+
+

‘गठबन्धन गरौं तर भरतपुरमा हामीलाई छाड्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते २१:१०

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनभित्रको सबैभन्दा पेचिलो विषय बनेको छ, भरतपुर महानगरपालिका । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट रेनु दाहालले भरतपुर महानगरपालिकामा जित हासिल गरेकी थिइन् । माओवादीले यसपालिको निर्वाचनमा पनि दाहाललाई मेयरमा दोहोर्‍याउन चाहेको छ ।

तर अघिल्लो निर्वाचनमा माओवादीलाई सघाएको कांग्रेसले यसपालि आफूले नै महानगरको मेयर पाउनुपर्ने दाबी बलियो बनाएको छ । भरतपुर महानगरपालिका अघिल्लो कार्यकालमा माओवादीलाई दिएकाले आउने चुनावमा कांग्रेसकै उम्मेदवार हुनुपर्छ भनेर लबिइङ गरिरहेका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङसित अनलाइनखबरकर्मी बिनु सुवेदीसुवास पण्डितले गरेको कुराकानी :

भरतपुरमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको विषय पेचिलो बनिरहेको छ, कांग्रेस र माओवादी आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पक्षमा छन् । तपाईंको धारणा के हो ?

म मेयर उठ्ने हैन । चितवनको भरतपुर महानगरपालिकाको मेयर चाहिं कांग्रेसलाई नै दिनुपर्छ । हुन त अर्थ लगाउनेहरूले गठबन्धन विरोधी पनि भने । म गठबन्धन विरोधी होइन । केन्द्रीय समितिमा कस्तोसम्म भने माओवादीसँग गठबन्धन गर्नै हुन्न भन्ने कुरा पनि आयो ।

चितवनका साथीहरूको पनि यस पटक हामी माओवादीलाई छोड्न सक्दैैनौं भन्ने मत छ । हाम्रो गठबन्धन एमालेसँग हुन सक्छ तर माओवादीसँग हुनसक्दैन भन्ने छ । त्यसै कारणले गर्दाखेरि नेपाली कांग्रेसको केन्द्रले स्थानीय तहको परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको हो । त्यसलाई एकाथरीले तालमेल हुनेभयो भनेका छन् अर्काथरीले नहुने भयो पनि भनेका छन् । अर्थ विभिन्न थरी लगाउन सकिन्छ ।

तर महानगरपालिकामा केन्द्रले नै उम्मेदवार तोक्ने भएको हुनाले तपाईंहरूको अडानले के काम गर्ला र ?

पार्टीहरूको संघीय संरचनाबाट नै उम्मेदवार तोक्ने काम हुन सक्छ । तर, यहाँको अवस्था फरक छ । हाम्रो महानगरमा २९ वडा छन् । २९ वडा मध्येबाट एक जना सभापति आउन सक्नुभएन उहाँले प्रतिनिधि पठाउनुभयो । २८ जना वडा सभापति, क्षेत्रीय सभापति, महासमिति, महाधिवेशन प्रतिनिधिहरू र हामी तीन जना केन्द्रीय सदस्य थियौं ।

हाम्रो भनाइ महानगरपालिका नदिने भन्ने हो । २९ वटै वडाका साथीहरूको लाइन मेरो जस्तै छ । करिब ६० जनाले बोल्दा महानगरपालिका छोड्न हुँदैन, हामीले माओवादीलाई भोट हाल्न सकिंदैन भन्ने निष्कर्ष निकाल्यौं ।

क्याडरले त भोट हाल्लान् सबैले हाल्दैनन्, नहाल्दा रेनु दाहाल हार्छिन् । उनी हारिन् भने गठबन्धन टुट्छ, त्यसकारण पहिले नै विचार गर्नुपर्छ भन्ने मत चितवन कांग्रेसका साथीको छ ।

यदि महानगरपालिकामा माओवादीलाई बोक्नुपर्ने परिस्थिति भयो भने म केन्द्रीय सदस्य नरहन सक्छु पनि भन्नुभएको थियो, त्यो भनेको के हो ?

मैले भनेको यसमा विरोध गर्दा मलाई केन्द्रले हटाउन पनि सक्छ । उस्तै पर्‍यो भने मैले छोड्न पनि सक्छु । केन्द्रको निर्णय पनि त स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने भनेको त गठबन्धनका लागि हामीलाई बाध्य पार्ने होइन नि त !

केन्द्रले महानगरको निर्णय गर्‍यो भने कांग्रेसले चितवनका बाँकी ६ वटा पालिकामा गठबन्धन गर्छ कि गर्दैन ?

