+
+

कांग्रेस तालमेलकै दिशातिर

लिलु डुम्रे लिलु डुम्रे
२०७८ चैत १३ गते २१:३६
Photo Credit : तस्वीरः रासस

१३ चैत, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ला/नगर्लाको आशंका करिब निवारण भएको छ । शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले तालमेलको पक्षमा अभिव्यक्ति दिएसँग कांग्रेसको कित्ता क्लियर भएको छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा तालमेलको पक्षमा थिए । देउवा समूहका केन्द्रीय सदस्यहरु पनि तामेलको पक्षमा उभिएका छन् । बहुमत केन्द्रीय सदस्यको मतका आधारमा देउवाले औपचारिक रुपमा तालमेलको निर्णय गराउन लागेका छन् ।

तालमेलको मोडालिटी तय गरेर सम्भवतः सोमबार कांग्रेस बैठक सकिने छ । पार्टीलाई जिताउने गरी मोडालिटी तय गरेर केन्द्रीय समितिको बैठक सकिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘के गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने बाहेक अरु मापदण्ड हुन सक्दैन,’ प्रवक्ता डा. महतले भने, ‘भोलि सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्छ ।’

नेताहरुका अनुसार तालमेलको मोडालिटी बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मतभारलाई प्रमुख आधार बनाइने छ । २०७४ सालको निर्वाचनमा गठबन्धनका दलमध्ये आफू पहिलो स्थानमा रहेको पालिकाको मूल नेतृत्वमा कांग्रेसले दाबी गर्नेछ ।

अघिल्लो पटक माओवादी केन्द्रले जितेका स्थानमा तालमेलको मोडालिटी हुने भन्ने अन्यौल छ । माओवादी विजयी भएको स्थान छोड्दा कर्णालीमा धेरै स्थान दिनुपर्ने नेताहरुको बुझाई छ । तालमेलको पक्षमा रहेका कर्णाली प्रदेशका कांग्रेस सभापति ललितजंग शाही भन्छन्, ‘अघिल्लोपटक कांग्रेसले भन्दा माओवादीले धेरै जितेको भएपनि सबै छोड्न सकिन्न । त्यहाँको अवस्था हेर्नुपर्दछ ।’

ठाउँ हेरेर तालमेल

बैठकमा केही केन्द्रीय सदस्यले नेकपा एमालेसँग पनि ठाउँ विशेषमा तालमेल गर्नुपर्ने तर्क अघि सारेका छन् । धेरै स्थान कर्णालीमा माओवादीलाई छोड्नुको साटो एमालेसँग सहकार्य गर्न सकिने केही नेताको तर्क छ ।

तनहुँका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो जिल्लामा पनि माओवादी केन्द्रले जितेका स्थानमा एमालेसँग सहकार्य गर्न सकिने मत राखेका थिए । उनलाई सभापति देउवाले प्रतिपश्न गरेका छन्, ‘कांग्रेसले अघिल्लोपटक जितेका स्थानमा अहिले माओवादीले सहयोग गरेन भने के हुन्छ ?’

भक्तपुरको सन्दर्भमा फरक विचार केन्द्रीय सदस्य जीतजंग बस्नेतले राखेका थिए । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी बलियो भएकाले कांग्रेसलाई विजयी गराउन उनले विकल्प सुनाए, ‘भक्तपुरमा सत्ता गठबन्धनसँग मात्रै तालमेल गरेर नहुने भए जित्नका लागि एमालेसँग पनि मिलेर नेमकिपा हराउनुपर्दछ ।’

सिन्धुलीमा एमालेसँग सहकार्य गर्न सकिने विकल्प पनि केन्द्रीय समिति बैठकमा उठेको छ । सिन्धुलीमा चुनावी प्रचारमा खटिएकी केन्द्रीय प्रतिनिधि मुक्ताकुमारी यादवले भनिन्, ‘एमालेसँग तालमेल गरेर जान सकिने विचार कार्यकर्ताले उठाएका छन् । केन्द्रीय समिति बैठकमा कार्यकर्ताको बोली राखिदिकी छु ।’

यद्यपि एमालेसँग तालेमलबारे देउवा सकारात्मक छैनन् । एमालेसँग पनि आवश्यकता प¥यो भने तालमेल गर्नुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता डा. महतले खुलेर जवाफ दिन भने चाहेनन् । ‘आवश्यकताको आधारमा तालमेलको निर्णय गरिन्छ,’ महतले भने ।

चितवनमा के हुन्छ ?

