आज पनि
फिंजाएर लजालु मुस्कान
चुपचाप मस्किंदै फर्कियौ तिमी
विस्मित भएर म तिमीलाई हेरिरहें !
धेरैपछि बल्लतल्ल
लामो रातपछिको मिर्मिरे बिहानीजस्तै
आइपुगेकी थियौ तिमी अचानक समीपमा
र ढकमक्क फुलेका थिए जीवनका रहरहरु
तर एकैछिनमा
फेरि मलाई जिल्याएर गयौ तिमीले
र बाँकी रहेनन् झर्न मनका कुनै कोपिलाहरु,
आहा !
कति सुन्दर मृगतृष्णा तिमी
देखिन्छौ सधैंभरि तर भेटिन्नौ कसैगरी
ताज्जुब लाग्छ मलाई
अस्तित्व नै हौ कि अनुभूति मात्रै हौ तिमी ?
खुसीको मीठो भ्रम हौ कि बाँच्ने बहाना तिमी
खोजे मैले अनवरत तिमीलाई
अनगिन्ती बिहानी र गोधुली साँझहरुमा
जीवनका कैयौं दोबाटा र घुम्तीहरुमा
गज्जबै लाग्छ
बुझ्दै बुझिनौ कि बुझपचाइ रह्यौ तिमीले
छट्पटियौ पनि कि छटपटी मात्र दियौ तिमीले
अचम्मै भयो आज
आयौ तिमी फेरि बतास जस्तै गरी
र सिरिङ्ग पार्यौ मेरो किशोर चेतनालाई
अझै पनि
न तिमीले गर्यौ मलाई कुनै प्रेमिल इशारा
न मैले नै मायालु अंगालो फिजाउन सकें ।
प्रतिक्रिया 4