+
+
सिनेमा सन्दर्भ :

विनोद पौडेल : हलिउडको छायामा नेपाली फिल्म बनाउँदा जे भोगे

सिनेमामा आफ्नो पृथक शैली र शिल्प खोजिरहेका नेपाली फिल्ममेकर भुटानी आप्रवासीको कथा पच्छ्याउँदै अमेरिका पुग्छन् । हलिउडको त्यो विराट छायामा सीमित बजेट र संसाधन लिएर नेपाली फिल्म बनाइरहँदा उनले जे भोग्न पुग्छन्, त्यो कहानी रोचकमात्र होइन उत्तिकै चित्तदुख्दो पनि छ ।

शिव मुखिया शिव मुखिया
२०७८ चैत १८ गते १९:२०

१८ चैत, काठमाडौं । रबर सिटी अर्थात् एक्रोन सहर । टायर फ्याक्ट्रीहरूको शहर हो यो । विश्व बजारका लागि सर्वाधिक टायर उत्पादन गरिरहेका यहाँका कारखानाहरु राजनीतिक विषमताको शिकार बनेर जीर्ण हुँदै गए । यो औद्योगिक क्षेत्रका जनशक्ति बेरोजगार बने । लाखापाखा लागे ।

हिजो गुल्जार एक्रोन शहर अब कुरुप र उजाड बन्दैछ । मान्छेहरु पलायन हुँदैछन् । कारखानाहरु भूतबंगला जस्तो भएका छन् ।

आफ्नो मौलिक निधि र सौन्दर्य गुमाइरहेको शहरमा अनायस भुटानी शरणार्थीहरुको आगमन भएको छ । उनीहरूसँगै त्यहाँ आफ्नो रीतिथिति, संस्कृति, जीवन–पद्धति पनि भित्रिएको छ ।

अब एक्रोन शहरमा दशैंको रौनक देख्न थालिएको छ, तिहारको सेलरोटी पाक्न थालेको छ, तीजको भाका घन्किन थालेको छ । यो शहरमा क्रमशः नयाँ सांस्कृतिक रंग पोतिंंदैछ ।

यसरी एकातिर औद्योगिक मूल्य गुमाउँदै गएको र अर्कोतिर नयाँ सांस्कृतिक रंगले चम्कंदै गएको समय–चरणलाई कब्जा गरेर विनोद पौडेल एउटा सिनेम्याटिक कथा रच्दै थिए । यस्तो कथा, जहाँ भुटानी शरणार्थीको रूपमा अमेरिका पुगेका एउटा परिवार छन् । त्यो बिरानो माटोमा उनीहरुले आफ्नो परिचय खोज्नुछ । भूगोल र समयको अलग फ्रेममा तीन पुस्ताको एउटै अन्तरद्वन्द्वले यसको कथानक मस्यौदा निर्माण गर्नेछ ।

‘बुलबुल’ फेम्ड निर्देशक पौडेल ढुक्क थिए, यसको स्क्रिनप्ले वजनदार र खँदिलो छ । अतः यसलाई दृश्यभाषामा खिप्नका लागि आफ्नो खास क्राफ्ट छ । यो एउटा यस्तो सूत्राधार, जसले नेपाली सिनेमालाई अर्को प्लेटफर्ममा पुर्याउन सक्छ ।

जब लगानीकर्ता बिच्किए

स्क्रिप्ट लिएर उनी अमेरिका पुगे । पूर्ववत् सल्लाहअनुसार लगानीकर्तासँग छलफल भयो । तर लगानीकर्ताको ध्येय र निर्देशक पौडेलको सिनेम्याटिक अप्रोच बाझियो । लगानीकर्ताहरु चाहन्थे, ‘चलनचल्तीका कलाकार लिने । गीत, फाइट, ठट्यौली आदिको समिश्रण गर्ने । घरेलु सिनेमा घरहरुमा प्रदर्शन गर्ने ।’

जो पुरातन ढर्राको ह्याङओभरबाट मुक्त भएर पृथक दृश्यभाषा निर्माण गर्न लागिपरेका छन्, जो भुत्ते संरचना तोड्दै नवीन क्राफ्ट रेखांकन गर्न खोजिरहेका छन्, उनकै लागि लगानीकर्ताको काइते शर्त कसरी मञ्जुर हुन्थ्यो र ? निर्देशक पौडेलले ठाडै बदर गरिदिए ।

