+
+

आमाबुवाको वियोगले ‘ज्येष्ठ नागरिक विशेषज्ञ’ बनेका डा. बोगटी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ चैत ८ गते ९:३९

८ चैत, काठमाडौं । बुधबार अपरान्ह ३ बजे । सेताम्य कपाल फुलेका बुढापाकाहरू वीर अस्पतालको ज्येष्ठ नागरिक वार्ड बाहिर पालो पर्खिरहेका थिए । भित्र जेरियाट्रिसियन उमेश बोगटी पालैपालो बिरामी जाँचिरहेका छन् ।

बिरामीलाई कुर्सीमा बस्न इसारा गर्दै उनी सोध्छन्, ‘कहाँबाट आउनुभएको, के भयो, अरू के-के समस्या छ ?’

उनी वीरका एक्ला जेरियाट्रिसियन हुन् । वृद्धवृद्धाका लागि छुट्टै उपचार गर्ने मेडिकल विधा हो, जेरियाट्रिसियन । नेपालमा जेरियाट्रिसियन विशेषज्ञताको महत्व बढ्दै गए पनि यसको अभ्यास न्यून छ । न सरकारी दरबन्दी छ न त यस सम्बन्धी पठन-पाठन हुन्छ । देशभर कुल चार जना जेरियाट्रिसियन विशेषज्ञ छन् ।

सबै उमेरकालाई लाग्ने रोग एकै भए पनि लक्षण फरक-फरक हुन्छ । त्यो फरक छुट्याउने र उमेरको हिसाबले आएको परिवर्तन खुट्याउने जेरियाट्रिसियनले हो । डा. बोगटीका अनुसार युवा उमेरमा ५ वटा लक्षण भए एउटा रोग हुनसक्छ । वृद्धावस्थामा भने एक लक्षणले धेरै रोग भएको संकेत गरिरहेको हुन्छ ।

‘सरकारले स्वास्थ्यमा ज्येष्ठ नागरिकको पहुँच बढाउने नीति ल्याए पनि कार्यान्वयन भएको छैन’ डा. बोगटी भन्छन्, ‘स्वास्थ्य सेवाको दायरा र जनशक्ति बढाउने त टाढाको कुरा, अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्डको व्यवस्था समेत हुनसकेको छैन ।’

उमेर बढेसँगै शरीरका विभिन्न प्रणालीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएर रोगहरूले छिट्टै समात्छ । बुढेसकालमा अल्जाइमर्स, पार्किन्सन कब्जियत, हर्डी खिइने, दिसा-पिसाब चुहने, निद्रा नलाग्नेलगायत रोगहरू लाग्छन् ।

कोरोना महाव्याधिको समयमा पारिवारिक घुलमिल नभएर वा कम भएर ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यमा पनि गम्भीर असर देखिएको डा. बोगटी बताउँछन् । उनका अनुसार, ज्येष्ठ नागरिकहरूमा आत्तिने वा चिन्तामा डुब्ने, उदासी (डिप्रेसन) लगायत मानसिक समस्या देखिएका छन् ।

२०४० सालमा ललितपुरको बागडोलमा जन्मिएका बोगटीले दुई वर्षको छँदा आमाको काख गुमाए । ८ वर्षको हुँदा बुवाको पनि निधन भयो । दाइ र दिदीको सहारामा हुर्किएका उनी ललितपुरको नक्खुस्थित सुदेशा सेकेन्डरी स्कुलबाट २०५६ मा एसएलसी उत्तीर्ण गरे । त्यसपछि नयाँबानेश्वरको डन बस्को हायर सेकेण्डरीबाट प्लस टु गरे ।

अमेरिकामा भएका दाजुभाउजुले कम्प्युटर इन्जिनियरिङ पढ्न बोलाउँदा उनलाई जान मन लागेन । ‘कम्प्युटर इन्जिनियर बन्दा पैसा त कमाउँला तर डाक्टरले गरे जति मान्छेको सेवा गर्न सक्दिनँ भन्ने लाग्यो’ उनी भन्छन्, ‘अनि, एमबीबीएसको तयारीमा जुटें ।’

सानैदेखि पढाइमा अब्बल उनले ११ र १२ कक्षामा हुँदा शान्ति सेवा गृहमा आवद्ध भएर दीन-दुःखीलाई सहयोग गर्ने स्वयंसेवकको काम गरेका थिए । आफूलाई सानैदेखि विपन्न र वृद्धावृद्धालाई सेवा-सहयोग गर्दा छुट्टै आनन्द लाग्ने गरेको बताउँदै उनले भने, ‘डाक्टर बनें भने पैसा नभए पनि बिरामीको सेवा गर्न सक्छु भन्ने थियो ।’

बोगटी चीनको च्याङ्सी युनिभर्सिटी अफ टिसिएममा एमबीबीएस गरेर सन् २०१० मा नेपाल फर्किए अनि वीर अस्पतालको आकस्मिक कक्षमा एक वर्ष काम गरे ।

अहो, कस्तो पीडा !