गठबन्धन गर्छ नि ! तर महानगर माओवादीलाई दियो भने माओवादीले चुनाव जित्दैन, म तपाईंलाई प्रष्ट भन्छु । म त चितवनमै राजनीति गरेको ५२ वर्ष भयो नि ! विद्यार्थी जीवनदेखि लागेको म निरन्तर छु नि !

२१ वैशाख २०७४ मा जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गरेर हामी कसैसँग गठबन्धन गर्दैनौं, कसैको पक्षमा लाग्दैनौं तपाईंहरू ढुक्क भएर कांग्रेसको पक्षमा मत माग्नुस् भन्नुभयो । २३ गते फेरि माओवादीसँग हामी गठबन्धन गर्ने भनेर विज्ञप्ति निकाल्नुभयो । त्यो परिस्थिति त अहिले पनि आउन सक्छ नि !

मैले बुझेसम्म महानगरमा माओवादी हार्छ । हामी पनि हार्छौं । गएको चुनावमा करिब ६० हजार भोट पाउनुपर्ने हो । हाम्रै ८-१० हजार भोट खसेन । अहिले पनि हाम्रो ४० देखि ४५ हजार नेट भोट छ । यस पटक १ लाख ३० हजार जति भोट खस्ला । त्यसैले हामी कमजोर छैनौं ।

पार्टीले केन्द्रमा प्रधानमन्त्री पाएको छ, ठूलाठूला मन्त्री पाएको छ । नेताहरूलाई पदको संरक्षण गर्न मन लागिरहेको छ । त्यही कारण भरतपुरमा हामीमाथि अन्याय भएको हो । ठीक छ, गठबन्धन गरौं, नगर्ने भनेको होइन ।

महानगरमा हिजो हामीले सहयोग गरेको अहिले हामीलाई सहयोग गर्नु न त ! चितवनको कारणले गर्दा गठबन्धन भाँडिन्छ कि भन्ने कुरा पनि आइरहेको छ । गठबन्धन नै नगरी लड्न नसक्ने भन्ने त होइन नि !

२०७४ को स्थानीय तहको चुनावमा तपाईंहरूले स्वीकार्नुभएकै हो, भरतपुर महानगरमा मेयरको काम राम्रो नै छ पनि भनिएको छ । तर तपाईंहरूलाई अहिले स्वीकार्न चाहिं किन गाह्रो भएको हो ?

हाम्रो संगठन क्षत–विक्षत हुनेभयो । पार्टीको संरचना बिग्रेर जाने भयो । हाम्रो संगठन राम्रो हुँदै गर्दा पनि हामीलाई समस्या छ । हाम्रो पार्टीका क्याडरले हिजो पनि हँसिया हथौडामा भोट हाल्न गए, आज पजि जालान् । तर हाम्रा मतदाता त निराश हुन्छन् नि !

भरतपुर नगरभित्रै पनि १२-१३ सय मान्छेलाई हामीले हाम्रो पार्टीमा संगठित गरेका छौं । ती मान्छेलाई लिएर आएर अहिले फेरि हँसिया हथौडामा भोट हाल्न पठाउने ? उनीहरू हामीकहाँ रहन्छन् त ? हामीलाई समस्या पर्छ । दीर्घकालीन असर पर्छ भन्न खोजेको मैले ।

२०७४ मा भरतपुर महानगर जितेको माओवादीले यसपालि जित्दैन भनेर तपाईंले कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ ?

उहाँहरूको जम्मा २१ हजार मत हो । माओवादीले ४२-४३ हजार मत ल्यायो त त्यतिखेर । हामीले सहयोग नगरेको भए ल्याउँथ्यो र ? उपप्रमुखमा हामीले ४७ हजार भोट ल्यायौं । यसको मतलब के हो भने कांग्रेसले जितेको छ ।

वडामा भएको उपचुनावमा उहाँहरू कम्युनिस्ट सबै एकठाउँमा हुँदा पनि कांग्रेसले जितेको हो । यही १६ नम्बर वडामा उपनिर्वाचन हुँदा १७-१८ सयको फरक थियो । त्यसैले संरचना बिग्रिंदै गयो भने भोलि पार्टी रहँदैन नि ! त्यसकारण कांग्रेस बचाउन भए पनि हामीले मेयर छोड्न हुँदैन । नत्र त हाम्रो संगठन छिन्नभिन्न हुनेभयो ।

तर कांग्रेस सभापति शेरबहादुर देउवा मिलेरै जाने पक्षमा हुनुहुन्छ । पार्टीको चिन्ता उहाँलाई नहोला र ?

