+
+
विश्व पानी दिवस :

काठमाडौंमा मागको २३ प्रतिशत मात्रै पानी दिन्छ सरकार

काठमाडौं उपत्यकामा दैनिक ४७ करोड २० लाख लिटर खानेपानीको माग भएपनि दैनिक औसत आपूर्ति भने ११ करोड लिटर मात्रै छ । यो आंकडाले कुल मागको २३ प्रतिशत पानीबाट उपत्यकाको जीवन धानिएको देखाउँछ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ चैत ८ गते २०:१८
Photo Credit : purewatermovement.org

८ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा अहिले दैनिक ४७ करोड २० लाख लिटर खानेपानीको माग छ । दैनिक औसत आपूर्ति भने ११ करोड लिटर मात्रै छ । कुल मागको २३ प्रतिशत पानीबाट उपत्यकाको जीवन धानिएको यो आँकडाले देखाउँछ ।

आर्थिक वर्ष २०७७/७८ मा आपूर्ति भइरहेको पानीमा भूमिगत पानीको हिस्सा ४२ प्रतिशत रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को तथ्यांक छ । उपत्यकामा दैनिक १३ करोड ७० लाख लिटर पानी उत्पादन हुँदा औसत ५ करोड ८७ लाख लिटर पानी भूमिगत स्रोतबाट प्राप्त हुन्छ ।

नदीनालाबाट काठमाडौंमा दैनिक औसत ७ करोड ६८ लाख लिटर वितरण योग्य पानी उत्पादन हुन्छ । १३ करोड ७० लाख लिटर पानी उत्पादन भएपनि ११ करोड लिटर पानी मात्रै आपूर्ति हुने गरेको केयूकेएलको तथ्यांकमा देखिन्छ । करिब २ करोड ७० लाख लिटर पानी दैनिक रुपमा चुहावट हुने गरेको छ ।

सुक्खा मौसम सुरु भएपछि माघ, फागुन, चैत, वैशाख र जेठमा पानी आपूर्ति ११ करोड लिटरभन्दा पनि तल झर्ने गरेको छ । जबकी, केयूकेएलले नै दुई लाख ३८ हजार धारा जडान गरेको छ ।

उपत्यकाका लागि सुन्दरीजल, सातमूल, कुटुरी, देवकी वासुकी, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, महादेवखोला, पाँचमाने, छहरे, अल्ले लगायत स्थानबाट पानी संकलन हुन्छ । यसमध्ये पनि सुन्दरीजल खानेपानीको मुख्य स्रोत हो । त्यस्तै, केयूकेएलले उपत्यकाका ८० स्थानबाट भूमिगत पानी निकालेर वितरण गर्छ ।

केयूकेएलका अनुसार ट्यांकरबाट पनि वर्षमा २१ हजार ३०० ट्रिप पानी आपूर्ति हुन्छ । दैनिक औसत ५८ ट्रिप ट्यांकरको पानी काठमाडौंमा माग हुने गरेको केयूकेएलको तथ्याङ्क छ । तर, तथ्यांक राख्ने व्यवस्थित प्रणाली नभएकाले यो भन्दा दोब्बरसम्म ट्यांकरको पानी खपत भइरहेको हुनसक्ने केयूकेएलका अधिकारीहरु बताउँछन् ।

काठमाडौंमा ५ हजारदेखि १० हजार लिटरसम्मको ट्यांकरले प्रतिट्यांकर २ हजारदेखि ३५ सयसम्म शुल्क लिन्छन् । यसले उपभोक्तालाई चर्को मूल्य तिरेर पानी किन्नुपर्ने बाध्यतामा पारेको छ । जार र बोतलबाट हुने पानी आपूर्तिको पनि यकीन विवरण पाइँदैन ।

हरेक वर्ष उपत्यकामा खानेपानीको माग करिब १० प्रतिशतका दरले बढ्छ । जथाभावी भएको वस्ती विस्तारले मूल सुक्दै जाने र पानीको माग निरन्तर बढ्दै जाने अवस्थाले भूमिगत पानीको निर्भरता झन् बढ्न थालेको छ ।

१ फागुन २०६४ मा उपत्यका खानेपानी विकास बोर्डले केयूकेएललाई ३० वर्षका लागि काठमाडौंमा खानेपानी वितरणको जिम्मा दिएको थियो । खानेपानी संस्थानबाट अलग बनाएर कम्पनीमार्फत खानेपानी वितरण गर्दा प्रभावकारी हुने अपेक्षा गरिएपनि अवस्था झन खराब बन्दै गएको छ ।

मेलम्चीको विकल्प खोजिंदै

मेलम्चीको पानी आएपछि अवस्था सुध्रने अपेक्षा गरिएपनि अब त्यसमा धेरै भर पर्न नहुने अवस्था देखिएको केयूकेएलकै अधिकारीहरु बताउँछन् ।

