+
+

विचारहीन राजनीति

रामहरि ओझा रामहरि ओझा
२०७८ चैत ४ गते १२:१७

युवा श्रमशक्ति छाक टार्नका लागि मुग्लान पसिरहेका छन् । बालबालिका गुणस्तरीय शिक्षाको सपना बोकेर शहर सारिएका छन् । दुई पैसा भएकाहरू शहरमै बसाइँ सरिरहेका छन् । यसबाट शान्त र सुनसान बनेका गाउँमा अचेल केही चहलपहल सुरु भएको छ ।

रङ्गीविरङ्गी झण्डाहरू फहराउन थालेका छन् । माइकका आवाजहरू गुन्जिरहेका छन् । गाउँ छोडी शहर पसेका केही र केही नयाँ अनुहारहरू फेरि गाउँमा देखिन, चिच्याउन, हकार्न र सराप्न थालेका छन् । अबिर दल्न, माला लगाउन, बधाई–आशीर्वाद र शुभकामना दिन थालेका छन् ।

गाउँमा देखिएको यो दृश्यले चुनाव सुरु भएको सन्देश दिइरहेको छ । अर्को कुनै चमत्कार भएन भने विक्रम संवत् २०७९ नेपालका लागि चुनावी वर्ष हुनेछ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेलाई तोकिएको छ ।

आवधिक निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मंसीरमा संघ र प्रदेश सभाको निर्वाचन गरिसक्नुपर्नेछ । तर चलिरहेको राजनीतिक खिचातानीले संघीय र प्रादेशिक निर्वाचन अगाडि वा पछाडि हुने सम्भावना भने रहिरहन्छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक सरगर्मी सुरु भएको छ । राजनीतिक दलहरूले बस्ती, वडा, पालिका र जिल्लास्तरमा आफ्ना गतिविधि बढाउन थालेका छन् ।

कार्यकर्ताहरूलाई संगठित र निर्वाचनका लागि तयार हुन निर्देश दिइरहेका छन् । पार्टी प्रवेश गराउन थालेका छन्, आफ्नो पार्टीमा दुई जना प्रवेश हुँदा दुई गुणा थपेर प्रसारप्रसार गर्न थालेका छन् । यसले पनि चुनावको मिति नजिकिंदै गएको सन्देश दिएको छ ।

राजनीतिक दलहरूले नियमित रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्नु, कार्यकर्ता संगठित गर्नु, नयाँ सदस्यता वितरण गर्नु, पार्टी प्रवेश गराउनु नौलो वा अनौठो कुरा होइन र यो एउटा जीवन्त दलका लागि निरन्तर प्रक्रिया पनि हो ।

जनताको वा कार्यकर्ताको बीचमा आफ्नो दलको विचार, सिद्धान्त वा कार्ययोजना प्रस्तुत गरेर संगठन विस्तार गर्दा संगठन पनि दिगो हुन्छ र कार्यकर्ता पनि राजनीतिक हुन्छन् ।

तर न विचार छ, न सिद्धान्त छ, न संगठन छ, न कार्ययोजना । प्रशिक्षण र आमसभाका नाममा कार्यकर्ता र जनतालाई एकठाउँमा जम्मा गरिन्छ । अर्को दललाई गाली गरेर घाँटी सुकाउने नेता छन् । जति बढी नेताले गाली गर्न सक्यो, त्यति बढी ताली बजाउने कार्यकर्ता छन् । यसले राजनीतिलाई थप विचारहीन बनाइरहेको छ ।

अर्को व्यक्तिलाई गाली गरेर, अर्को दललाई गाली गरेर, अनावश्यक टीकाटिप्पणी गरेर आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न त सकिएला तर यसले वैचारिक राजनीतिको अभ्यास हुँदैन । अराजक, अनुशासनहीन र गैरसांगठनिक चरित्र मात्रै प्रदर्शन गर्छ । अहिले भइरहेको यस्तै छ ।

दलभित्रका विचारको अध्ययन–बहस गर्न रुचाउने वैचारिक राजनीतिक कार्यकर्ताहरू विस्तारै कमजोर भइरहेका छन् । राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी राखेर खुकुरीको धारमा हिंडेकाहरू राजनीतिबाट पलायन हुँदैछन् । उनीहरूमा नैराश्य छाएको छ ।

