+
+

‘पिर’ले पारेको पीर

दृश्यमा युद्ध लडेका सहकर्मीहरू यौन पेशा अँगालेको ‘दृश्य’ नै विवादित भनिएको छ। यो विवाद हो कि बाध्यता हो सम्बन्धितले बुझ्नु आवश्यक छ।

कृष्ण बर्मा कृष्ण बर्मा
२०७८ चैत ४ गते ९:४२

प्रकाश सपुत सक्षम, सफल र लोकप्रिय लोक कलाकार हुन्। उनको सिर्जनाले हरेक श्रोता र दर्शकका जीउमा काँडा निकाल्ने गर्दछ। अझ उनको अभिनय र दृश्य निर्माणको अवधारणा नै उनको सिर्जनाको प्रमुख विशेषता हो।

उनले ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला’, ‘दोहोरी ब्याटल’ लगायत सिर्जना गरेका हरेकले बजार तताइरहेको हुन्छ। हाल उनको सिर्जना ‘पिर’ले दुवै तरिकाले बजार तताएको छ, सकारात्मक र नकारात्मक। एकथरीले सिर्जनाको, एकथरीले उनको र अर्को थरीले विरोध गर्नेको विरोध गरेर बजार तताइरहेका छन्।

पिरमा वास्तवमा व्यवस्था बदलिए तापनि अवस्था भने नबदलिएको कुरा गीत र अभिनयमार्फत व्यक्त गरिएको छ। उनको पिर युट्युबबाट प्रसारण भए पश्चात पहिलो केही समय उच्च गतिमा हेरियो भने तत्पश्चात उनको गीतको एउटा दृश्यलाई लिएर माओवादी निकट भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताले गरेको टिप्पणी र आलोचनाले झन् हेर्नै पर्ने बनाएको छ। अहिले त्यो नम्बर १ ट्रेन्डिङ्गमा छ। हुँदाहुँदै यसबारे राजनीतिक दलको नेतृत्व पनि बोल्नुपर्ने भएको छ।

एउटा कलाकारले आफ्नो सिर्जना मार्फत समाजलाई चित्रित गर्नु उसको धर्म हो। कला र साहित्य समाजको ऐना हो। यसले सकारात्मक किसिमले समाजलाई परिवर्तन गराउने र भए गरेका नकारात्मक विषयवस्तुलाई सुधार्नलाई प्रेरित गर्छ। सामाजिक विषयवस्तु उजागर गर्न कला र साहित्यमा विभिन्न आयामहरू प्रयोग हुन्छन्।

अहिलेको सिर्जना पिरमा एकात्मक राज्यव्यवस्था परिवर्तन गरी गणतन्त्र ल्याउन प्रमुख भूमिका खेल्ने सशस्त्र युद्ध र तिनका लडाकुहरूको योगदानलाई राज्य र नेतृत्वबाट कसरी तिरस्कार गरिएको छ ? उनीहरूको अवस्था कस्तो छ ? सँगै लडेकाहरू कोही उच्च ओहोदामा पुग्ने, कोही भने विस्ताराबाट पनि उठ्न नसक्ने व्यवस्थालाई चित्रण गरिएको छ।

ज्यानको बाजी थापेर लड्नेहरूको अवस्था र नेतृत्वले गर्ने व्यवहार प्रस्तुत छ। गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता नै जनयुद्ध र जनआन्दोलनको उपज हो। लडाकु र नेताको नेतृत्वले सर्वसाधारण जनतालाई राष्ट्रप्रमुख हुने मार्ग प्रदान गरेको छ। यसरी नेतृत्वलाई मात्र फाइदा पुर्‍याउने युद्धले लडाकु र सर्वसाधारण जनतालाई के गर्‍यो त भन्ने प्रश्नको उत्तर खोज्न प्रेरित गरेको छ। सशस्त्र युद्धमा होमिएका योद्धाहरूको हालको अवस्था र परिवर्तित राज्यव्यवस्थाको उजागर यसमा गरिएको छ।

