
१७ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिफारिसमा वरिष्ठता र कार्यक्षमतालाई नहेरिएको भन्दै सिफारिसमा नपरेका सिनियर डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका थिए ।
बुधबार आयोगले गृह मन्त्रालयकै निर्णयलाई सदर गरेपछि मन्त्रिपरिषद्ले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका मध्ये पन्त हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका हुन् ।
उनका ब्याचका अन्य सिनियर डीआईजीहरुले लोक सेवा आयोगबाट न्याय नपाए अदालत जाने बताइरहेका छन् ।
तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि दाबेदार बनेका छन् ।
प्रहरी नियमावलीमा एआईजीहरुमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । यसअघि नै उनको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा एआईजी बनिसकेका छन् ।
हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।
प्रतिक्रिया 4