+
+

नेपाल र श्रीलंकाको अर्थतन्त्र आधारभूत रुपमै फरक छ, श्रीलंकाको जस्तो अवस्था आउँदैन : भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १७:०६

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन् ।

प्रवक्ता भट्टले बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै शोधनान्तर बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकोले त्यसलाई घट्न नदिन विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका हुन् ।

मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिन राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही वस्तुको आयातमा रोक लगाउनु परेको उनले बताए ।

उनले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताए ।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै उनले संकटबाट जोगाउन एउटा टुल्स प्रयोग गरिएको बताए । उनले अर्थतन्त्रबारे बाहिर आएको हल्ला जस्तो आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

राष्ट्र बैंकसँग ६.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको उनले दाबी गरे । उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको पनि बताए ।

‘अर्थतन्त्रको अहिलको अवस्थालाई दुइ वटा पक्षबाट हेर्नुपर्छ, कुनै पनि कुरालाई एकाङ्की रुपमा रुपमा हेर्नु हुँदैन,’ उनले भने, ‘एउटा पक्ष समष्ठिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएको छ, मुख्य रुपमा विदेशी विनिमय सञ्चितिमा कमी आएको शोधनान्तर स्थिति घाटा, आयात उच्च दरमा बढेको कारणले गर्दा हाम्रो बाह्य क्षेत्र व्यवस्थापनमा दबाब छ भन्ने देखिएको छ ।’

प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे । श्रीलंकामा कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत सरकारकाे कुल ऋण (संस्थानहरूकाे समेत जाेडेर)  भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ ।

कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत सरकारकाे कुल ऋण र कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत मात्रै सरकारकाे ऋण भएको मुलुकको श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने उनले बताए दाबी गरे । उनले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको बताए ।

श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रुस र युक्रेन युद्ध एवं गत वर्ष उच्च रुपमा कर्जा विस्तारका कारण घरजग्गा, उत्पादन भन्दा आयात र सेयर बजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको बताए ।

प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको सख्या बढ्दै गएकाले रेमिट्यान्स सुधार आउन थालेको बताए । रेमिट्यान्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिट्यान्समा तत्कालका लागि ठूलो चुनौती देखिएको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?