यसमा योद्धा मात्रै नभएर सामान्य जनताको जीवनस्तर, रोजगारी, व्यापार, व्यवसाय, ठगी, मानव तस्कर, समाजमा फैलिएको चरम सामाजिक र साँस्कृतिक विचलन, नेतृत्वले कार्यकर्ता र जनतालाई गर्ने उपेक्षा आदिको चरित्र चित्रण गरिएको छ।

यो राज्यव्यवस्था परिवर्तनको नेतृत्व गरेको माओवादी संकुचित हुनुको कारण समेत यसमा प्रष्ट छ। नेता र नेतृत्वमा आस्था र निष्ठामा आएको विचलन यसको प्रमुख विषय हो। यसको ज्वलन्त उदाहरण पद र पैसाको लागि नेतृत्व गरेका नेताहरू अर्को दलमा होमिएकोबाट पनि प्रष्ट हुन्छ।

पिर किन विवादमा पर्‍यो त ?
राष्ट्रको व्यवस्था परिवर्तन गर्न युद्ध लडेको सिपाहीमा भएको राष्ट्रवादले आफू देश नछोडे तापनि सन्तान पालनपोषणको लागि श्रीमती वैदेशिक रोजगारीमा गएको देखाइएको छ। राष्ट्रप्रेम र स्वाभिमानले देश नछोड्ने तर परिस्थितिले परदेशिनेहरूको अवस्था पनि हो यो। श्रीमानको भरमा कैयौं पतिब्रता श्रीमतीहरू सत नछोड्ने हाम्रो समाजमा श्रीमानहरू भने श्रीमतीसँग छुट्टिएको छोटो समयमा परस्त्री गमनमा लाग्ने यथार्थता पनि यसमा देखिन्छ।

यसै दृश्यमा युद्ध लडेका सहकर्मीहरू यौन पेशा अँगालेको दृश्य नै विवादित भनिएको छ। यो विवाद हो कि बाध्यता हो सम्बन्धितले बुझ्नु आवश्यक छ। राज्यव्यवस्था परिवर्तन गर्न लडेका योद्धाहरू नै देहव्यापारमा लागेको र यसले समग्र जनयुद्धको अपमान गरेको भनेर पिरलाई युट्युबबाट हटाउन र कलाकार प्रकाश सपुतलाई कारबाही गर्ने समाचारले यो कला र साहित्य भन्दा पनि राजनीतिक विवाद बनेको छ। चुनावको समयमा आएर यस्तो खाले गीत षडयन्त्र भएको र यसमा अन्य कुनैको हात रहेको सम्म पनि समाचार सुन्न र देख्न पाइएको छ। हुन त हाम्रो मुलुक र समाज यस्तो बन्यो कि अलिकति केही मसला पायो भने पेल्ने र उकास्नेको भीड। पिरमा भएका शब्द र दृश्यलाई लिएर विरोध गर्नु र विवाद गर्नु कुनै अर्थ राख्दछ भन्ने मलाई लाग्दैन। राज्यव्यवस्था परिवर्तन गर्न लडेका योद्धाहरू नै देहव्यापार अँगाल्न बाध्य बनाइएको दृश्यलाई लिएर संकुचित तवरबाट यसलाई विवादमा पारिएको छ। यसमा त्यो मात्र नभएर धेरै कुराहरूलाई राज्यबाट उपेक्षित गरेको कुरालाई देखाइएको छ तर विवाद भने एउटा सिनमा मात्र केन्द्रित छ।

