+
+

बाटो पिच नहुँदाको आक्रोश : एमाले नेता फुयाँललाई थलीवासीले र्‍याखर्‍याख्ती पारे

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ९:१७

१० चैत, काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्‍याखर्‍याख्ती पारेका छन् ।

काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारे । त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै एमाले नेता एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाँल प्रहरीहरुसहित त्यहाँ पुगे ।

तर स्थानीयले उनलाई घेरा हालेर आजसम्म पनि बाटो किन पिच नगरेको भन्दै प्रश्न गरे । फुयाँलले ठेकेदारलाई दोष देखाउँदै जोगिने प्रयास गरे ।

तपाईंहरुको लागि लड्या लड्यै छु, बाटो पिच गराउँछु भन्दै आश्वासन दिए । तर स्थानीय झर्किए । उनीहरुले कुर्सिको लागि राजनीति गरेको, परिवारको लागि लडेको भन्दै आलोचना गरे ।

त्यसको जवाफमा फुयाँलले भने– म म अफिसर छोडेर राजनीतिमा आएको, जनताको लागि आएको ।

एकजना स्थानीयले भोटको राजनीति गरेको आरोप लगाउँदै फेरि प्रश्न गरे- कुर्सिको लागि पार्टी फुटाएको तिमीहरुले होइन ?

भिडबाट अनेक प्रश्नहरू बर्सिएपछि फुयाँल केही नरम देखिए । ठेकेदारलाई बोलाएर भोलि नै बाटो पिच गराउन थाल्ने बताउँदै उनले भने, ‘आज बाटो खोलौं । भोलि बिहान आठ बजे यही थली चौरमा मिटिङ गरौं ।’

तर स्थानीयले मानेनन् । १० वर्षसम्म नभएको काम भोलि एक दिनमा बन्छ र ? भन्दै प्रश्न गरे । उनीहरुले आजै काम सुरु नभएसम्म बाटो नखुलाउने अडान लिए ।

अनि स्थानीयले नारा लगाउन थाले- बाहाना बनाउन पाइँदैन, पछि हट्न पाइँदैन, झुठो आश्वासन मान्दैनौं… ।

त्यसपछि सांसद फुँयाल लरुक्क त्यहाँबाट बाटो लागे । जनताले नाराबाजी भने गरिरहेकै थिए ।

भिडियो : निश्चल नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?