‘तर, एक हिसाबले भन्नुपर्दा यो दुस्साहस जस्तै थियो’ पौडेल सम्झन्छन्, ‘पुराना लगानीकर्ताले हात झिकेपछि मैले त्यतिका बजेट कहाँबाट जुटाउने ? यो सहजै सम्भव हुने कुरा थिएन ।’

पौडेललाई ज्ञात छ, अमेरिका जस्तो ठाउँमा ‘नेपाली फिल्ममेकर’को कुनै भाउ हुन्न । न कसैले चिन्छ, न कसैले गन्छ । ‘म फिल्म बनाउन आएको भन्दा नेपाली समुदायका साथीहरु नै टाढा–टाढा भाग्छन्’ पौडेलको अनुभव छ, ‘पैसा कमाउने ठाउँमा आएर फिल्म बनाउने कुरा गर्दा उनीहरुले पत्याउँदैनन् ।’

अमेरिकामा बसेर फिल्म बनाउनु छ । त्यहींका प्राविधिक र उपकरण लिनुछ । नयाँ कलाकारबाट काम लिनुछ । तर, खल्ती रित्तो । उनले केही साथीभाइ गुहारे । तर, कुनै न कुनै बहाना बनाएर सबैजना पन्छिए । उनी हतास भए । अब के गर्ने ? उपाय छैन ।

अनि सुशान्त रोए

‘जित जाएंगे हम तु अगर संग है ।’

एक बिहान उनी उठ्दा एउटा गीत बजिरहेको सुने, अनिल कपुर अभिनित फिल्म ‘मेरी जंग’को । निर्देशक पौडेल ओछ्यानबाट ओर्लिए । भुईँतलामा सुशान्त मैनाली (अभिनेता) गीत बजाएर घर सफा गरिरहेका रहेछन् ।

‘अहो ! कस्तो राम्रो गीत बजायौ’ निर्देशक पौडेलले भने ।

‘अँ यार’ सुशान्तले सुनाए, ‘बिहानै यो गीत लगाएर म त रोएँ नि ।’

विनोदको प्रश्न, ‘किन ?’

‘हामी यहाँ यस्तो स्ट्रगल गरिरहेका छौं । तर, कतैबाट साथ पाइएन’ उनी भन्दै गए, ‘अनि फेरि सोचें, यस्तै मान्छे त हो नि सफल हुने । त्यही सोचेर यो गीत लगाएँ अनि घर सफा गर्न थालें ।’

अभिनेता सुशान्त अमेरिकामा नै बसोबास गरिरहेका छन् । उनैले विनोदलाई आड दिंंदै भनेका थिए, ‘तिमी फिल्मकै लागि जन्मेका रहेछौं, लु म साथ दिन्छु । लेट्स वर्क टुगेदर ।’

स्थानीय अखबारले जुटाइदिएको सहयोग

‘एउटा नेपाली फिल्ममेकर यो शहरमा बसेर फिल्म बनाउन चाहन्छन् । तर, ऊसँग पैसा छैन ।’ एक्रोन शहरको स्थानीय अखबारमा यस्तै व्यहोराको अन्तर्वार्ता छापियो । निर्देशक विनोद पौडेलका लागि यो एउटा सुनौलो मौका भइदियो ।

धमाधम उनलाई फोन आउन थाल्यो, सहयोगको बाचासहित । पौडेलका एक पुराना साथी थिए प्रदीप शर्मा, मैतीदेवीमा एउटै कोठामा बसेका । धेरै संघर्ष गरेर अमेरिका पुगेका । उनैले फोनमा भने, ‘ल तिमी फिल्म बनाउन आएका रहेछौं । मैले पत्रिकामा पढें । फिल्म बनाउने भए २५ हजार डलर सहयोग गर्छु ।’

