 
																			काठमाडौं । अलेक्जेन्डर क्याम्पबेलले उहिल्यै भनेका थिए– ‘बेलायती साम्राज्यमा घाम कहिल्यै अस्ताउँदैन ।’ तत्कालीन सापेक्षतामा उनको कुरा प्राविधिक रुपमा ठीकै होला । तर सन् २०२२ सम्म आइपुग्दा बेलायती साम्राज्य कति खुम्चिएको छ भन्ने कुरा छर्लङ्गै छ । कतिपय समीक्षक ठ्टटा गर्दै भन्छन्, ‘बेलायती उपनिवेशसँग अहिले जेम्स बन्डबाहेक अरु बाँकी छैन ।’
यस्तो लाग्छ, क्याम्पबेललाई चुनौती दिन निर्देशक एसएस राजामौली फिल्म ‘आरआरआर’ लिएर हलमा फर्किएका छन् । उनी निर्देशित तीन घण्टाभन्दा लामो फिल्मको केन्द्रमा एकातिर ‘विश्वगुरु’ बन्ने बाटोमा लम्किएको नरेन्द्र मोदीको भारत छ भने अर्कोतिर रामायण र महाभारत छन् । यसबाहेक ‘भारत’ भर्सेस ‘इण्डिया’को प्रवृत्तिगत असमानता पनि छ ।
यसअघि ‘मागाधिरा’ र ‘बाहुबली’जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरिसकेका राजामौलीले यसपटक ‘राष्ट्रवाद’ पस्किएका छन् । कथामा सन् १९२० मा बेलायती उपनिवेशबाट मुक्त हुन संघर्ष गरिरहेको भारत छ र अर्कोतिर ब्रिटिश उपनिवेशको अत्याचार । ‘आरआरआर’ यस्तो समयमा रिलिज भएको छ जतिबेला राजनीति मात्र होइन, भारतीय समाज र सिनेमा राष्ट्रवाद तथा धार्मिक मुद्दालाई लिएर विभाजित देखिन्छ ।
फिल्मको उत्कर्ष दृश्य त्यही ‘राष्ट्रवाद’को विम्ब हो, जहाँ प्रमुख खलपात्रद्वय स्कट बक्सटन (रे स्टेभन्सन) लेडी बक्सटन (एलिसन डुडी) जब नायकद्वारा मारिन्छन्, तब उनीहरुको रगत क्याम्बेलकै भनाइ लेखिएको पोस्टरमा लतपतिन्छ, अनि फिल्मको क्लाइमेक्स सकिन्छ । सालाखाला ‘आरआरआर’ त्यही बदला र स्वतन्त्रताको कथा हो जसलाई यसअघि पनि धेरै फिल्मले भनिसकेका छन् । तर राजामौलीसँग हुने भव्य सेट, चित्रकलाजस्ता फ्रेम, ‘लार्जर द्यान लाइफ’ दृश्यभाषा, चम्किला पात्र र प्रस्तुतीकरणले उनका फिल्म विशेष लाग्छन् ।
हलभित्र तीन घण्टा बिताउनु अधैर्य पक्कै हुन्छ । तर रामचरण र जुनियर एनटीआर अभिनित फिल्मको म्याराथन लम्बाइ र तपाईंको अधैर्यतासँग खास सम्बन्ध छैन । दृश्य, प्रकाश र रङसँगको भव्य भीएफएक्ससँगको भावनात्मक सम्प्रेषणले तपाईंले फिल्मको लम्बाइ बिर्सन बाध्य तुल्याउँछ । ‘मास्टर स्टोरीटेलर’ कहलिएका राजामौलीले यसपटक त्यो प्राविधिक भव्यतालाई पस्किएका छन् । तपाईंलाई दृश्यको स्पेसल इफेक्ट मनपर्छ भने टुडीभन्दा थ्रीडी प्रविधिमा ‘आरआरआर’ हेर्न सक्नुहुन्छ ।
कथामा नवीनता छैन तर शैली चाहिं नयाँ हो । अंग्रेज उपनिवेशबाट मुक्त हुन दुई जना स्वतन्त्रता सेनानीले गरेको संघर्ष वरपर फिल्मले फन्को मार्छ । हेर्दै र सुन्दै आएको कथामा निर्देशक राजामौलीले प्राविधिक भव्यता पस्किएका हुन् । सन् १९२० मा दिल्ली नजिकैको एक आदिवासी गाउँमा बेलायती गभर्नर स्कट बक्सटन र उसकी पत्नी पुग्छन् । आदिवासी किशोरी मल्लीबाट प्रभावित भएपछि ब्रिटिश दम्पतीले जबर्जस्ती उठाएर उनलाई दिल्ली लैजान्छन् । यो घटनाले किशोरीको परिवारलाई पीडा दिन्छ ।