चुनावी तालमेलको बहसको क्रममा चितवनको भरतपुर महानगरपालिका छ । अघिल्लो निर्वाचनमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मेयर जितेकी थिइन् । तर यो पटक भरतपुर महानगर कुनै हालतमा छाड्न नहुने दबाव नेताहरुको छ । केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ चितवनका कार्यकर्ताको मागसभापतिले सुन्नुपर्ने भन्दै भन्छन्, ‘फेरि पनि रेनु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन् ।’

बरु कांग्रेसले माओवादी केन्द्रलाई विकल्प दिन सक्ने नेताहरु बताउँछन् । उच्च तहका कांग्रेसका एक नेताले भने, ‘महानगर कांग्रेसले यसपटक छोड्दैन् । त्यसको ठाउँमा माओवादीका अध्यक्ष प्रचण्डलाई संघम सघाउन सकिन्छ । महानगर र संघ दुबै माओवादीलाई छोड्न सकिन्न् ।’ यो विकल्पले माओवादीले भरतपुर छोड्नपर्ने दबाबमा पर्ने माओवादी केन्द्रमा पर्ने कांग्रेसको बुझाई छ ।

केन्द्रको निर्णय ‘लाद्न हुँदैन’

स्थानीय तहको विशेषता हेरेर निर्णय गर्ने अधिकार तल्ला संरचनालाई दिनुपर्ने राय अधिकांश नेताले बैठकमा राखेका छन् । जिल्लाको वस्तुस्थिति नबुझी केन्द्रले निर्णय पठाउँदा कांग्रेसकै मत विभाजित हुने नेताहरुको तर्क छ ।

केन्द्रले जबरजस्ति निर्णय ‘लाद्न खोज्दा’ पार्टी कमजोर हुने धेरै नेताले सुझाव दिएका छन् । महाधिवेशन भर्खर मात्रै सकिएकाले पार्टी भित्रको आन्तरिक मनमुटावलाई हटाउन पनि निर्णय अधिकार तल्लो तहलाई दिनुपर्ने तर्क नेताहरुले राखेका छन् । ‘कांग्रेसको भोट कांग्रेसलाई खस्नुपर्छ । पार्टी भित्रको विवाद थाति रह्यो भने तालमेल गरेपनि हाम्रै उम्मेदवार हार्न सक्छन्,’ केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘धेरै स्थान जित्न तालमेल गर्नैपर्दछ । त्यसका लागि पार्टीभित्रै घात हुनु भएन ।’

पाँचथरमा खटिएका अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गानाले कार्यकर्ताको माग अनुसार तल्लो तहलाई अधिकार दिनुपर्ने सुझावलाई केन्द्रमा सुनाएको बताए । सुदूरपश्चिमको सन्दर्भमा भन फरक राय आएको छ ।

सुदू्रपश्चिममा एकीकृत समाजवादी भनिए अनुसारको शक्तिशाली नरहेको नेताहरुले विफ्रिङ गरेका छन् । प्रदेश सभापति वीरबहादुर बलायर कांग्रेस एक्लै भिड्न तयार रहेको बताउँछन् । डोटीमा खटिएका किरण गिरीले सुदूरपश्चिमका कांग्रेस कार्यकर्ता तालमेलको पूर्ण विपक्षमा रहेको सुनाए । उनले भने, ‘मन्त्री समेत रहेका प्रेम आलेले नै आफ्नो प्रदेश र जिल्लामा संगठन विस्तार गरेको देखिएन । त्यसकारण कांग्रेस कार्यकर्ता नै तालमेल गर्न मान्दैनन् ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?