वास्तवमा यो विवाद हो त ?
पिर साहित्यिक सिर्जना हो, यसमा देखाइएको दृश्य, पात्र र कथा सामाजिक विषय हुन् तर विवाद कुनै पनि किसिमले होइन। पिरले सामाजिक सञ्जाल, समाचार र पत्रपत्रिका तताएको भने पक्कै हो। एउटा कला, साहित्य र सिर्जनालाई यसरी संकुचित पारेर हेर्नु हाम्रो देशमा सामान्य बनेको छ। हामी गणतन्त्र र राज्यव्यवस्था परिवर्तन गर्यौं भन्दै छाती चौडा पार्दै गर्दा व्यवहार भने निरकुंश राणाशासनको जस्तो देखाइरहेका हुन्छौं। कला र सिर्जनाले समाज र संस्कृतिलाई ठेस पनि पुर्‍याउनुहुँदैन। साथ साथै अब राजनीतिको पनि जयजयकार गर्नुपर्ने हो त ?

हो, जनयुद्धको बलमा हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्रताका साथै विभिन्न मौलिक हकहरू प्राप्त गरेका छौं। एउटा व्यवस्था परिवर्तन गर्न लडेको योद्धाले सामान्य रोजगारी नपाउने, विदेशिनुपर्ने, औषधि उपचार नपाउनु, पशु चौपायाको खोरमा बन्धक बनेर बस्नुपर्ने र देहव्यापार समेत अँगाल्नु सम्बन्धित पार्टीको मात्र जिम्मेवारी पक्कै पनि होइन, यो हामी सबैको सरोकारको विषय हो। माछा मिठा, काडा तिता जस्तो गर्नुहुँदैन। गणतन्त्र पश्चात धेरै सरकार परिवर्तन भए, सरकारसँगै नेतृत्व र तिनका आफन्त र आसेपासेको मात्र जीवनस्तर परिवर्तन भयो।

हरेक क्रियाकलापलाई राजनीतिक रंग दिइनु हाम्रो संस्कार बनेको छ। देशमा सुशासन, रोजगारी, कानुनी राज्यको जिम्मा सरकारले लिने हो, तर हाम्रोमा सरकार कमाउन र चुनाव जित्नमा मात्रै केन्द्रित भएका छन्। यसलाई हामी कसैले पनि चिर्न सकेका छैनौं, हामी सधैं पक्ष र विपक्ष भएर लडेका हुन्छौं।

खोई त योद्धा लगायत सर्वसाधारणको जीवन स्तर परिवर्तन भएको ? यसमा खै हाम्रा राजनीतिक नेतृत्वले सोचेको ? खाली विरोध र विवाद गरेर मात्र समाधान हुन्छ त ? विवाद र विरोध पनि समाधानसहितको हुनुपर्छ नकि जिम्मेवारी निभाए जस्तो गरी विवाद झिक्ने कि यसमा भएका कमी कमजोरीलाई आत्मसात् गर्दै सुधारिने ? यसमा देखाइएको दृश्यलाई लिएर गरेको विवाद वास्तवमै विवाद होइन यो वास्तविक र यथार्थ हो।

यसलाई हल्का रूपमा लिनु भन्दा हामी कहाँ र कसरी चुक्यौं, किन हाम्रो नेतृत्वको श्रृंखला खण्डित भएको छ, हामीलाई कसले राजनीतिक दिशा परिवर्तन गरिदियो, कसरी हामीले यी सहयोद्धालाई भुल्यौं ? भन्ने कुरा प्रमुख हो।

हरेक क्रियाकलापलाई राजनीतिक रंग दिइनु हाम्रो संस्कार बनेको छ। देशमा सुशासन, रोजगारी, कानुनी राज्यको जिम्मा सरकारले लिने हो, तर हाम्रोमा सरकार कमाउन र चुनाव जित्नमा मात्रै केन्द्रित भएका छन्। यसलाई हामी कसैले पनि चिर्न सकेका छैनौं, हामी सधैं पक्ष र विपक्ष भएर लडेका हुन्छौं।