आकस्मिक कक्षमा डा. बोगटी विपन्न वृद्धवृद्धाको केसहरू देख्थे । त्यसपश्चात् त्रिवि शिक्षण अस्पतालमा करिब ६ महिना करारमा काम गरे । त्यहाँ पनि उही दृश्य देखे ।

‘बुढाबुढीलाई बेवास्ता गरेको प्रष्टै देखिन्थ्यो । पैसा नभएर कतिको ज्यान गइरहेको हुन्थ्यो’ उनी भन्छन्, ‘त्यो अनुभवले मलाई ज्येष्ठ नागरिकको सेवामा जुट्नुपर्छ भन्ने लाग्यो अनि जेरियाट्रिसियन विशेषज्ञ बन्ने संकल्प गरें ।’

सन् २०१५ मा उनी फेरि चीन गए, सेन्ट्रल साउथ युनिभर्सिटीमा स्नातकोत्तर गर्न । २०१८ मा जेरियाट्रिसियन मेडिसियनमा स्नातकोत्तर गरेर फर्किए ।

रोगभन्दा बढी एक्लोपनको सिकार

वीरलाई गरिब जनताको अस्पतालको रूपमा लिइन्छ । डा. बोगटीले वीर नै रोजेर विशेषज्ञ सेवा दिन थालेको तीन वर्ष भयो ।

उमेरदारलाई विसन्चो भए तुरुन्तै अस्पताल लैजाने तर बुढापाका बिरामी हुँदा बुढेसकाल लागेको भनेर हेलचेक्र्याईं गरेको उनको अनुभव छ । यो मानसिकता बदल्न जरूरी रहेको उनी बताउँछन् ।

डा. बोगटी अस्पताल आएका विपन्न र बेवारिसे बिरामीको उपचारसँगै अवस्था हेरी सहयोग गर्ने संघ-संस्थामा पुर्‍याउँछन् । ‘पैसाकै कारण कसैले ज्यान गुमाउने अवस्था नआओस् भन्ने चाहना हुन्छ नै’ उनी भन्छन्, ‘वीरको सेवामा म खुसी छु ।’

उनका अनुसार, वीरको जेरियाट्रिसियन वार्डमा आउने बिरामीको संख्या बढिरहेको छ । पछिल्लो समय बुढापाकामा रोगभन्दा बढी एक्लोपनको समस्या देखिन थालेको उनी बताउँछन् । पढेलेखेका छोराछोरी युरोप-अमेरिका गएका वा पैसा कमाउन गाउँबाट सहर पसेका कारण बुढापाकामा एक्लोपनको समस्या बढिरहेको उनी बताउँछन् ।

‘कोही घरपरिवारले हेला गरेको, कोही आफन्तहरू टाढा भएको सुनाउँछन्’ डा. बोगटी भन्छन्, ‘बुढापाकाहरू मनमा यस्ता कुरा खेलाउँदै दुःखी बनिरहेका हुन्छन् ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चिकित्सकले एक जना बिरामीलाई कम्तीमा २० मिनेट समय दिनुपर्छ । ज्येष्ठ नागरिकलाई भने ३०-४० मिनेट समय दिनुपर्ने डा. बोगटी बताउँछन् । ‘उहाँहरूको एक्लोपन, डिप्रेसन वा बिर्सने बानी हटाउन औषधि भन्दा मायाको खाँचो हुन्छ’ उनी भन्छन्, ‘त्यसै अनुसार सल्लाह-सुझाव र काउन्सिलिङ दिनुपर्ने हुन्छ ।’

नेपालमा एक त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा सहरकेन्दि्रत छ । त्यसमाथि, सरकारले स्वास्थ्य बीमाको व्यवस्था गरे पनि वर्षैपिच्छे नवीकरण गर्नुपर्ने हुँदा झन्झट भएको उनी बताउँछन् । सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमामार्फत एक लाख रुपैयाँसम्मको उपचार सेवा लिन पाउने व्यवस्था गरेको छ ।

नेपालमा ६० वर्षमाथिका करिब ३० लाख नागरिक छन् । यो उमेर समूहको उपचारमा विज्ञता हासिल गरेका चारै जना चिकित्सक काठमाडौं केन्दि्रत छन् । अहिले जन्मदर एकदमै घटेको छ । अब विस्तारै पाँच वर्षभन्दा मुनिका कम र ज्येष्ठ नागरिक बढी हुँदै जाने छन् । सन् २०५० तिर नेपालमा ६० वर्ष नाघेका नागरिकको संख्या ६० लाखभन्दा बढी हुने डा. बोगटी बताउँछन् ।

‘ज्येष्ठ नागरिक रोग पनि बढ्दै गएको छ । त्यो अवस्थालाई ध्यानमा राखेर तयारी थालिहाल्नुपर्ने हो’ उनी भन्छन्, ‘तर त्यस अनुसार काम हुन नसकिरहेको अवस्था छ ।’

तस्वीर : चन्द्र आले

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?