+
+

उद्घाटनको एक वर्षपछि धरहराको म्याद थपिंदै, खुल्ने मिति अनिश्चित

अझै २५ प्रतिशत काम बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते २०:४९
धरहरा उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री ओली (फाइल तस्वीर)

२० चैत, काठमाडौं । उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद थपिने भएको छ । धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिंदैछ ।

गत मंसिरमै म्याद सकिए पनि सरकारले महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो । अब फेरि धरहरा निर्माणको लागि म्याद थप गर्ने तयारी भइरहेको छ ।

११ वैशाख २०७८मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा मात्रै काम सकिंदा धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीका अनुसार करिब ७५ प्रतिशत काम सकिएको छ । ‘अब करिब २५ प्रतिशत काम बाँकी छ,’ उनले भने,’दशैंसम्म काम सकाउन सकिन्छ भन्ने विश्वास छ ।’

उद्घाटनपछि पुनर्निर्माण प्राधिकरण विघटन गर्न आवश्यक कामतिर बढी व्यस्त हुँदा काम सुस्ताएको थियो । उद्घाटनअघि रातभर काम हुने गरेपनि ठेकदारले निर्देशन नै मान्न छोडेको थियो ।

‘आयोजनाको स्वामित्व अर्को निकायले लिने र इन्जिनियरहरु परिवर्तन हुने अवस्था रहेकाले काम केही सुस्ताएको थियो,’ महानिर्देशक भट्टराईले भने,’अहिले हामीले कामलाई गति दिएका छौं ।’

के-के काम बाँकी छ ?

काम नसकिंदै हतार-हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । रंगरोगन, लाइटिङ र सूचना प्रविधिसम्बन्धी काम गर्न बाँकी छ ।

धरहराको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङको काम सकिएको छैन । संग्रहालयको काम पनि बाँकी छ । प्रशासनिक भवन बनिसकेको छैन । खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक पनि बन्न बाँकी छ ।

बीचमा पुल बनाउनुपर्नेछ । सुन्धारालाई सजाउने काम पनि गर्नुपर्ने छ । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । त्यस्तै भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्नेसहित सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ ।

कहिलेबाट धरहरा चढ्न पाउँछन् भन्ने यकीनका भइसकेको छैन । कुनै पनि काम निर्माण सम्पन्न गरेर ठेकदारले हस्तान्तरण गरिसकेपछि मात्रै उदघाटन गर्ने प्रचलन विपरीत तत्कालीन प्रधानमन्त्री ओलीले हतारहतार धरहराको उदघाटन गरेका थिए ।

पुस ९ गतेबाट विघटन भएको पुनर्निर्माण प्राधिकरणले यो धरहरा पुनर्निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई सारेको थियो । विभागले तयार गरेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?