संविधान निर्माण पश्चात संघीयतामा गएको हाम्रो राज्यव्यवस्थाले कहिल्यै पनि तल्लो स्तरका जनताको पीर मर्का र अवस्था बुझ्ने चेष्टा नगरिनु पनि यसमा विषय वस्तु छ, खै त्यो विषय उठान गरेको, स्वदेशमा रोजगारी नपाई दलालहरूको फन्दामा परी विदेशमा पाएको पीडाको समधानको लागि आवाज किन उठाउन सक्दैनौं ? गणतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च ओहोदामा जान खुशी हुने अन्य दलले खै त्यो युद्ध लडेका लडाकु, घाइते, बेपत्ताको बारेमा विषय उठान गरेको, के त्यो जिम्मेवारी माओवादीको मात्रै हो त, यसलाई जोडेर माओवादीको विरोध गर्नु राम्रो भने पक्कै पनि होइन। राज्यबाट सरकारको प्रत्याभूति जनताले कहिल्यै पाएका छैनन्।

अन्त्यमा हाम्रो पीर
पशुपति शर्माको लुटन सके लुट भन्ने गीतलाई पनि यसैगरी विवादमा पारिएको थियो। पिरलाई पनि पारिंदैछ। कला र साहित्य र सिर्जनलाई यसरी प्रतिबन्ध लगाउने र धम्की दिनु कुनै पनि हिसाबले जायज हुँदै होइन। पछिल्लो समय नियमितजसो अबोध बालिकाहरू बलात्कृत भई हत्या गरिएको छ, निर्मला पन्त, सम्झना विकका हत्यारा भेटिएका छैनन्।

देशमा रोजगारी नपाएर हरेक दिन विदेशिने र बन्धक बनाई अलपत्र पारिने जनताको बारेमा हामी बोल्न सकेका छैनौं। तर आफू समर्थित राजनीतिक दल र नेतृत्वको विपक्षमा र सत्य कुराको पनि विषय उठान गर्ने हो भने देशद्रोही जस्तो व्यवहार गरिनु राजनीतिक संस्कार होइन। वास्तवमा पिर भनेको हामी सर्वसाधारणको लागि यही बनेको छ।

हरेक विषयलाई राजनीतिक रंग दिएर हेर्नु, राजनीतिलाई कमाउने पेशा र प्रतिष्ठाको विषय बनाइनु हाम्रो पीर हो। राजनीतिमा कार्यकर्ता भन्दा नातागोता र आफन्तलाई फाइदा पुर्‍याउनु हाम्रो पीर हो। सत्यको पक्ष नलिइनु र असत्यलाई दलको आडमा ढाक छोप गर्नु हाम्रो पीर हो। शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, आवास, पौष्टिक आहार नपाउनु हाम्रो पीर हो।

अनियमितता र भ्रष्टाचारको आहालमा डुबेको हाम्रो समाजलाई कसरी निकाल्ने भन्ने हामीलाई पीर हो। साहित्य र सिर्जनामा आएको विचलन, पश्चिमा संस्कृतिको प्रवेश, धर्म संस्कृति र आधुनिकताको नाममा भएको धार्मिक र सांस्कृतिक क्षय हाम्रो सरोकारको विषय बनाइनुपर्छ। सत्यको अवलम्बन र असत्यको विरोध गर्ने हाम्रो संस्कृति बनाउनुपर्छ।

कला र संस्कृतिलाई सभ्य बनाउनुपर्ने हाम्रो पीर हो, कलाकार र सर्जकले पनि एक पक्ष हेरिनु हुँदैन, सबै पक्षलाई उजागार गर्नुपर्छ, समाजले पचाउने खालका सिर्जना हाम्रो आवश्यकता हो। हरेक विषयवस्तुमा राजनीति र सम्प्रदायमा प्रवेश गराइनु हाम्रो पीर हो। हरेक विषयवस्तुमा गल्ती हुन्छ र गल्तीसँगै समाधान पनि हुन्छ, हामी समधानतर्फ अग्रसर हुनु नै श्रेयस्कर छ नकि विरोध र धम्की दिइनु।

धुर्कोट-२, गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?