उहाँलाई पनि चिन्ता लाग्ला । यहाँका जनताले भोटै हालेनन् भने शेरबहादुरजीले भनेर मात्रै हुने त होइन ! तर पार्टीले हाम्रो भावना विपरीतको निर्णय गर्‍यो भने अर्को पार्टीको उम्मेदवारलाई भोट माग्न जाने काम हामीबाट हुँदैन । पार्टी निर्देशन मानेर बाध्य भएर हामी लाग्यौं भने पनि जनताले भोट हाल्दैनन् ।

कुरा धेरै बिग्रिसक्यो । रेनु दाहाल कांग्रेसको मतबाट निर्वाचित भइसकेपछि कांग्रेससँगै सहकार्य गर्नुपर्ने हो कि हैन ? उहाँले त खालि कांग्रेसलाई भत्काउने काम मात्रै गर्नुभयो । माओवादीलाई हामीले विश्वास गरिहाल्ने वातावरण नै भएन ।

मेयरमा गठबन्धन गरेर बदनाम व्यहोरेर उहाँलाई जितायौं । तर समन्वय समितिको चुनावमा उहाँले गएर कम्युनिस्टलाई भोट हाल्नुभयो । संसदीय चुनावमा एमालेसँग गठबन्धन गरेर हाम्रो विरुद्धमा लाग्नुभयो । यी दुई तीन वटा घटनाले विश्वस्त हुन सकिएन ।

तपाईंले कांग्रेसले उम्मेदवारी नपाए पार्टी छोड्न सक्छुसम्म भन्नुभएको छ । त्यो भनेको कांग्रेसबाट विद्रोह गरेर महानगरको मेयरमा आफैं लड्ने तयारी हो ?

म केन्द्रीय समिति छोडेर विद्रोही हुन्छु भनेको हैन । तर, मान्छेहरूले अर्थ त लगाए नि ! म केन्द्रीय सदस्य नरहन सक्छु भनेर टेकप्रसाद गुरुङले टिकट खोज्यो भनेर पनि केही साथीले अर्थ लगाएका छन् । मेरो चाहिं टिकट खोज्ने हिसाबकिताब होइन । पार्टीको क्याडर भएको हिसाबले पार्टीले तेरो आवश्यकता हो भन्यो भने छँदैछ । तर मैले घोषणा पनि गरेको छैन, भनेको पनि छैन ।

मैले ५२ वर्ष राजनीति गरिसकें कांग्रेस भएर व्यक्तिगत पदको निम्ति हैन चाहनाका लागि हो । त्यसैले मैले माथि नेताहरूलाई भनेको छु– भरतपुरको मेयर कांग्रेसलाई दिनुस् । त्यो मेयर दिंदै गर्दा बरु तपार्ईंहरूको कुन मान्छे हो त्यसलाई दिनुस् टिकट, अनि हामी चुनावमा लाग्छौं ।

त्यो भनेको के हो ?

उनीहरूले जो उठाए पनि उठाउन् । हाम्रो गुट–उपगुट छ नि ! तर जसलाई दिए पनि दिनुस् कांग्रेसलाई दिनुस् भन्ने हो ।

तपाईंहरूले आफ्नै उम्मेदवार हुनुपर्छ भनेर एकमुष्ट निर्णय गर्नुभयो भने पार्टी सभापति देउवाले आफ्नै पक्षका नेतालाई उम्मेदवार बनाउने र पछि उम्मेदवारी फिर्ता गराउने भन्ने चर्चा पनि छ नि ?

त्यो परिस्थिति सृजना भयो भने एमालेले जित्छ । हिजो त हामीले बदनामी कमायौं नि ! मत च्याते नि ! गठबन्धनको नाममा मत च्यातियो नि ! हाम्रै सभापति मत च्यातिदिने बेलामा निदाएर बस्नुभयो । करले हो नि उहाँ निदाएको त ! म त त्यो ठाउँमा भएको भए कि च्यात्नै लाग्थें कि जोगाउनै ।

अस्ति माओवादी अध्यक्ष प्रचण्ड आएका बेला ‘चितवनका नेताहरूले भन्दा पनि भरतपुर महानगरको निर्णय संघमै हुने’ भन्नुभएको थियो नि ?

त्यो सबैभन्दा गलत बोल्नुभयो उहाँले । चितवनका जनताले भोट हाल्नुछ, केन्द्रले गर्छ चितवनका जनता केही पनि होइनन् भन्ने तरिकाले उहाँले बोल्न मिल्छ ? त्यसले उहाँलाई ठूलो घाटा लाग्यो । हिजो त बाध्य भएर मान्यौं हामीले । तर, अब त हामीले बागी उठाउँछौं नि केन्द्रले निर्णय गरे पनि ।

रेनुजी मेयर हुँदै गर्दा मेरै वडामा काम गर्दा मलाई केही सोध्नुपर्छ कि पर्दैन ? तर उहाँले त एकलौटी गर्नुभयो । उहाँ भरतपुर बस्नुभएको पनि छैन, भरतपुर बुझ्नुभएको पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?