+
+

महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुखले चुनाव लड्ने

आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिइने भएका छन् ।

रासस रासस
२०७८ चैत १५ गते १७:०३

१५ चैत, महोत्तरी । आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिइने भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका प्रमुख तथा अध्यक्षले पुनः स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइएको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो ।

जिल्लाको १५ स्थानीय तहमध्ये छ वटामा लोसपा नेपाल, चारमा (नेकपा माओवादी) केन्द्र, तीनमा नेपाली कांग्रेस र एउटा-एउटामा नेकपा एमाले एवम् जसपा नेपालका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचन–२०७४ मा लोसपाबाट जलेश्वर नगरपालिकाका प्रमुखमा रामशङ्कर मिश्र, मटिहानी नगरपालिकाका प्रमुखमा हरिप्रसाद मण्डल, मनरासिस्वा नगरपालिकाका प्रमुखमा सञ्जयकुमार सिंह, भङ्गहा नगरपालिकाका प्रमुखमा सञ्जीवकुमार साह, एकरडा गाउँपालिकाका अध्यक्षमा रामछविला साह र महोत्तरी गाउँपालिकाका अध्यक्षमा सुनिलकुमार राय निर्वाचित भएका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा पनि उनीहरुलाई पार्टीले पुनः उम्मेदवार बनाउने तयारी गरेको लोसपा महोत्तरीले जनाएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचन-२०७४ मा नेकपा माओवादी केन्द्रबाट बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाको प्रमुखमा क्रमशः विदुरकुमार कार्की, शिवनाथ महतो र अशोककुमार मण्डल निर्वाचित भएको थियो ।

उनीहरु पनि आसन्न स्थानीय तहको निर्वाचनमा सो पार्टीका तर्फबाट पुनः प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट सम्सी गाउँपालिकाका अध्यक्षमा निर्वाचित शेष फारुख अहिले नेकपा एमालेमा प्रवेश गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा उनले एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिइने लगभग निश्चित भएको बताइएको छ ।

यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेपाली कांग्रेसबाट जिल्लाको बलवा, लोहारपट्टी र औरही नगरपालिकाका प्रमुखमा क्रमशः विनोदकुमार यादव, शैलेन्द्र यादव र सुनिलकुमार यादव निर्वाचित भएको थियो ।

आसन्न निर्वाचनमा उनीहरु पुनः सोही पार्टीबाट सोही पदमा उम्मेदवारी दिने तयारी भइरहेको चर्चा छ । त्यस्तै गत निर्वाचनमा जसपा नेपालबाट सोनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित राजकुमार यादव र नेकपा एमालेबाट पिपरा गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित विक्रम चौधरीले पनि आसन्न स्थानीय तहको निर्वाचनमा सोही पदमा उम्मेदवारी दिइने बताइएको छ ।

पिपरा गा.पा.मा २०७४ मा लोसपा नेपालकै विनोदकुमार चौधरी निर्वाचित भएकोमा उनको कार्यकाल नसकिँदै मृत्यु भएपछि २०७६ भएको उपनिर्वाचनमा तत्कालीन (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) मिलेर बनेको नेकपा एकीकृतबाट विक्रम चौधरी निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता, २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र कायम भएको छ । सबैभन्दा बढी बर्दिबास नगरपालिकामा २८ मतदानस्थल, ५८ मतदान केन्द्र र ४४ हजार ४६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सबैभन्दा कम जिल्लाको महोत्तरी गाउँपालिकामा १२ मतदानस्थल, २२ मतदान केन्द्र र १७ हजार ४३६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?