
९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । नयाँ आर्थिक वर्षको बजेट आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिन अगाडि अर्थात १५ जेठमा संसदमा प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ ।
बजेट लेखनमा खटिनका लागि अर्थ मन्त्रालयले ‘कोर टिम’ सार्वजनिक गरिसकेको छ । मन्त्रालयका अनुसार राजस्व व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी तोकिएका छन् ।
अर्थले तोकेको यो कोर टिमले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्नेछ । बजेट वक्तव्यको मस्यौदा समेत यसै टिमबाट तयार हुनेछ ।
नयाँ टिमसँग छैन अनुभव
अर्थ मन्त्रालयमा यस पटक विल्कुलै नयाँ टिमले बजेट बनाउँदै छ । अर्थात यो टिमसँग अघिल्लो आर्थिक वर्षमा बजेट लेखनको अनुभव छैन ।
अर्थमन्त्री जनार्दन शर्मा चालु आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेपछि मन्त्रालयको नेतृत्वमा आएका हुन् । अर्थसचिव मधुकुमार मरासिनीले सचिवको हैसियतमा बजेट बनाएका छैनन् । उनी सहसचिव हुँदा भने बजेट लेखनको कोर टिममा बसेर काम गरेका थिए । तर, राजस्व सचिव कृष्णहरी पुष्करसँग भने बजेट लेखनको अनुभव छैन । बजेट लेखनको कोर टिममा रहने गरी तोकिएका पाँचै जना सहसचिव भने बजेट लेखनको अनुभवका दृष्टिकोणबाट ‘फ्रेस’ अनुहार हुन् ।
‘सचिवज्यूले सहसचिवको भूमिकामा बजेट बनाएको अनुभव बाहेक अहिले सबै नयाँ टिमले बजेट लेख्नेछ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘साथ–सहयोग त हामी सबैले गर्छौं ।’
बजेट लेखनमा मन्त्रालयले बनाएको ५ सदस्यीय ‘थिंक ट्यांक’ र वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले समेत योगदान गर्नेछन् । यी सबै बजेट लेखनमा नयाँ अनुहार हुन् । अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनी भने चालु आर्थिक वर्षको बजेट अध्यादेश प्रतिस्थापन गर्ने विधेयक बनाउँदा भने आफैं खटिएर काम गरेका थिए । उता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल समेत बजेट निर्माणको प्रक्रियामा नयाँ अनुहार हुन् ।
प्राथमिकतामा कृषि
आगामी आवको बजेटको प्राथमिकतामा सरकारले कृषि क्षेत्रलाई राख्ने भएको छ । सोही अनुसार बजेट निर्माण भइरहेको अर्थमन्त्री शर्माले बताएका छन् ।
गत सोमबार रुकुममा उनले भनेका थिए, कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम बनाउन सुरु भएको छ ।’
उनका अनुसार आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउनु पर्ने अवस्थाका बीच कृषिमा बढी लगानी केन्द्रित हुने गरि आगामी आवको बजेट बन्ने उनले बताएका छन् ।
प्रधानमन्त्रीको समेत जोडबल कृषिमा बजेट केन्द्रित होस भन्ने रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अर्थमन्त्रीले पूर्वाधारमा समेत बजेटले प्राथमिकता पाउने बताएका छन् ।
सुझाव संकलन गर्दै अर्थमन्त्रालय
अर्थ मन्त्रालयले यतिबेला आगामी आर्थिक वर्षको बजेटमा समेट्नु पर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सरोकारवालाबाट सुझाव संकलन कार्य धमाधम गरिरहेको छ । मन्त्रालयले एक सातामा कम्तीमा दुई क्षेत्रबाट सुझाव संकलन गर्ने गरी छलफल अगाडि बढाएको छ ।
यसै क्रममा कृषि र पूर्वाधार क्षेत्रसँग अर्थमन्त्री, अर्थसचिवसहितको टिमले सुझाव संकलन गरिसकेको छ । अर्थलाई बजेट लेखनको प्रक्रियामा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राजस्व परामर्श विकास समितिले समेत आफ्नो तोकिएको जिम्मेवारी अनुसार सहयोग गर्छन् ।
मध्यमकालीन खर्च संरचना २०७८/७९ अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सीमा १७ खर्ब ९३ अर्ब रुपैयाँ हो ।
प्रतिक्रिया 4