+
+

‘गीता’लाई पाठ्यक्रममा राखेर के हासिल गर्न चाहन्छ गुजरात सरकार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:२०

नयाँ दिल्ली । भारतको गुजरात राज्य सरकारले नयाँ शैक्षिक सत्रदेखि माध्यमिक र उच्च माध्यमिक तहको पाठ्यक्रममा भागवत गीता समावेश गर्ने निर्णय गरेको छ । तर जानकारहरुले पाठ्यक्रममा भागवत गीता समावेश गर्दा आउने दिनमा विवाद सिर्जना हुनसक्ने बताइरहेका छन् ।

गुजरात सरकारको यस्तो निर्णयपछि केन्द्रीय मन्त्री प्रल्हाद जोशीले गुजरातको जस्तै अन्य राज्यका स्कुलले भागवत गीता पढाउनुपर्ने बताएका छन् ।

‘भागवत गीताले हामीलाई नैतिकता सिकाउँछ । यसले हामीलाई समाज कल्याणप्रति हाम्रा कर्तव्यबारे ज्ञान दिन्छ । गीतामा छात्रलाई प्रेरित गर्न सक्ने कैयौं नैतिक कथा छन् । हर राज्यले यो बारेमा सोच्नुपर्छ,’ जोशीले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

गुजरात सरकारको निर्णयपछि कर्नाटक सरकारले पनि माध्यमिक शिक्षाको पाठ्यक्रममा भागवत गीता समावेश गर्नेबारे विचार गरिरहेको छ । इकोनोमिक टाइम्सका अनुसार कर्नाटकका शिक्षामन्त्री बीसी नागेशले यस विषयमा मुख्यमन्त्री बासवराज बोम्मईसँग छलफल भइरहेको बताएका छन् ।

गुजरातका शिक्षामन्त्री जीतु वाघानीले राज्य विधानसभामा बजेट पेस गर्दै दुईवटा घोषणा गरेका छन् । जसमा एक कक्षाबाटै अंग्रजी पढाउनुपर्ने छ भने कक्षा ६ को पाठ्यक्रममा भागवत गीता समावेश गर्नपर्नेछ । पाठ्यक्रममा भागवत गीताका श्लोक र पाठलाई पनि समावेश गरिने बताइएको छ ।

राज्यका शिक्षा सचिव विनोद रावले इण्डियन एक्सपे्रससँगको कुराकानीमा माध्यमिक तथा उच्च माध्यमिक तहमा चरणवद्ध रुपमा भागवत गीता पढाउने बताएका छन् । राज्य सरकारले भागवत गीताका लागि कुनै छुट्टै पुस्तक नबनाउने बताएपनि भएका विषयमा गीताका पाठ समावेश गरिने जनाएको छ ।

राज्य सरकारको यस्तो निर्णयले धार्मिक लडाइँ सुरु हुनसक्ने जानकारहरुले आशंका व्यक्त गरेका छन् । यो कदमले बालबालिकाको मानसिकतामा धर्मसम्बन्धी विवादले असर पुर्‍याउने उनीहरुले बताएका छन् ।

शिक्षाविद् प्रफुल्ल गड्वीले सरकारको उक्त निर्णयले अर्को धार्मिक सम्प्रदायका बालबालिकामा असर पर्न सक्ने बताएका छन् । ‘बालबालिकालाई गीताका श्लोक पढाउनु गलत होइन । तर यसले विवाद उत्पन्न हुन सक्छ । जसकारण  उनीहरुको पढाइमा प्रतिकूल असर पर्न सक्छ,’ गड्वीले भने ।

गीतालाई पाठ्यक्रममा समावेश गर्दा अन्य धर्मका बालबालिकाबीच हीनभावना उत्पन्न हुनुका साथै दूरी बढ्ने उनको भनाइ छ ।

‘यो विवादले बालबालिकामा धर्मलाई लिएर भ्रम उत्पन्न गराउन सक्छ । यदि बाल्यकालमै धर्मका विषयमा यस्तो कुरा सिकायौं भने उनीहरु भारतीय नभई हिन्दू, मुस्लिम, इसाई वा जैन बन्न सक्छन्,’ उनले भने ।

गुजरातका शिक्षामन्त्री जीतु वाघानी

नैतिकताको सिकाइ’ 

शिक्षामन्त्री वाघानीले कक्षा ६ देखि आठसम्म भागवत गीताका पाठ र श्लोकहरु राखिने भएपनि ९ देखि १२ सम्मको पाठ्यक्रममा गीतालाई पाठ्यपुस्तककै रुपमा पढाइने बताएका छन् ।

साथै गीतालाई सघाउन स्कुलमा नाटक प्रतियोगिता, निबन्ध लेखन र श्लोक सुनाउने जस्ता कार्यक्रम पनि सञ्चालन हुने उनले बताए । पाठ्यक्रममा गीता समावेश गर्दा बालबालिकामा भारतीय संस्कृति र नौतिकताको विकास हुने वाघानीले जिकिर गरेका छन् ।

सरकारको उक्त निर्णयमा प्रमुख विपक्षी दल कांग्रेस आईले विरोध जनाएको छ । कांग्रेस प्रवक्ता हेमंग रावलले गीतालाई पाठ्यक्रममा राख्नु गलत नभएपनि भारतीय जनता पार्टी (भाजपा)ले बालबालिकालाई नौतिकता सिकाउने नाममा ठग्ने काम गरिरहेको बताएका छन् ।