काठमाडौंमा वितरण सुरु भएको मेलम्ची खानेपानी आयोजनालाई २०७८ असार १ गते आएको बढीले तहसनहस पारेको छ । आयोजनाबाट फेरि चैतसम्म पानी ल्याउन सरकारले ठेकदार परिचालन त गरेको छ, तर मुहानस्थलमा फेरि बाढी आउँदा सुरुङमा नै क्षति पुग्न सक्ने खतरा रहेकाले काठमाडौंमा मेलम्चीको पानी पनि मौसमी रुपमा मात्रै आउने अवस्था बनेको छ ।

माथिल्लो तटीय क्षेत्रमा पहिरोको जोखिम रहेसम्म हरेक वर्षादमा मेलम्चीको सुरुङ बन्द राख्नुपर्ने अवस्था रहेको आयोजनाका अधिकारीहरु बताउँछन् । यसअनुसार चैतमा काठमाडौंमा मेलम्चीको पानी फेरि झरेपनि असार नलाग्दै बन्द गर्नुपर्ने छ । बाढी नआएपनि २०७९ को दशैंपछि मात्रै मेलम्चीको सुरुङ खोलेर पानी भर्न सकिने अवस्था छ ।

मेलम्चीको सपनामा तुषारापात भएपछि अहिले यसको विकल्पमा आयोजनाहरु बनाउने तयारी सुरु भएको छ । मेलम्चीकै सुरुङ प्रयोग गरेर सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउन विस्तृत अध्ययन भइसकेको छ । नयाँ आयोजना पुरा भए काठमाडौंमा दैनिक ३४ करोड लिटर पानी थपिनेछ ।

बाढीले क्षतिग्रस्त मेलम्चीको सुरूङसहितको मुहान क्षेत्र

तर, पहिलो परियोजना नै संकटमा फसेकाले मेलम्ची खानेपानी विकास समितिले तत्काल दोस्रो खण्ड अघि बढाउन सक्ने अवस्था छैन ।

यो अवस्था बुझेपछि थप वैकिल्पक स्रोतको खोजी सुरु भएको छ । यही क्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको टोली सोमबार मकवानपुरको प्रस्तावित सिस्नेरी खानेपानी आयोजनाको बाँध निर्माणस्थलमा पुगेको थियो ।

बोर्डका अध्यक्ष तथा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ तथा काठमाडौं र ललितपुरका वडाध्यक्षसहितको टोलीले सिस्नेरी खोला पुगेका हुन् ।

काठमाडौं उपत्यकाका लागि मेलम्ची पछिको अर्को विकल्पका रुपमा हेरिएको सिस्नेरी खानेपानी आयोजना निर्माण सुरु भए नेपालकै दोस्रो ठूलो आयोजना हुनेछ । बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले उपत्यकामा जनसंख्या बढेसँगै चर्केको खानेपानीको हाहाकार हटाउन समयमै अन्य स्रोतहरुको पहिचान गरेर काम अघि बढाउनुपर्ने बताउँछन् ।

सिस्नेरी खोला

भ्याली बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले ललितपुरभित्र सिस्नेरीको पानी लैजाने गरी आयोजना अघि बढाउन खोजिएको बताए । भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा बन्ने आयोजनामा करिब २० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

अस्तव्यस्त बोरिङ

पानीको स्रोत खोज्दै उपत्यका आसपासका खोला चाहारिरेहका जनप्रतिनिधिहरु भूमिगत पानी पुनर्भरण र संरक्षण गर्न भने उदासीन छन् ।

काठमाडौं उपत्यकाभरि सार्वजनिक खाली जमिनहरुमा कंक्रिट संरचना बनाउने प्रवृत्ति मौलाएको छ । पार्क बनाउने नाममा समेत पक्की संरचना बनाउँदा भूमिगत पानी पुनर्भरणको बाटो टालिएको छ ।

यही बेला डिप बोरिङबाट पानी निकाल्ने क्रम बढेको छ । जमिनमुनि पहिलो तहमा पानी सकिएर स्यालो ट्युववेल काम नलाग्ने भएपछि डिप बोरिङबाट दोहन तीव्र भएको छ । परिणाम, युगौंदेखि खानेपानीको स्रोतको रुपमा रहेका ढुंगेधाराहरु हिउँदभर सुख्खा हुन्छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्यांकअनुसार, काठमाडौंमा अहिले अनुमति लिएका करिब ७०० डिप बोरिङ छन् । करिब ३०० डिप बोरिङ अवैध रुपमा चलेको अनुमान छ ।
/f
बोर्डका अनुसार सन् २०१० देखि नै डिप बोरिङको लागि अनुमति लिनपर्ने कानुनी व्यवस्था गरिएको थियो । त्यसअघिका धेरै डिप बोरिङले अझै अनुमति लिएका छैनन् । जबकि काठमाडौंमा सन् १९९० को दशकबाटै डिप बोरिङ चलाउनेहरु पनि छन् ।