आफूले गरेको कामको समीक्षा गर्नुभन्दा पनि अरूले गरेको कामको आलोचना गर्न हामी जहिलेसम्म लालायित हुन्छौं, तबसम्म हामीले वैचारिक राजनीति गर्ने हिम्मत गर्न सक्दैनौं र कार्यकर्ता पनि यस्तै सिक्दै जान्छन् ।

अहिलेको राजनीतिक अभियान हेर्दा कुनै पनि दलका नेता कार्यकर्ताहरूसँग आगामी पाँच वर्षको योजना छैन । आफूले पालिका जित्यो भने के के गर्ने, प्राथमिकताका क्षेत्र के के हुने, आर्थिक, सामाजिक, सांस्कृतिक विषयहरूलाई कसरी सम्बोधन गर्ने, सुशासन कसरी कायम गर्ने, गुणस्तरीय सेवा प्रवाहका लागि के विधि अपनाउने भन्ने कुराको योजना जनताको बीचमा लैजानुपर्ने हो तर लैजाँदैनन् ।

कुनै योजना लगिहाले पनि त्यो भौतिक पूर्वाधारको योजना मात्रै हुन्छ । अझ भौतिक पूर्वाधारका योजनाहरूमा पनि बासी मुद्दाहरू अर्थात् पटक–पटक उठान हुने गरेका योजना छन् ।

यस्तै चल्दै आएको छ, उहिलेदेखि अहिलेसम्म । यसलाई बदल्ने हिम्मत कसैले पनि गर्दैनन् । कार्यकर्ताहरूलाई आक्रोशित हुन सिकाइरहेका छन्, आक्रामक हुन सिकाइरहेका छन् । प्रजातान्त्रिक राजनीतिक संस्कार कार्यकर्तालाई सिकाउँदैनन् ।

डराएर, धम्काएर, अरूलाई गाली गरेर, कसैको चरित्र हत्या गरेर, बुथ कब्जा गरेर, मतदाताहरूलाई बाटोबाटै फर्काएर, पैसा बाँडेर, जसरी भए पनि आफ्नो दल जिताउने अभ्यास आफूलाई ठूला भन्ने सबै दलहरूले विगतदेखि नै गर्दै आएका छन् । यसमा कहिल्यै सुधार हुन सकेन ।

तर दुर्भाग्य, यिनै दलहरूले आफूलाई लोकतन्त्रका हिमायती, गणतन्त्रका जन्मदाता, व्यवस्थाका मालिक ठान्छन् । कति लोकतान्त्रिक छु भनेर कहिल्यै आफूलाई फर्केर हेर्दैनन्, जनताको बीचमा आफ्ना राजनीतिक विचारहरू पस्कन सक्दैनन्, कार्यकर्ताहरूलाई वैचारिक राजनीतिक रूपमा प्रशिक्षित गर्न सक्दैनन् । त्यसैले कार्यकर्ता कहिल्यै पनि वैचारिक हुँदैनन् ।

विचारको अध्ययन–बहस गर्ने भन्दा पनि व्यक्तिको पूजा गर्ने परिपाटी नेपाली राजनीतिमा झाँगिंदै गएको छ । नेतृत्वले पनि तल्लो तहसम्म गुट निर्माण र चाकरहरू उत्पादन गर्ने, अनि दलभित्र आफ्नो वर्चश्व कायमै राखेर फरक गुटकालाई समाप्त गर्ने कसम खाएको जस्तो देखिन्छ ।

यसले गर्दा दलभित्र भएका विचारको अध्ययन–बहस गर्न रुचाउने वैचारिक राजनीतिक कार्यकर्ताहरू विस्तारै कमजोर भइरहेका छन् । राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी राखेर खुकुरीको धारमा हिंडेकाहरू राजनीतिबाट पलायन हुँदैछन् । उनीहरूमा नैराश्य छाएको छ ।

त्यही कारण हो, अहिलेको राजनीतिक व्यवस्थाको विरुद्धमा आवाज उठाउनेहरूको संख्या बढ्न थालेको । यद्यपि नागरिक तथा राजनीतिक अधिकारको स्वतन्त्र उपभोग गर्न पाउने लोकतान्त्रिक व्यवस्था नै हो, तर यो ठिक ढंगले कार्यान्वयन हुनुपर्छ ।

