+
+

पलका म्यानेजर जोशीविरुद्ध अभियोग : सम्बन्ध राख्न सहज बनाइदिए, घटना लुकाउन भूमिका खेले

गौरव पोखरेल गौरव पोखरेल
२०७८ चैत ८ गते १८:३१
पल शाह र उनका म्यानेजर कृष्ण जोशी

८ चैत, काठमाडौं । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीले किशोरीविरुद्ध भएको जबरजस्ती करणीको घटना लुकाउन भूमिका खेलेको दावीसहित जिल्ला अदालत तनहुँमा अभियोग पत्र दर्ता भएको छ ।

मंगलबार जबर्जस्ती करणी मुद्दामा शाहसँगै जोशीलाई पनि विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा जोशीले शाहसँग किशोरीलाई सम्बन्ध राख्न र नजिक हुन वातावरण बनाएको निष्कर्ष निकालिएको छ । शाहसँग घुम्न जाँदा उनले भनेको सबै कुरा माने भविष्य राम्रो हुन्छ भनेर किशोरीलाई प्रलोभन देखाएको पनि उल्लेख गरिएको छ ।

पीडित किशोरीको बुबाले दिएको पूरक जाहेरीमा पनि जोशीले शाहसँग ‘सम्बन्ध राख, तिमीलाई विवाह गर्छ, तिम्रो भविष्य राम्रो हुन्छ’ भनेर फकाएर एउटै कोठामा बस्न बाध्य पारेर जबरजस्ती करणी गर्ने व्यवस्था मिलाएको भनिएको छ ।

करणी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न र मिल्न दबाब पनि उनले दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । ‘मुख्य अपराधीलाई जोगाउन उनले आपराधिक षड्यन्त्रको कसूर गरेका थिए’ पूरक जाहेरीमा उल्लेख छ ।

शाहका म्यानेजर जोशी स्वयंले पनि बयानमा पीडितलाई प्रलोभनमा पार्न खोजेको स्वीकारेका छन् । उनले किशोरीबारे सूचना संकलन गर्न एक जनालाई प्रलोभन देखाएको पनि खुलाएका छन् ।

‘मलाई शाहले पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नाबालिकालाई एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ भन्दा पीडितले उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ’ जोशीले भनेका छन्, ‘अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पनि पठाएको थिएँ ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुरुमा मासिक २५ हजार रुपैयाँमा काम गरिरहेका म्यानेजर जोशीको शाहसँग मनमुटाव भएपछि २०७८ असारमा म्यानेजरबाट हटाइएका थिए । तर केही समयपछि विवाद सुरु भएपछि शाहले उनलाई सम्पर्क गरेर तलब दोब्बर बनाएर सहयोग गर्न भनेका थिए । ‘त्यसपछि नै उनले पीडितलाई प्रलोभन देखाउन र उनको हरेक गतिविधिबारे सूचना संकलन गर्न थालेका थिए’ ती अधिकृत भन्छन् ।

किशोरीको गतिविधिबारे सूचना संकलनका लागि उनले अधिकारीलाई प्रस्ताव गरेका थिए । अधिकारीको बयान अनुसार उनलाई पीडित नाबालिका ‘कहाँ जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसबारे राम्रो नराम्रो खबर बुझेर दिए ५० लाख रुपैयाँसम्म’ दिने प्रस्ताव राखिएको थियो ।

साथै, उनलाई म्यूजिक भिडियोमा खेल्ने अवसर पनि दिने आश्वासन दिइएको थियो । तर, नमानेपछि धम्कीपूर्ण म्यासेज पठाएको भनिएको छ । यसरी पठाइएको म्यासेज आफ्नै भएको जोशीले पनि स्वीकारेका छन् ।

जोशीले आवेगमा ‘आफूलाई मान्छे मार्न केही जस्तो लाग्दैन’ भनेर समेत भनेको बयान दिएका छन् । सरकारी वकिलको कार्यालय, तनहुँले उनलाई मुलुकी अपराध संहिता अनुसार जबर्जस्ती करणीको मतियारको कसूरमा सात वर्ष जेल सजाय माग दाबी गरेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?