बोर्डका अनुसार हरेक साल काठमाडौंमा डिप बोरिङ गर्नेको संख्या बढिरहेको छ । धेरै पानी खपत गर्ने होटल, उद्योग, अस्पताल, दूतावास, सपिङ मल, व्यापारिक भवन लगायतलाई अनुमति दिनैपर्ने अवस्था रहेको भ्याली बोर्डका कार्यकारि निर्देशक राणाले बताए ।

‘पानी आपूर्ति सहज नभएसम्म काठमाडौंमा डिप बोरिङ रोक्न सकिने अवस्था छैन,’ उनी भन्छन्, ‘नियमअनुसार अनुमति माग्नेहरुलाई हुन्न भन्न सकिन्न ।’

सबैभन्दा बढी डिप बोरिङ गर्नेमा काठमाडौं उपत्यका खानेपाली लिमिटेड (केयूकेएल) नै छ । डिप बोरिङको अनुमति लिँदा वातावरण, भूगर्भ र पर्यावरणमा पर्न सक्ने असरबारे अध्ययन गरिरहनु पर्दैन । यीबाहेकका कागजात पेश गरेर बोर्डबाट सहजै अनुमति पाइन्छ ।

बोर्डले अनुगमन पनि खासै नगर्ने भएकाले अनुमति नलिई बोरिङ गर्नेले पनि सहजै उन्मुक्ति पाइरहेका छन् । अनुमति लिएकाहरुले पानी पुनर्भरण गर्न इनार वा पोखरी बनाएर वर्षे पानी खसाल्नपर्ने एउटा शर्त छ ।

त्यसका लागि आफ्नो क्षेत्र अपर्याप्त वा अपायक भए विद्यालय, कलेज, सार्वजनिक ठाउँ लगायतका खुला क्षेत्रको प्रस्ताव गर्न सकिन्छ । तर, अहिलेसम्म अनुमति लिएकामध्ये बढीमा सय जनाले यो मापदण्ड पालना गरेका छन् ।

भूमिगत जलस्रोत विकास बोर्डको एक अध्ययनअनुसार काठमाडौंको जमिनमुनिको पानीको सतह वर्षेनी कम्तीमा ५० सेन्टिमिटरका दरले घटिरहेको छ । काठमाडौंमा जमिनमुनिबाट प्रतिवर्ष २९.५२५ मिलियन क्युबिक मिटर पानी झिकिन्छ ।

भूमिगत पानीको पर्याप्तता, जल सतह, जल उपयोगको अवस्था, पुनर्भरणको सम्भावना, जनघनत्व आदिलाई आधार मानी भूमिगत पानीको उपलब्धता सम्बन्धी क्षेत्रको रुपमा बोर्डले आफनो भौगोलिक क्षेत्रलाई सुरक्षित, अर्ध संवेदनशील र संवेदनशील गरी तीन किसिमले वर्गीकरण गरेको छ ।

बानेश्वरमा पानी सुकेको ढुंगेधारा

सुरक्षित क्षेत्रमा ३० मिटर र अन्य क्षेत्रमा ५० मिटरभन्दा गहिराइबाट पानी तान्न रोक लगाइएको छ । घरायसी उपयोगकर्तालाई भने यो नियम लागू हुँदैन ।बोर्डको निर्देशिका अनुसार, सुरक्षित क्षेत्रमा गाडिने डिप बोरिङबाट प्रतिसेकेन्ड २ लिटरदेखि १५ लिटरसम्म पानी निकाल्न पाइन्छ । अर्ध संवेदनशील क्षेत्रका बोरिङलाई २ लिटरदेखि ७ लिटरसम्मको सीमा तोकिएको छ भने संवेदनशील क्षेत्रमा २ लिटरदेखि ३ लिटर प्रतिसेकेन्ड ।

काठमाडौंको गोंगबु, धापासी, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बुढानिलकण्ठ, चपली, महाँकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, गोठाटार, नयाँपाटी, थली, झोर, इचंगुनारायण सुरक्षित क्षेत्रमा सूचीकृत छन् । भक्तपुरको बोडे र मनहरा क्षेत्रलाई पनि सुरक्षित क्षेत्र मानिएको छ ।

काठमाडौंको सीतापाइला, स्युचाटार, नैकाप, तीनथाना, बलम्बु, मच्छेगाँउ, सतुंगल, मातातीर्थ र बाडभञ्ज्याङसहित नगरपालिकाका क्षेत्र र ललितपुरको कुपण्डोल, ज्वागलसहित भक्तपुरको सहरी क्षेत्रलाई अर्ध संवेदनशील क्षेत्रमा राखिएको छ ।