फिल्मसँग कुनै साइनो नभएको मान्छेले त्यसरी सहयोग गर्दा पौडेलको आँखा रसायो । केही नेपाली भाइहरू भोलेन्टियरको रूपमा काम गर्न अग्रसर भए । एक जना मित्रले फोन गरेर भने, ‘सर मसँग एउटा ठूलो भ्यान छ । म महिनाको १०–१५ हजार डलर कमाउँछु । यो भ्यान डेढ महिनाको लागि तपाईंलाई दिन्छु । मलाई पैसा चाहिँदैन बरु म आफैं तपाईंसँग काम गर्न चाहन्छु । चाहे भाँडा माझ्नु परोस् वा अरु कुनै काम ।’

अर्का पात्र थिए, दीपक गजमेर । उनी अमेरिकामा रेस्टुरेन्ट चलाउने । उनैले निर्देशक पौडेललाई खानाको लागि निम्तो गरे । गजमेरले भने, ‘तपाईं फिल्म बनाउँदै हुनुहुँदोरहेछ । म कसरी साथ दिनसक्छु ।’

पौडेलको प्रस्ताव थियो, ‘तपाईं लाइन प्रोड्युसर बन्नुहोस् ।’ तर, उनी रेस्टुरेन्ट चलाइरहेका मान्छे । लाइन प्रोड्युसर बन्नका लागि त हरक्षण फिल्मलाई समय दिनुपर्ने । कसरी उनले फुर्सद निकाल्न सक्छन् ?

गजमेरले निर्धक्क भने, ‘मलाई एक हप्ताको समय दिनुहोस् ।’

नभन्दै हप्तादिनपछि उनको फोन आयो । गजमेरले भने, ‘विनोद सर, अब म काम गर्न आउँदैछु ।’

विनोदले सोधे, ‘अनि रेस्टुरेन्ट नि ?’

‘त्यो त मैले बेचिदिएँ ।’ गजमेरको यस्तो जवाफ सुनेर पौडेल छक्क परे । उनले गजमेरलाई रोक्दै भने, ‘मेरो फिल्मको लागि रेस्टुरेन्ट नबेच्नुहोस्, मलाई पाप लाग्छ ।’ तर, गजमेर रोकिएनन् । उनले आफ्नो रेस्टुरेन्ट ठीकठाक मात्र चलिरहेको र बेच्न चाहेको बताए ।

निर्देशक जोएस पाण्डेलगायत पनि यसैगरी फिल्ममा जोडिए । अरुणा कार्की, जो थिएटरका कलाकार हुन् । उनले पनि कस्ट्युम डिजाइनरको रुपमा एक महिना काम गर्ने भइन् । यसरी एक–एक साथीहरुको दर्बिलो र आत्मीय साथले पौडेललाई उत्साहित बनायो । उनले फिल्म छायांकनको तयारी सुरु गरे । फिल्मको वर्किङ टाइटल राखियो, रबर सिटी ।

कोही प्राविधिक बने, कोही कलाकार

अमेरिकामा आ–आफ्नै काम–धन्दामा व्यस्त साथीहरुको एउटा समूह, जसले फिल्म निर्माणमा साथ दिंदै थिए । सबैसँग उत्साह थियो, ऊर्जा थियो, लगाव थियो तर फिल्म निर्माणको अनुभव थिएन ।

फिल्ममा केही अमेरिकन कलाकार र प्राविधिक लिइएको थियो । नयाँ टिमबाट प्राविधिक सहयोग लिनु र नन एक्टरलाई अभिनय गराउनु दुवै कठिन काम त थियो नै, उत्तिकै रोमाञ्चक अनुभव पनि ।

पौडेलले ओस्कार कलेज अफ फिल्म स्टडिजमा पढाएका विद्यार्थी अंकितले सिनेम्याटोग्राफरको काम सम्हाल्ने भए । छायांकन हुन तीन दिनमात्र बाँकी छँदा उनले विमल सुवेदीलाई फोन गरे, जो ‘पल्पसा क्याफे’ बनाउँदै थिए । पौडेलले नेपालमा फोन गरे, ‘विमल सर, तपाईंसँग अमेरिकाको भिसा छ ?’