अंग्रेज अफिसरबाट लगिएकी मल्लीलाई जसरी भएपनि फिर्ता ल्याउने प्रतिबद्धता उक्त समुदायका युवक कोमाराम भीम (जुनियर एनटीआर)ले गर्छन् । भीम र उसको उद्देश्यबारे जब अंग्रेजले थाहा पाउँछन्, कुनै हालतमा पनि उसलाई समात्न मिसन थाल्छन् । तर कसैलाई पनि थाहा हुँदैन कि भीम कस्तो देखिन्छ । प्रहरी अधिकृत अल्लुरी सीताराम (राम चरण)ले यो चुनौती स्वीकार्छन् अनि सुरु हुन्छ भागदौडको श्रृंखला ।

फिल्मको पहिलो हाफ अब्बल छ । केन्द्रीय द्वन्द्व, पात्र र उसको लक्ष्य स्थापना गज्जबसँग गरिएको छ । पात्रबीचको सम्बन्धको विकासले दर्शकलाई उनीहरुसँगै यात्रा गराउँछ । आरआरआर (राइज, रोअर, रिभोल्ट) नामाकरण गरिएको फिल्मले कथाको अवधारणाअनुसार अलग अध्याय पेस गरेको छ, जसमा द फायर (आगो) र द वाटर (पानी) छन् । निर्देशक राजामौलीले आफ्ना दुई नायक भीम र रामको पात्र स्थापना गर्न यो प्लट सिर्जना गरेका छन् । भारतीय फिल्ममा कथावाचनको नयाँ प्रयोगले चरित्र चित्रणमा मात्र मद्दत गरेको छैन, दर्शकलाई उनीहरुसँग साक्षात्कार गराउन पनि भूमिका खेलेको छ ।
जुन बिन्दुमा आएर निर्देशकले मध्यान्तर तुल्याएका छन्, त्यो प्लटको निर्माण निकै सुन्दर लाग्छ । अंग्रेजले चलाएको रेल दुर्घटनाग्रस्त भएपछि नदीमा डुंगा खियाइरहेको बालकलाई जोगाउन दुई मुख्य पात्रले गर्ने सहकार्य र मित्रता निकै बलशाली लाग्छ । द्वन्द्व र सम्बन्धको निर्माणमा बुनिएका साना–साना डिटेलिङ र ट्रिटमेन्टले दर्शकलाई उक्त पात्र र घटनासँग नजिक तुल्याएको मात्र छैन, दर्शक त्यसप्रति ‘कन्भिन्स’ समेत हुन बाध्य हुन्छन् । निर्देशन र छायांकनबीचको यो तादात्म्यताले फिल्मको स्थापनालाई ‘पर्फेक्ट टच’ दिएको छ ।
अनि फिल्मको समस्या चाहिं के ?
अवश्य पनि ‘आरआरआर’ पुरानै कथामा पेस गरिएको नयाँ क्राफ्ट हो । पहिलो हाफको तुलनामा मध्यान्तरपछिको प्लट संरचना कमजोर छ । जसरी अब्बल ढंगले मध्यान्तरअघिको फिल्म स्थापना गरिएको छ, फिल्मले मध्यान्तरपछि पटकथा र कतिपय प्राविधिक पक्षको लय गुमाएको छ । कतिपय दृश्य संरचनाले दर्शकलाई सहमत गराउँदैनन् । ‘फिल्म लिबर्टी’लाई सापटी लिने हो भने ती दृश्य तार्किक पनि लाग्लान् । आलिया भट्टको चरित्रको आयामलाई अझै विकसित गर्न सकिन्थ्यो ।
चित्र चल्दैमा ती चलचित्र हुँदैन । फिल्म फोटोग्राफी मात्र होइन, यो मुख्यतः कथावाचन हो । मध्यान्तरपछि प्लट संरचनामा देखिएको समस्याले क्लाइमेक्स अपेक्षित भावनात्मक बन्न सकेको छैन । यद्यपि, आकर्षक सिनेम्याटोग्राफी, स्टाइलिस एक्सन र ‘नाचो नाचो’जस्ता गीतले दर्शकलाई ‘इन्गेज’ गराउँछन् । रामचरण र एनटीआरको अभिनय बलशाली लाग्छ । आलियाले उति स्थान पाएकी छैनन् र अजय देवगणको केमियो भूमिकालाई राम्रोसँग लेखिएको छ ।
निर्देशक राजामौलीले डिस्क्लेमर लेख्दै काल्पनिक पात्र र कथा भएको बताएका छन् । मुख्य पात्र इतिहासमा कतै दर्ज भएका छैनन्, न त उनीहरुको यात्रा विवरण भेटिन्छ । दर्शकलाई भारतीय इतिहासको कुनै समयको खास कथाजस्तो पनि लाग्न सक्छ, तर आरआरआर एउटा मित्रताको कथा पनि हो । दुई क्रान्तिकारीको मित्रता जसलाई परिस्थितिले एउटै ठाउँमा ल्याएर छाडिदिन्छ ।