भाजपाको सरकार आउनु भन्दा अघि आफूले पढ्ने बेलामा पनि महाभारत र रामायणका कथा पढाइ हुने गरेको उनको भनाइ छ । त्यसबेला कक्षा ८ मा संस्कृत अनिवार्य गरिएको थियो भने १० मा वैकल्पिक विषयका रुपमा राखिएको थियो ।

भाजपाको सरकार आएपछि उसले सबै नैतिक कथा र साहित्यलाई हटाएको रावलले गुनासो गरेका छन् ।

शिक्षाविद् हसमुख क्रिश्चियनले सरकार पर्दा पछाडिबाट धर्मलाई पाठ्यक्रममा समावेश गर्नका लागि विद्यार्थीलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । शिक्षामन्त्री वाघानीको भनाइ उल्लेख गर्दै हसमुखले भनेका छन्, ‘उनी गीतालाई पाठ्यक्रममा समावेश गरेर छात्रलाई नैतिकता सिकाउने कुरा गरिरहेका छन् । के अहिलेसम्म बालबालिकालाई नैतिकता सिकाइएको छैन ?’

उनी प्रश्न गर्छन्, ‘के भागवत गीतामा मात्रै नैतिकताको सबक सिकाउने सूत्र छ ? कुरान, बाइबल, गुरु ग्रन्थ साहिब तथा अन्यमा छैन ?’

सरकारको यो निर्णयले धर्मका नाममा आगामी पुस्तालाई विकासको सट्टा विनासको बाटोमा हिडाउँने उनले बताए ।

कानुनी स्थिति

प्रफुल्ल गड्वीले धर्म प्रचारको उद्देश्यले शिक्षा प्रणालीमा एक मात्र धर्मको शिक्षालाई जोड्नुलाई असंवैधानिक भनेका छन् ।

‘बालबालिकालाई भागवत गीता पढाउँदा अन्य धर्मप्रति आस्था राख्नेले विरोध गर्न सक्छन् वा आफ्नो धर्मलाई पनि समावेश गर्न माग राख्न सक्छन् । सर्वसाधारण यो फैसलाविरुद्ध अदालत जान सक्छन्, जसको प्रत्यक्ष असर बालबालिकामा पर्न सक्छ,’ गड्वीले भनेका छन् ।

भारतको संविधानअनुसार भारत धर्म निरपेक्ष राष्ट्र हो । धर्म निरपेक्ष राष्ट्र भएकाले यो कार्यलाई देश बाहिरबाट पनि चुनौती दिन सकिने गड्वी बताउँछन् ।

हसमुखका अनुसार भारतमा १६ हजार इसाई स्कुल र ४०० कलेज छन् । अल्पसंख्यक भएका नाताले उनीहरुले आफ्नो भाषा, संस्कृति जोगाउने र संरक्षण गर्नुपर्छ, जुन अधिकार पनि हो । तर उनीहरुले त्यस्तो गरेका छैनन् । कारण ती स्कुलमा अन्य धर्मका बालबालिकासमेत अध्ययन गर्छन् । ‘शिक्षाको उद्देश्य कुनै खास धर्मलाई बढावा दिने होइन,’ हसमुखले भने ।

अन्य धर्मका मूल्य मान्यता पनि सिकाउनुपर्छ’

अहमदाबाद स्कुल बोर्डका पूर्व सदस्य इलियास कुरैशीले गुजरातले भागवत गीता पढाउनुमा कुनै आपत्ति नरहेको भएपनि अन्य धर्मका विषयमा पनि पढाउनुपर्ने बताएका छन् ।

गीतामा भएका कुराहरु कुरान, बाइबल तथा गुरु ग्रन्थ साहिबमा पनि उल्लेख गरिएको उनको भनाइ छ । असउद्दिन ओवैसी पाटी एआईएमआईएमका अहमदाबाद कर्पोरेटर जनैब शेखले स्कुलमा गीतका साथै अन्य धर्मलाई पनि पढाउनुपर्ने बताएका छन् ।

बालबालिकालाई भागवत गीता पढाएर उनीहरुको मनमा हिन्दू धर्मको छवि अन्य धर्मभन्दा राम्रो बनाउँदै गएको उनीहरुको आरोप छ । तर अहमदाबाद एजुकेसन ग्रुपका सल्लाहकार जंकृत आचार्य भने यसप्रति असहमत छन् ।

‘शिक्षा विभाग ढिलो भएपनि जागेको छ । गीतालाई पहिल्यै पाठ्यक्रममा समावेश गरिसक्नु पर्ने थियो । कम उमेरमै यो पढ्दा जीवनका संघर्ष कम हुँदै जान्छन्’ उनले भनेका छन् ।

‘गीतालाई धार्मिक ग्रन्थ मान्नुभन्दा गैर साम्प्रदायिक ग्रन्थका रुपमा लिनुपर्छ । ताकि बालबालिकालाई राम्रो शिक्षा मिलोस्,’ आलोचकलाई जवाफ दिंदै आचार्यले भनेका छन् ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?