+
+

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

रासस रासस
२०७८ चैत १९ गते १५:३०

१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्सपोको उद्‍घाटन गर्दै उनले ऊर्जाको विकासमा आगामी दिनमा निजी क्षेत्रले अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गरिन् ।

राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गरिन् ।

अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उनले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेकामा जोड दिइन् ।

जलवायु परिवर्तनका कारण हिमालमा हिउँको मात्रा घट्दै जानु चिन्ताजनक विषय भएको तथ्य पेस गर्दै राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन तथा हरियाली प्रवद्र्धनमा जोड दिन सबैको ध्यानकर्षण गराइन् ।

राष्ट्रपति भण्डारीले जलस्रोतको बहुउद्देश्यीय प्रयोग हर्दै हरित अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । एकै पटक ठूलो लगानी लाग्ने र उत्पादनको अवधिसम्म प्रतिफल प्राप्त हुन गाह्रो हुने भएकाले साना तथा मझौला आयोजनामा निजी क्षेत्रले हात हालेको तथा त्यसमा उल्लेखनीय सफलता हासिल गरेकामा राष्ट्रपतिले ऊर्जा उद्यमीको भूमिका महत्वपूर्ण रहेको धारणा राखिन् ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आफ्नो मन्त्रालयका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा खरो उत्रिएको र हरतरहले सहयोग गरेको बताए । उनले ऊर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन कानुनी, नीतिगत एवम् संरचनागत क्षेत्रमा गर्नुपर्ने सुधारका लागिसमेत आफू तयार रहेको उल्लेख गरे ।

मन्त्री यादवले आफूले मन्त्रालय सम्हालेपछि वन मन्त्रालयसँग जोडिएका कुनै पनि फाइल नरोकिएको र निजी क्षेत्रमैत्री व्यवहार गरेको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रमैत्री नीति तथा कानुनका कारण नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै अझै थप केही विषयमा सुधारको आवश्यकता औँल्याए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिए ।

एक्स्पोको उद्घाटन पूर्वबृहद् विद्युतीय सवारी ¥याली पनि आयोजना गरिएको थियो । देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो ।

शनिबार मात्रै जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युतको बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफलको आयोजना गरिएको छ ।

तीन दिनसम्म चल्ने उक्त एक्स्पोमा जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने आयोजकले बताएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?