्छ, आक्रोश पनि पोख्न सकिन्छ, तर, आक्रोशलाई पनि अत्यन्त सरल रुपमा प्रस्तुत गर्न सक्ने कवि हुन्, अमृत,’ उनले भने ।

कवि चन्द्रवीर तुम्बापो, सरस्वती श्रेष्ठ ‘सरु’, सञ्जीव पौडेल लगायतले कवि अमृतको कृतिले कवितामा नयाँ बाटोको खोजी गरेको सुनाए । उनीहरुले अमृतका कवितामा शब्दमात्रै नभएर समाजका विसंगतिप्रति प्रश्न उठाउँदै संगति समाजको खोजीको अपेक्षा रहेको धारणा राखे ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?