काठमाडौंको दक्षिणकाली, शेषनारायण, छैमले तथा ललितपुरको कुपण्डोल र ज्वागलबाहेकका भाग र भक्तपुरको उत्तरी भेग र सहरी क्षेत्र बाहेकलाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको छ ।
संवेदनशील भनिएका क्षेत्रमा पनि विभिन्न उद्योग तथा प्रतिष्ठानहरुले डिप बोरिङको अनुमति लिने क्रम बढेको छ ।

बोरिङबाट पानी तोर चलाउनु आफैंमा गलत काम होइन, तर अधिक दोहनले मरुभूमिकरण निम्त्याउने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, पानी निकालेर प्रयोग गरिरहने तर पुनर्भरण हुन नदिने हो भने जमिनमुनि पानी सकिन धेरै समय लाग्दैन ।

भूमिगत जलस्रोतका जानकार डा. राजु अधिकारी जमिनमुनिको पानीले सतहको जमिनलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । उनका अनुसार, जमिनमुनि रुखका जराजस्तै पानीका स–साना नशा (क्यापिलरी) फैलिएका हुन्छन् । ती जल नशाहरुले नै बोटबिरुवालाई चाहिने पानी पुर्‍याउँछन् ।

त्यो भन्दामुनि जम्मा भएको पहिलो सतहको पानी क्यापिलरीहरुबाट इनार, कुवा र ढुंगेधाराहरुमा आउँछ । त्यो सतहको पानी सकिएपनि बर्षायामको केही दिनमै भरिने डा. अधिकारी बताउँछन् ।

‘तर, डिप बोरिंगले दोस्रो सतहको पानी तान्छ,’ उनी भन्छन्, ‘दोस्रो सतहमा पानी जम्मा हुन दशकौं या कहिलेकाहीं शताब्दी नै लाग्छ ।’

उनका अनुसार, जमिनमुनिको दोस्रो सतहको पानीले पानीको पूरा आपूर्ति प्रणाली र जमिनमाथिको वातावरणलाई सन्तुलित राखेको हुन्छ । दोस्रो सतहको पानी सुक्यो भने त्यसको ठाउँ माटोले लिन्छ अनि जमिन सुख्खा हुदै र भासिंदै जाने खतरा हुन्छ ।

भूमिगत जलस्रोत विकास बोर्डका विज्ञ सुरेन्द्र श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाको जमिनको माथिल्लो भागमा कालोमाटोको तह छ । यो तह पार गरेर तल्लो तहमा पानी भण्डारण हुन यसैपनि लामो समय लाग्छ । शहरीकरणले भूमिगत पानीको पुनर्भरण प्रक्रियालाई थप अवरुद्व पारेको उनले बताए ।

करिब ३००० वर्ष लगाएर भूगर्भमा जम्मा भएको पानीको भण्डार रित्तिन नदिन के गर्ने भनेर सोच्नुपर्ने बताउँछन, इन्जिनियर सुदशर्नराज तिवारी । ‘२७० मिटरदेखि ३०० मिटरसम्म तल जम्मा भएको पानी दुरुपयोग हुन दिनै हुँदैन,’ उनी भन्छन्, ‘पानी पुनर्भरण गर्ने पुराना पोखरी र खाली जमिनहरुलाई पनि पहिलेको अवस्थामा फर्काउन पर्छ ।’

तिवारी यो विषयलाई काठमाडौं भासिन्छ, भासिँदैन भन्ने कोणबाट मात्र हेर्न नहुने बताउँछन् । उनका अनुसार, यो नेपाली प्रकृति, संस्कृति र सभ्यता रक्षासँग गाँसिएको विषय हो । काठमाडौंलाई बस्न लायक शहर बनाउन पनि डिप बोरिङहरु हटाउँदै जानुपर्ने तिवारीको भनाइ छ ।

काठमाडौंजस्तो घना बस्ती र जोखिमपूर्ण भूबनोट भएको ठाउँमा भूमीगत पानी दोहन झन् खतरनाक हुने डा. अधिकारी बताउँछन् । अनियन्त्रित डिप बोरिङले गम्भीर समस्या निम्त्याउने भएकाले यसलाई व्यवस्थित गर्ने थप कानून र पानीका नयाँ स्रोत अत्यावश्यक भएको उनले बताए ।

उनका अनुसार जमिनमुनि पानीको तह सुकेपछि रुखबिरुवा उम्रन छोड्छ । जमिनमुनि पानी कम हुँदा ओसिलोपन सकिने हुनाले अन्न बाली पनि सप्रन छोड्छन् र विस्तारै मरुभूमीकरण सुरु हुन्छ । जसले पानीको हाहाकारलाई थप बढाउँछ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?