+
+

दाङका किसानको गुनासो-भारतको गोभी भित्रियो, हाम्रो कुहियो

काउलीको बजार मूल्य प्रतिकिलो ५ रुपैयाँ मात्रै !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते ८:५८

१३ चैत, दाङ । घोराही उपमहानगरपालिका-६ गुरगइका प्रेमबहादुर चौधरीले दश कट्ठा जमिनमा व्यावसायिक काउली (गोभी) खेती गर्दै आएका छन् । उनले ६ कठ्ठा जमिनमा लगाएको काउली बेच्नलाई तयार छन्, तर बजार पाएका छैनन् ।

‘६ कठ्ठा जमिनमा उब्ज्याएको गोभी बिक्रीका लागि तयार भइसके’ उनले भने, ‘तर बजार पाएको छैन ।’ उत्पादन भएको काउलीले बजारमा राम्रो मूल्य नपाएको उनले बताए ।

भारतबाट सस्तोमा काउली आउँदा आफूहरूलाई बिक्री गर्न समस्या भइरहेको उनले सुनाए । ‘व्यवसायीले साह्रै कम मूल्यमा खरिद गर्न खोज्छन्’ उनले भने, ‘मूल्य नै नउठ्ने गरी बिक्री गर्दा समस्या भयो ।’

उनले प्रतिकिलो पाँच रूपैयाँमा बेच्दा आफ्नो लगानी नै नउठ्ने बताए । काउलीको बिउ हुर्काउँदादेखि तयार पार्दासम्म ५० हजार रूपैयाँसम्म खर्च भएकाले कम मूल्यमा बेच्दा लगानी नै नउठ्ने उनको भनाइ छ । ‘कम मूल्यमा बिक्री गर्दा मेहनत नै नउठ्ने भयो’ उनले भने, ‘घाटा खाएर बिक्री गर्नुभन्दा बरु गाई-भैंसीलाई खुवाउँछु ।’

उत्पादन भएको काउली एक साताभित्र बिक्री नभए बारमी खेर जाने उनी बताउँछन् । यस वर्ष जिल्लामा राम्रो उत्पादन भए पनि बाहिरबाट काउली भित्रिंदा बिक्री गर्न धौ-धौ भएको उनले बताए ।

घोराही-१६ का रामप्रसाद चौधरीले पनि ८ कट्ठा जमिनमा तीन वर्ष यता व्यावसायिक काउली खेती गर्दै आएका छन् । उनी यो वर्ष राम्र्रै काउली उत्पादन भए पनि बजारको समस्या भएको बताउँछन् । ‘दुःख गरेर तरकारी हुर्काइयो’ उनले भने, ‘उत्पादन पनि राम्रै भयो । तर बजारमा मूल्य पाएको छैन ।’

भारतीय तरकारी सस्तोमा भित्रिंदा आफ्ना तरकारीले मूल्य नपाउने उनले सुनाए । व्यवसायीले महँगो भयो भन्दै तरकारी खरिद गर्न नमान्दा बिक्री नहुँदा समस्या भइरहेको उनी सुनाउँछन् ।

तरकारी बिक्रीको लागि सहज गरिदिन भन्दै उनी वडासम्म धाए । ‘तरकारी बिक्रीको व्यवस्था गरिदेऊ भन्दा सबैले पहल गरिदिन्छौं भन्छन्’ उनले भने, ‘तर कहीँ कतै केही भएन ।’ उनले किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि कसैले चासो नदेखाएको गुनासो गरे ।

काउलीले उचित मूल्य नपाएपछि किसानले काउली प्रतिकिलो पाँच रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था छ । उपभोक्ताले भने बजारमा काउली ३० देखि ४० रूपैयाँ प्रतिकिलोसम्म किनेर खानुपर्ने बाध्यता छ ।

भारतबाट तरकारी धेरै आउने हुँदा जिल्लाभित्र तरकारी उत्पादन गर्ने किसान मार्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?