+
+

वीरगञ्जका मेयर एमालेमा प्रवेश गरेपछि जसपा जाने भए राजेशमान

सुरेश बिडारी सुरेश बिडारी
२०७८ चैत ३ गते २०:२६
राजेशमान सिंह (सोफाको बीचमा) र जसपाका नेताहरु लालबाबु राउत (दाँया) र प्रदीप यादव (बाँया)

३ चैत, वीरगञ्ज । २८ माघमा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेको घोषणा गरेका वीरगञ्जका नेता राजेशमान सिंह फेरि जनता समाजवादी पार्टीमा जाने भएका छन् ।

वीरगञ्ज महानगरपालिकाको मेयरको आकांक्षी सिंह एमालेबाट टिकट पाउने निश्चित नभएपछि पुनः अर्को दलमा जान लागेका हुन् । २८ फागुनमा जनता समाजवादी पार्टी छाडेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेपछि सिंह भने जसपा जान लागेका हुन् ।

सरावगी मेयरको उम्मेदवार बन्ने शर्तमा एमाले प्रवेश गरेको चर्चा छ । अचानक सरावगीलाई ल्याएर आफूलाई वाइपास गर्न खोजेपछि नेता सिंह एमालेसँग असन्तुष्ट भएका हुन् । नेता सिंहले आफू एमालेमा नजानुको प्रमुख कारण नगर प्रमुख सरावगीलाई ल्याउनु नै भएको बताए ।

‘जुन मेयरलाई भ्रष्टाचारी भनेर विरोध गरिरहेका छौं, बारम्बार प्रदर्शन गरेका छौं, सामाजिक सञ्जालमा पनि विरोध जनाउँदै आएका छौं । त्यही मेयरसँग कसरी सहकार्य गर्ने ? छानबिन गर्दा मेयर भ्रष्ट देखिएन भने म राजनीतिबाट सन्यास लिन्छु’ उनले भने ।

नेता सिंहलाई एमालेले अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा पार्टी प्रवेश गराउने आश्वासन दिएको थियो । सुरुमा १४ फागुनमा पार्टी प्रवेश कार्यक्रम तय भएको थियो । तर एमाले पर्साका अध्यक्ष प्रभु हजराले पार्टीको आन्तरिक विवाद समाधान गर्नुपर्ने भन्दै २६ फागुनसम्मको समय मागेका थिए । तर २६ फागुनमा निर्धारित कार्यक्रम भएन, बरु २८ फागुनमा मेयर सरावगीलाई पार्टी प्रवेश गराउन ओली वीरगञ्ज आए ।

उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम भने ६ चैत हुने ८ चैतमा सारिएको थियो । एमालेले पार्टी प्रवेश कार्यक्रमको मिति सार्दै गर्दा पार्टी प्रवेश गर्ने भनिएका व्यक्ति नै पार्टी फेर्ने निर्णयमा पुगेका छन् । जिल्ला नेतृत्वको असक्षमताका कारण सिंहलाई पार्टीमा ल्याउन नसकिएको एमालेका एक नेताले बताए । नेता सिंहले एमाले नजानुको अर्को कारण आफूलाई पार्टी प्रवेश गराउने मिति सरिरहनु भएको बताउँछन् ।

‘फागुन १४ गते नै मिति फाइनल थियो, पार्टीलाई कमाइ खाने भाँडो बनाएकाहरुले रुचाएन्, त्यसपछि फागुन २६ गते, २८ गते, चैत ६ गते हुँदै ८ गते पुर्‍याए । चैत ८ गतेपनि निश्चित देखिएन’ उनले भने ‘त्यो भन्दा पहिले नै हेलिकप्टर ल्याण्ड गरेजस्तो माथिबाट टपक्क ल्याएर मेयर साबलाई फागुन २८ गते पार्टीमा ल्याए । एमाले अध्यक्ष ओली डाक्टर जैनुद्दिन अन्सारीको छोरीको विवाहमा आशिर्वाद दिन आउँदा विवाहको भोजमा पार्टी प्रवेश गराएर भिड देखाए ।’

आफ्नो राजनीतिक भविष्यमाथि नै एमालेले खेल्न खोजेपछि उता नजाने निर्णयमा पुगेको नेता सिंहले बताए । ‘एमाले महानगर कार्यसमिति जसले हामीलाई लगेर कुरा गरेको थियो, उनीहरुले पार्टी प्रवेश गराउन सकेनन् । आफ्नो राजनीतिक भविष्यमा नै खेलिरहेका अनुभूति भएपछि जसपामा जाने निर्णयमा पुगेको हुँ’ उनले भने ।

७ चैतमा जसपा जाने

जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादव र सिंहबीच बुधबार पहिलो चरणको वार्ता वीरगञ्ज स्थित एउटा कफी सपमा भएको थियो । बिहीबार मुख्यमन्त्री लालबाबु राउत, सांसद यादव सहितका नेताहरु सिंहको घरमा नै पुगेर अन्तिम टुंगो लगाएर आएका छन् ।

जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले नेता सिंहलाई ७ चैतमा पार्टी प्रवेश गराउने बताए । सोही दिन महानगर प्रमुखमा पार्टीको तर्फबाट सिंहलाई उम्मेदवारको रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

‘जसपाको मेयरको उम्मेदवार राजेशमान सिंह हुनुहुन्छ, चैत ७ गते पार्टी प्रवेशपछि घोषणा हुन्छ’ उनले भने । पार्टी प्रवेश कार्यक्रमका लागि पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायत नेतालाई आमन्त्रण गरिएको जसपाले जनाएको छ ।

सिंहको राजनीतिक उतारचढाव

वीरगञ्जबासीका बीचमा लोकप्रिय र मधेश आन्दोलनमा सक्रिय भएपनि अवसरबाट वञ्चित हुँदै आएका नेताका रुपमा सिंह परिचित छन् ।

नेता सिंहले ०४३ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति सुरु गरेका थिए । ०५४ सालमा कांग्रेसबाटै वडा सदस्यमा निर्वाचित पनि भए ।

दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट संविधान सभा सदस्यमा उठेका सिंह पराजित भएका थिए ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट मेयरको उम्मेदवारी दिएका थिए । पछिल्ला दिनमा उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए ।

०७४ सालको स्थानीय निर्वाचनमा वीरगञ्जको मेयरको उम्मेदवार रहेका राजेशमानले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।

मेयरमा तत्कालिन संघीय समाजवादी फोरमका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अजय द्विवेदी १९ हजार १९७ मत ल्याएर दोस्रो भएका थिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?