‘हजुर छ’ उनको जवाफ ।

‘प्लिज आउनुहोस् न तपाईं’ पौडेलले अनुरोध गरे । ‘पल्पसा क्याफे’को कामलाई थाँती राखेर दुई दिनमै विमल सुवेदी अमेरिका पुगे । यसरी सबैको हार्दिकता र साथले ‘रबर सिटी’को छायांकन सुरु भयो ।

तर, यी सम्पूर्ण बन्दोबस्ती भनेजस्तो सजिलो थिएन । कसैलाई गाली गर्नु भएन, कसैसँग रिसाउनु मिलेन । किनभने सबैजना भोलेन्टियरको रुपमा काम गरिरहेका थिए । सुटिङ सेटमा आफू निर्देशक मात्र भएर बस्न नसकिने । सबै काम मिलिजुली गर्नुपर्ने । राति घर फर्केर फेरि अर्को दिनको खाका तयार गर्नुपर्ने ।

शहरको कुनै भागमा छायांकन गर्नुपरेमा नगर परिषद्ले सहजीकरण गरिदिन्थे । छायांकन हुने निश्चित भागमा आउजाउ बन्द गरेर सम्पूर्ण सुरक्षाको व्यवस्था गरिदिन्थे । जबकि शहरको भीड, गाडी आदि देखाउनु परेमा आफ्ना साथीभाइलाई गुहार्नुपर्थ्यो । कसैले मान्छे ल्याइदिन्थे, कसैले गाडी ।

अमेरिकी मूलका प्राविधिकहरुसँग काम गर्न कम्ता गाह्रो थिएन । ‘उनीहरु एकदमै सिस्टममा चल्नुपर्ने, आउने, जाने, खाने निश्चित समय हुन्थ्यो’ पौडेल सुनाउँछन्, ‘दिनमा आठ घण्टा भन्दा बढी काम नगर्ने । सुटिङ प्याकअप होस् वा नहोस्, उनीहरु हिँडिहाल्थे ।’

सिनेमाको बलियो आधारशीला नभएको एउटा गरिब मुलुकका फिल्ममेकरले हलिउड जस्तो शक्तिशाली फिल्म उद्योगको छायामा फिल्म निर्माण गर्दा कति निरीह हुनुपर्छ भन्ने कुराको उदाहरण पनि थियो यो ।

हलिउडलाई नजिकबाट हेर्ने रहर

अमेरिका पुगेका सुरुवाती दिनहरु यत्तिकै बितिरहेको थियो । कामको मेलोमेसो मिलिसकेको थिएन । निर्देशक पौडेल तनावमा थिए । यस्तैमा एक साथीले सुझाए, ‘हलिउड फिल्महरु टन्नै बनिरहेका छन् । यसो आवेदन देउ न । कम्तीमा अनुभव लिन पाइन्छ, गएर केही सिक ।’

त्यस्ता थुप्रै वेबसाइट थिए, जहाँ फिल्ममा काम गर्नका लागि आवेदन दिन सकिन्थ्यो । नेटफ्लिक्सको एउटा फिल्म ‘विट जर्म’ निर्माण हुँदै रहेछ । यसका मुख्य भूमिकामा हलिउड अभिनेता एडम ड्राइभर थिए । अक्सर यस्ता फिल्महरुमा ब्याकग्राउन्ड आर्टिस्टको रुपमा काम गर्ने मौका मिल्न सक्छ । पृष्ठभूमिमा देखिने पात्र नै सही, कम्तीमा हलिउडमा कसरी काम गरिन्छ भन्ने प्रत्यक्ष साक्षी त बन्न पाइन्छ । यही सोचेर निर्देशक पौडेल तम्सिए ।

अमेरिकामा रहेका नेपाली फिल्ममेकर साथीहरूसँग विनोदले यसबारे थप बुझ्न चाहे । उनीहरूले भने, ‘ह्या, त्यो हावा कुरा । कहाँ त्यहाँ हामीले चान्स पाउँछौं ?’

