+
+

गाउँलेले जग्गा दिएर भवन बनाए, तर अस्पताल पाएनन्

श्रवण देव श्रवण देव
२०७८ चैत २१ गते १९:१७

२१ चैत, जनकपुरधाम । १२ बर्ष अघिसम्म धनुषाको तत्कालिन बिसरभभोरा गाविस डुमरिया टोल (अहिलेका शहीदनगर नगरपालिका–८) मा बिरामी परेका व्यक्तिले बेलामा उपचार पाउँदैनथे ।

सर्पदंशमा परेकादेखि हृदयघात भएका, अन्य गम्भीर प्रकृतिका बिरामीसम्मले मृत्युवरण गर्नुपरेको यथार्थले गाउँलेलाई झस्कायो । अनि उनीहरुले अस्पताल सञ्चालनमा लागि आफैंले जग्गा दिए ।

भोली गुरमैता, बबन गोहितमान, नथुनियाँ बनरैत, ओपेन्द्र मरिक, देबनारायण रान यादव, रंजन यादव, बेचन गुरमैता, शिबनारायण राम, माघो माझी, बुधन बनरैत, गुलचन लखनदेई, बिल्टु गुरमैता, देबसुनर देवी, महाबीर गुरमैता, बिन्दी गुरमैतासहितका १५ जनाले दान गरेको जग्गा अस्पतालको नाममा करिब दुई विघा नामसारी भयो । त्यसमा करिब एक बिघा ऐलानी जग्गा थपेर गाउँकै शहीद सूर्यनाथ रानको नाममा जिल्ला अस्पताल बनाउने निर्णय गरे ।

त्यसपछि अस्पताल भवन निर्माणका निम्ति पनि गाउँलेले सरकारबाट चार करोड रुपैयाँ जुटाउन सफल भए । त्यो बजेटबाट चार वटा भवन निर्माण भयो । अस्पतालमा बिरामी भर्ना गर्ने, बहिरंग सेवा सञ्चालन गर्ने, उपकरण राख्ने र ल्याब सञ्चालन गर्ने कोठा २०७२ सालमै तयार भयो ।

भवन बनेको ६ बर्ष भयो, भएन संचालन

अस्पतालको भवन बनेपछि गाउँलेको आशा थियो, अब सामान्य उपचारका लागि टाढा जानुपर्दैन । तर, डुमरियाका स्थानीयले देखेको यो सपना पूरा भएको छैन । भवनमा जताततै माकुराले जालो लगाएको छ ।

‘हामीले देखेको सपना हालसम्म पूरा भएन’ जग्गादाता भोलि गुरमैता भन्छन्, ‘घर भएको जग्गाबाहेक बाँकी सबै जग्गा अस्पतालका लागि दियौं । तर, संचालन हुन नसक्दा रुन मन लागेको छ ।’

हुनत २०७५ भदौ २० को संघीय मन्त्रिपरिषद बैठकले यो भवनमा १५ शैय्याको प्राथमिक तहको अस्पताल बनाउने निर्णय गरेको थियो । यद्यपि काम केही अघि बढेको छैन ।

स्थानीय भोला यादव अस्पताल सञ्चालन नहुँदा गाउँलेको मन दुखेको बताउँछन् । भवन बनेर पनि कुनै फाइदा नभएको उनको भनाइ छ ।

गत बर्षको कोरोना महामारीको समयमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशबासीको नाममा सम्बोधन गर्दै डुमरिया, सप्तरीको भारदह र पर्साको पोखरिया अस्पतालको स्तरन्नोति गर्ने काम अघि बढिसकेको बताएका थिए ।

तर, मुख्यमन्त्रीको प्रतिबद्धता आर्थिक बर्ष २०७७/७८ मै बजेट प्रस्तुत गर्दा पनि यसतर्फ प्रदेश सरकारले ध्यान नदिएको स्थानीयको भनाइ छ । बजेटमा भारदह अस्पतालका लागि ६ करोड ७९ लाख रुपैयाँ र पर्साको पोखरिया अस्पतालका लागि ४ करोड ४ लाख रुपैयाँ बजेट उपलब्ध गराएपनि डुमरियाको नामसम्म उल्लेख नगरिएको उनीहरुको भनाइ छ ।

‘यो अस्पताल सञ्चालनमा आएपछि धनुषाको विकट मानिएका यस क्षेत्रका एक लाखभन्दा बढी जनताले स्वास्थ्य सेवा लिन सक्छन्’ यस क्षेत्रका संघीय सांसद उमाशंकर अरगरिया भन्छन् ।

डुमरियाका पूर्वप्रधानाध्यापक बलराम यादव अस्पताल जस्तो कुरालाई राजनीतिसँग जोड्नु अपराध हुने बताउँछन् । ‘पोखरी खन्न र पोखरीको सौन्दर्यीकरण गर्न हुने, अनि अस्पताल सञ्चालन गर्न नहुने ?’ उनी भन्छन्, ‘प्रदेश सरकारले किन चासो देखाएन ?’

जग्गादाताको पहरा

संरक्षणको अभावमा अस्पतालका झ्यालका सीसा फुटेका छन्, ढोकाहरु फुत्किएका छन् ।

शहीद नगरपालिकाले भवनको सुरक्षा गर्न नसकेको भन्दै जग्गादाताले भवनमा पहरा दिन थालेका छन् । जग्गादाता गुरमैता यही भवनमा राति सुत्ने गर्छन् ।

‘कसले तोड्यो थाहा छैन’ उनी भन्छन्, ‘नगरपालिकाले निगरानी गरिरहेको भएपनि भवनमा क्षति भएपछि यसको देखभाल आफैंले गर्न थालेको छु ।’

अस्पताल सञ्चालन नभएसम्म भवनको सुरक्षा आफूहरुले गरिरहने गुरमैताले बताए ।

आश्वासन

सोमबार यस अस्पतालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वमा आएको टोलीले भवनको अनुगमन गरेको हो ।

त्यस क्रममा डा. लोहनीले चाँडै अस्पताल सञ्चालन हुने प्रतिक्रिया दिए । ‘भवन निर्माण भइसकेको छ । बेड, एक्सरे मेसिन र ल्याब उपलब्ध गराएर चाँडोभन्दा चाँडो यो अस्पताल सञ्चालनमा ल्याउँछौं’ उनले भने ।

शहीदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाले अस्पताल सञ्चालनमा ल्याइदिन डा. लोहनी नेतृत्वको टोलीसँग आग्रह गरे । उनले आफूले पनि सकेसम्म सहयोग गर्ने भन्दै जनताको मर्का बुझिदिन आग्रह गरे ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?