+
+

रुस-युक्रेन युद्ध, कम्प्युटर उद्योगमा खतराको घण्टी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १३:२३

रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको नकारात्मक असर विश्वको कम्प्युटर उद्योगमाथि पनि परिरहेको छ ।

विश्वका चर्चित कम्प्युटर ब्राण्डहरुले यो वर्षको आफ्नो आम्दानी र मुनाफाको प्रक्षेपणमा कटौती गर्न सुरु गरेका छन् ।

कम्प्युटर उद्योगसँग सम्बन्धित मानिसहरूका अनुसार विगत दुईवर्ष कोरोना महामारीबाट थलिएको विश्व कम्प्युटर उद्योग महामारी मथ्थर भएसँगै जुर्मुराउने अवस्थामा रहेको बेला रुस-युक्रेन युद्धले पुनः मारमा परेको छ । यो युद्धले कम्प्युटर उद्योगको आपूर्ति शृङ्खलामा अवरोध सिर्जना गरेको छ ।

सन् २०२० मा जब विश्वभर कोरोना महामारीको प्रकोप सुरु भयो सुरुवातमा वर्क फ्रम होम अर्थात् घरबाटै काम गर्ने चलनले कम्प्युटरको माग ह्वात्तै बढायो । तर पछि कम्प्युटर उद्योग आपूर्ति शृङ्खलामा आएको रोकावटको सिकार बन्यो ।

अहिले युक्रेनमाथि रुसी हमलाले पनि त्यहीँ अवस्थाको सिर्जना गरेको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एचपी, डेल, असुस्टेक जस्ता प्रमुख कम्प्युटर कम्पनीहरूले आफ्ना सप्लायर्सहरूलाई उत्पादन घटाउन अनुरोध गरेका छन् ।

कम्प्युटरका पाटपुर्जा उत्पादन गर्ने कतिपय स साना कम्पनीहरूले अप्रिलदेखि जुनसम्मको त्रैमासिकका लागि कम्प्युटर पार्टस्को उत्पादनमा २० प्रतिशतसम्मले कटौती गर्ने निर्णय गरिसकेका छन् ।

निर्यात कम हुने आशंका

एचपी, डेल, लेनोभो, एसर तथा असुस्टेक जस्ता कम्पनीहरूका लागि कम्प्युटर पार्टस् आपूर्ति गर्ने एक कम्पनीका एकजना ताइवानी अधिकारीले निक्केइएसिया डटकमसँगको कुराकानीमा भनेका छन्- जुन महिनासम्म पर्सनल कम्प्युटरको निर्यात उल्लेख्य रुपमा कम हुने आशंका छ ।

एनका अनुसार कम्प्युटरको बजारमा सन् २०२० मा १३ प्रतिशत तथा २०२१ मा १४ प्रतिशतको वृद्धि देखिएको थियो । तर यो वर्ष यस्तो वृद्धि एक अंकमा सीमित हुने अनुमान छ ।

कन्जुमर इलेक्ट्रोनिक्स उद्योगको प्रमुख कम्पनी एप्पलले पहिले नै आइफोन एसइ को मागमा कमी आएको जानकारी गराइसकेको छ ।

युक्रेन युद्धबाट पैदा भएको अनिश्चितताका कारण नयाँ लञ्च भएको उक्त फोनको बिक्री ३० लाखसम्मले कम हुने सम्भावना छ ।

जानकारहरूका अनुसार कन्जुमर इलेक्ट्रोनिक्स क्षेत्रका कम्पनीहरूको बिक्रीमा आएको गिरावटको एक प्रमुख कारण रुसमा ती कम्पनीहरूको कारोबार बन्द हुनु हो । एचपी, डेल, एप्पल, सामसुङ आदिले रुसमा आफ्नो कारोबार बन्द गरिसकेका छन् ।

निक्केइ एसिया डटकमका अनुसार एसर, असुस्टेक तथा एमएसआइले पनि रुसमा आफ्नो कारोबार बन्द गरेका छन् । यद्यपि ती कम्पनीले यसको सार्वजनिक घोषणा भने गरेका छैनन् ।

सन् २०२१ मा विश्वभर बिक्री भएका पर्सनल कम्प्युटरमध्ये दुई प्रतिशत कम्प्युटर रुसमा बिक्री भएका थिए । गतवर्ष रुसमा ७० लाख कम्प्युटर बिकेका थिए ।

उपभोक्ताको दृष्टिकोणमा परिर्वन

यद्यपि कम्प्युटर उद्योगमा आएको यो समस्या केवल बजारको हातबाट निस्किनु मात्र होइन । गेमिङ पर्सनल कम्प्युटर निर्माता एक कम्पनीका अधिकारी भन्छन् – युक्रेन युद्धका कारण उपभोक्ताहरूको दृष्टिकोणमा पनि परिवर्तन आएको हामीले देखेका छौं । हामीले हाम्रा सप्लायरहरुलाई पनि अप्रिल देखि जुनसम्मको त्रैमासिकमा कम्प्युटर पार्टस्को आपूर्ति १५ देखि २० प्रतिशतले कटौती गर्न भनिसकेका छौं ।

जानकारहरुका अनुसार शैक्षिक उद्धेश्यका लागि खरिद हुने कम्प्युटरको बजारमा आगामी दिनमा सबैभनदा धेरै असर पर्नेछ ।

गुगल लाइसेन्स प्राप्त क्रोमबुक्सको निर्यातमा पछिल्लो वर्षको तुलनामा यो वर्ष ४० प्रतिशतसम्मको गिरावटको अनुमान गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?