तैपनि निर्देशक पौडेलले सोचे, एक पटक प्रयास गर्नुपर्यो । उनले वेबसाइटमार्फत् आफ्नो फोटो पठाए । दुई दिनपछि छनोट भएको व्यहोरासहित अन्य कागजात मागियो । फिल्म ओहायो शहरमा छायांकन हुँदै थियो, उनी त्यहीं पुगे ।

तर, फिल्मको टिममा सम्मिलित हुनुअघि लामो प्रक्रिया हुने । स्वास्थ्य जाँचदेखि अन्य प्रक्रियाहरु पूरा गराइएपछि निर्माण टिमले भन्यो, ‘हुन्छ, फलानो दिनमा तिम्रो सेड्युल छ । आवश्यक परेपछि खबर गर्छौं ।’

केही दिनमै उनको सेड्युल आयो ।

हलिउडको त्यो भव्यता !

विभिन्न चरण पार गर्दै उनी सेटमा पुगें । त्यो छायांकनस्थलको भव्यता देखेर चकित भए । यस्तो लाग्ने मानौं, त्यहाँ फिल्म छायांकन भइरहेको छैन बरु एउटा अलग संसार बसाइँदैछ । करिब काठमाडौं उपत्यका जति क्षेत्रफललाई छायांकनस्थल बनाइएको थियो । त्यो कृत्रिम संसारमा सैयौं घर, सैयौं गाडी, अनगिन्ती मान्छेहरु थिए ।

डन डोलिलो लिखित उपन्यास ‘ह्वाइट नोइज’मा आधारित फिल्म थियो यो, जसले फरक कालखण्डको कथा भन्छ । अतः छायांकनस्थलमा त्यही पुरानो परिवेश, पहिरन शैली, घर, गाडी व्यवस्था गरिएको थियो । यो एक सन् १९८५ ताकाको संसार जस्तै थियो ।

त्यहाँ पानी परेको दृश्य खिच्नका लागि ठूला–ठूला पानीका ट्यांकर राखिएको थियो । एक किलोमिटर टाढासम्म पुग्ने लाइटको जडान गरिएको थियो, जुन रिमोट कन्ट्रोलरबाट चलाउन सकिन्छ । करिब चार सयको हाराहारीमा कार, भ्यान, बस, एम्बुलेन्स राखिएको छ, जुन सन् १९८० को मोडलका हुन् । चार सय मान्छेलाई रिजर्भ राखेका छन्, आवश्यक परेको बखत प्रयोग गर्न सकियोस् भनेर ।

छायांकनस्थलमा ब्याकग्राउन्ड आर्टिस्टलाई बस्नका लागि छुटै ठाउँ थियो । एकातिर प्रोडक्सन डिजाइनको ल्याब, जहाँ फिल्मको काम कसरी हुन्छ भनी बुझ्न सकिन्थ्यो । कतिसम्म मिहीन रुपमा काम हुन्थ्यो भने, पृष्ठभूमिमा देखिने पात्रको अनुहार, हेयर स्टाइल, लुगा, जुत्ता, घडी सबै सन् १९८० कै दशकको देखिनुपर्ने ।

यो भव्यता देखेपछि ११ वर्षसम्म फिल्म कलेज सञ्चालन गरेका, फिल्म निर्माण गरिसकेका निर्देशक पौडेललाई महसुस भयो, ‘विश्व सिनेमा कुन अग्लाइमा छलाङ मारिरहेको छ र हामी कुन दलदलमा घिस्रिरहेका छौं ।’

आफूलाई फिल्ममेकर भन्ने आँट आएन उनलाई । ‘म पनि फिल्म बनाइरहेको छु, म पनि फिल्ममेकर’ पौडेल भन्छन्, ‘जबकि मेरो व्यांक एकाउन्टमा ६२–६५ पैसा राखेर बसिरहेको छु, यहाँ ३–४ सय मिलियन डलरको फिल्म बनिरहेको छ ।’

खासमा उनी त्यहाँ केही सिक्न गएका थिए । तर, त्यो भव्यता देखेपछि पौडेलले आफूलाई एकदमै बामपुड्को र निरीह महसुस गरे । उनलाई त्यहाँ खुलस्त गर्न कठिन थियो कि, म पनि फिल्ममेकर हुँ । तर, काम गर्दै जाँदा उनले केही नजिकिएका साथीलाई आफ्नो सग्लो परिचय खुलाइदिए । ती साथीहरु बडो चकित भए र विस्फारित दृष्टि लगाउँदै भने, ‘तिमी पनि फिल्म बनाउन आएको ?’

भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
शिव मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?