निर्वाचनमा उम्मेदवार बनाउँदा व्यक्तिको राजनीतिक योगदान, सामाजिक योगदान, त्याग, लगनशीलता, योग्यता–क्षमताको कुनै मूल्याङ्कन हुँदैन । हुन्छ त केवल कुन गुटको हो, चुनावमा कति रुपैयाँ खर्च गर्न सक्छ, चुनाव जितेपछि व्यक्ति–विशेषलाई फाइदा हुन्छ कि हुँदैन, फरक दलका नेता कार्यकर्ताप्रति कत्तिको आक्रामक हुन सक्छ आदि आदि ।

यही संकेत स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा देखिन थालेको छ । वैचारिक राजनीतिक प्रशिक्षण छैन, स्थानीय तहमा जितेर गएपछि उनीहरूले गर्नुपर्ने जिम्मेवारीको विषयमा बहस छैन । आगामी पाँच वर्षमा पालिकालाई कस्तो बनाउने, भौतिक पूर्वाधार विकासको मोडेल के हुने भन्ने स्पष्टता छैन ।

जनताको जीवनस्तर उकास्नका लागि के गर्ने, राजस्व संकलनको नीति कस्तो हुने, सेवा प्रवाहलाई जनमुखी बनाउन के के गर्ने, सुशासन र पारदर्शिताका लागि कुन विधि अपनाउने भन्ने विषयको बहस छैन ।

दुईतिहाइ भन्दा बढी जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको प्रस्तावनामै समाजवादउन्मुख हुने भन्ने छ । समाजवादउन्मुख हुनका लागि के–कस्ता रणनीति बनाउने भन्ने सोच सार्वजनिक हुँदैनन् ।

नेताहरूले कार्यकर्तालाई आक्रामक हुन, दनक दिन, प्रतिवाद गर्न निर्देशन दिइरहेका छन् । गाली गर्न सिकाउँदैछन् । दलका कार्यकर्ताहरूलाई धम्काउन सिकाउँदैछन्, आफ्नै दलभित्रका फरक विचार राख्नेहरूलाई धम्काउने काम भइरहेको छ । विस्तारै यो धम्काउने चलन निर्वाचनमा खटिने कर्मचारीसम्म पुग्नेछ, मतदातासम्म पुग्नेछ । अन्ततः निर्वाचन नै प्रभावित हुनेछ ।

यही विचारहीन राजनीतिको गोलचक्करमा देश घुमिरहन्छ । एकले अर्कोलाई गाली गर्ने, आरोप लगाउने र आफ्नो दुनो सोझ्याउने प्रक्रिया सधैंं चलिनै रहनेछ ।

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्ने हो भने नेताहरू पहिले लोकतान्त्रिक हुनु जरूरी छ । मुखले जति ठूलो स्वरले आफूलाई लोकतान्त्रिक भने पनि व्यवहारतः नेताहरू लोकतान्त्रिक छैनन् ।

पहिले लोकतान्त्रिक हुन सक्नुपर्‍यो, त्यसपछि कार्यकर्तालाई लोकतान्त्रिक बनाउन सक्नुपर्‍यो । यदि दलका नेता र कार्यकर्ता लोकतान्त्रिक भएछन् भने जनता आफैं लोकतान्त्रिक हुनेछन् । जनतालाई परिवर्तन हुन कुनै गाह्रो छैन ।

परिवर्तन हुन गाह्रो नेतालाई छ र नेताको वरिपरि घुमेर, चाकरी गरेर व्यक्तिगत स्वार्थ लुटिरहेका कार्यकर्तालाई छ । त्यसैले राजनीतिक नेता कार्यकर्ताले जबसम्म लोकतन्त्रलाई ‘राजनीतिक व्यवस्था मात्रै हो’ भन्ने बुझाइ राख्छन् वा लोकतन्त्र प्रत्येक व्यक्तिको जीवनशैली पनि हो भन्ने कुरा बुझ्दैनन् र व्यवहारले नै आफू लोकतान्त्रिक हुन सक्दैनन्, तबसम्म वैचारिक राजनीतिक अभ्यास सुरु हुनसक्ने सम्भावना छैन । यही विचारहीन राजनीतिको गोलचक्करमा देश घुमिरहन्छ । एकले अर्कोलाई गाली गर्ने, आरोप लगाउने र आफ्नो दुनो सोझ्याउने प्रक्रिया सधैं चलिनै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?