एमएम कीरावाणीको गीत ‘दोस्ती’ले त्यो मित्रताको विकासलाई केही मिनेटमै सहज रुपमै स्थापित गरिदिएको छ । ब्रिटिश अफिसरकी गोरी छोरीलाई आकर्षित गर्न भीमलाई रामले गरेको सहयोग र उनीहरुबीचको भाषिक अवरोधको प्लट अब्बल छ । हिन्दी नबुझ्ने गोरी केटी र अंग्रेजी नबुझ्ने एनटीआर चरित्रको भाषिक अवरोधबीच मौलाएको प्रेम दर्शनीय पक्ष हो । मित्रताको यो कथामा सिर्जना हुने प्रशस्त उतारचढाव र घुम्तीले कथालाई अझै मार्मिक तुल्याएको छ ।
मुख्यतः यो ‘ब्रोमान्स’ (दाजुभाइबीचको रोमान्स)को कथा समेत हो । आरआरआरलाई पुरुषवादी आँखाबाट भनिएको कथा पनि भन्न मिल्ला किनभने यसमा प्रशस्तै नारी पात्र त छन्, तर उनीहरुको आँखाबाट कथामा पर्याप्त ठाउँ दिइएको छैन । सीता चरित्रमा देखिएकी आलिया हुन् या गोरी युवती बनेकी ओलिभिया मोरिस नै किन नहुन्, उनीहरुको भावना र दृष्टिकोणलाई द्वन्द्वमा स्थान छैन । यी दुई नारी पात्रको आयामलाई विस्तार गर्न सकेको भए, कथावस्तु अझै सघन बन्न सक्थ्यो ।
कीरावाणीको गीत ‘दोस्ती’ले फिल्मको टाइटलदेखि समाप्तिसम्म सांगीतिक लयमा कैद गरेको छ । पश्चिमा शास्त्रीय संगीतको मिश्रणमा भारतीय स्वाद मिसिएको गीतले कथावाचनलाई अझै मर्मस्पर्शी बनाएको छ । केके सेन्थल कुमारको सिनेम्याटोग्राफी फिल्मको अब्बल पक्ष हो, जसले फिल्मको कथावाचनमा न्याय अवश्य गरेको छ । सबु साइरिलको प्रोडक्सन डिजाइन, रमा राजमौलीको कस्ट्युम, श्रीनिवास मोहनको भीएफएक्स ग्लोबल स्ट्यान्डर्डमा बनेको छ ।
तपाईं राजामौलीका अघिल्ला फिल्महरु मागाधिरा, फ्यान्टास्टिक फेट : एगा र बाहुबलीजस्ता फिल्मबाट प्रभावित हुनुहुन्छ भने आरआरआर तपाईंलाई रुचिपूर्ण त हुनसक्छ, तर एउटा सर्तमा । त्यो सर्त भनेको तपाईंले फिल्मको मेरुदण्ड मानिने पटकथामा केही सम्झौता गर्नुपर्ने हुनसक्छ ।’ मानवीयता, सत्य र न्यायजस्ता विषयवस्तुमा फिल्म बनाउने राजामौलीले यसपटक भने मनोरञ्जनसहितको एजेन्डा ल्याएका छन् । त्यो एजेन्डामा सहमत हुने वा नहुने सुविधा दर्शकलाई छ ।
दोस्रो विश्वयुद्धमा समुन्द्रमा फसेका बेलायती सैनिकको उद्दार गर्ने मिसनको कथामा हलिउडमा क्रिस्टोफर नोलनले सन् २०१७ मा ‘डनक्रिक’ फिल्म बनाए । साम मेन्डेसले विश्वयुद्ध लडेको सैनिकको कथामा फिल्म ‘१९१७’ बनाए । हलिउड अहिले आएर विश्वयुद्धको कथामा फिल्म भन्दैछ । राजामौली र सञ्जयलीला भन्सालीहरु ब्रिटिश उपनिवेश र भारतीय पुनर्जागरणका कथा भन्दैछन् । कहिल्यै उपनिवेश नबनेको, तर सशस्त्र द्वन्द्व खेपेको नेपालसँग भन्ने कथा धेरै छन् । नेपाली फिल्मले ‘आरआरआर’बाट सिक्ने शिक्षा भनेको यसको भव्यतासँग होइन, बरु मान्छे, समाज र इतिहाससँग जोडिने कथाको खोजी हो ।
निर्देशन र पटकथा : एसएस राजामौली
बजेट : ५५० करोड भारु
लम्बाइ : ३ घण्टा ६ मिनेट
निर्माता : डीभीभी इन्टरटेनमेन्ट
छायांकन : केके सेन्थिल कुमार
सम्पादन : श्रीकर प्रसाद
संगीत : एमएम कीरावाणी
कलाकार : जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट, श्रीया शरण, समुथीराकानी, रे स्टेभेन्सन, एलिसन डुडी, ओलिभिया मोरिस
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4